
काठमाडौँ । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले प्रमुख तीन दलका शीर्ष नेताहरूविरुद्ध पार्टीभित्र या बाहिर बोल्नेहरुले खैरियत (कल्याण) नहुने अवस्था बनेको बताएका छन् । उनीहरुविरुद्ध मुलुकमा बोल्नै नहुने परिस्थिति सिर्जना गरिएको उनको भनाइ छ । बुधबार संसदमा सम्बोधन गर्दै सिंहले एमाले अध्यक्ष केपी शर्मा ओली, काँग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका विरुद्धमा बोल्नै नहुने स्थिति आएको गम्भीर कुरा उठाए । तिनीहरुको बारेमा बोल्यो भने कोही अमरेश सिंह, कोही भीम रावल, कोही रवि लामिछाने र कोही रेशम चौधरी बनाइने गरेको उनको टिप्पणी छ ।
गत असारमा काँग्रेसको संस्थापन पक्षले संस्थापनइतरका १८ जना नेतालाई अनुशासनको कारवाही ग¥यो । अनुशासनको कारबाही भनिएपछि आगामी महाधिवेशनको पूर्वसन्ध्यामा संस्थापन पक्षको बहुमत कायम राख्न र विपक्षी गुटको उपस्थिति झनै कमजोर बनाउन यसो गरिएको आरोप लाग्यो । संस्थापनइतरका नेताहरुले विधानतः कारबाही सही नरहेको बताएका थिए । काँग्रेस सांसद एवं संस्थापन इतर पक्षधरका नेता राजेन्द्र बजगाईंले उजुरी परेको समयको ६ महिनाभित्रमा कारबाही गर्नुपर्ने भन्ने काँग्रेसको विधान रहेको भए पनि करिब तीन वर्षपछि कारबाही गरिनु गलत भएको बताए । काँग्रेस नेता अर्जुननरसिंह केसीले कारबाही पक्षपातपूर्ण र पूर्वाग्रही रहेको भन्दै सिंगो पार्टीको हित र विधान विपरित गरिएको कारबाही स्वकार्न नसकिने बताएका थिए । पार्टीको १५ औं महाधिवेशनलाई लक्षित गरेर विधि, विधान र प्रक्रिया विपरित पूर्वाग्रहले कारबाही गरिएको उनको भनाइ थियो ।
केही दिनअघि काँग्रेस महामन्त्री गगन थापाले शीर्ष तीन दलका नेताहरु ओली, देउवा र प्रचण्डले सन्यास लिएको दिन सबैभन्दा बढी खुसी आफू हुने बताए । उनको यो अभिव्यक्तिबाट पनि यी तीन नेताहरु सबैका लागि अति भइसकेको भन्ने आशय मिल्छ । महामन्त्री थापाले पार्टीले नेताहरुमाथि गरेको अनुशासनको कारबाही समेत विधानसम्मत र समयसान्दर्भिक नरहेको भन्दै कारबाहीका नाममा कोतपर्व नै मच्चाएको आरोप समेत लगाएका थिए । गत असारमा उनले काँग्रेस अहिले चौतर्फी घेरामा रहेको भन्दै कोतपर्वजस्तै अनुशासन पर्व चलाइनु गलत भएको टिप्पणी गरेका थिए ।
गत सालको पुसमा नेकपा एमालेले ओलीविरुद्ध र पार्टीको निर्णयविरुद्ध प्रश्न उठाएकै भरमा भीम रावललाई पार्टीबाटै निष्काशन ग¥यो भने उषाकिरण तिमिल्सिना र विन्दा पाण्डेलाई ६ महिनासम्म निलम्बन ग¥यो । विवादास्पद व्यवसायी मीन गुरुङबाट पार्टीको भवन र जग्गा दानमा लिन लिन नहुने उनीहरुको आवाज थियो, तर भइदियो कारबाही । कुनै बेला एमालेका प्रभावशाली नेता मानिएका रावल निकालिएपछि ओलीमाथि आक्रोश पोख्दै पत्रकार सम्मेलन गरेका थिए । पार्टीमा आफ्नो स्थान नहुनु केपी ओलीको द्वेष, पूर्वाग्रह, निषेधात्मक चरित्रको प्रतिविम्व भएको उनको भनाइ थियो । राजनीति आस्था, विश्वास र पारस्परिक सम्मानको आधारमा सञ्चालन हुने भए पनि ओलीले आफूसँग संवाद नै नगरी स्पष्टीकरण सोधेको उनको टिप्पणी थियो ।
गत वर्षदेखि नै माओवादी केन्द्रमा अध्यक्ष प्रचण्डविरुद्ध प्रश्न उठाउँदै आएका जनार्दन शर्मा पनि तारो बने । प्रचण्डले उनलाई पार्टी फुटाउन लागेको आरोप मात्र लगाएनन्, पार्टी नै छाडेर जान समेत सुझाव दिए । साथै आफूविरुद्ध सिँगौरी खेल्न दिएकै छु भन्ने जनार्दनलाई स्थायी कमिटी बैठकमा आत्मालोचना गर्न दबाब दिए । अन्य नेताहरुले पनि प्रचण्डलाई नै साथ दिएका थिए, तर पनि जनार्दनले आफूले नेतृत्वविरुद्ध गलत नबोलेका कारण आत्मालोचना नगर्ने अडान राखे । प्रचण्डले गल्ती गर्नेले आत्मालोचना गर्नुपर्ने भन्दै सञ्चारकर्मीसामु पनि बताएका थिए ।
कुरो रह्यो रवि लामिछाने र रेशम चौधरीको । विगतमा टीकापुर हत्याकाण्डमा मुछिएका रेशमलाई जेल हाल्न यिनै तीन नेताको भूमिका थियो । जब पछि चौधरीले जेलबाटै पार्टी स्थापना गराएर केही सिट जिते, सत्तामा बहुमत चाहिएको बेला माफी मिनाहा गर्न लगाएर तत्कालीन प्रचण्ड नेतृत्वको सरकारले चौधरीलाई जेलमुक्त गर्यो । अहिले रास्वपा सभापति रविलाई सहकारी मुद्दा लगाएर रुपन्देही कारागारमा थन्काइएको छ ।