News 24 Television
रास्वपामा कारबाहीको डण्डाले खैलाबैला, पार्टी छोड्नेहरुको लर्को

सुनसरी । मुलुकको राजनीतिमा नयाँ विकल्प दिन्छौं भन्दै उदायका राजनीतिक दलहरु नै पुरानै पार्टीहरुमा जस्तै गुट–उपगुटको रोगले ग्रसित बन्न पुगेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पछिल्लो समय यसैको उदाहरण बनिरहेको छ । नागरिकले मुलुकको अवस्था परिवर्तनका लागि आशा राखेको भनिएको दल रास्वपा गुट–उपगुटको चर्को मारमा परिरहेको घटना सतहमै छताछुल्ल हुन थालेका छन् ।

पुराना दलहरुले देश बर्बाद बनाए, अब सत्ता हामीलाई दिनुहोस, हामी बनाउछौं यो देश । यो वाक्यांश नयाँ उदय भएका भनिएका दलका नेताहरुको भाषणमा प्राय सुनिन्छ । तर, राजनीतिमा वैकल्पिक शक्ति हुँ भन्ने दलहरुभित्रै नै गुट–उपगुट, झै–झगडा, घुसखोरी, सदाचारिता अभाव व्याप्त बन्न थालेको छ । यसैको पछिल्लो उदाहरण बनेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) । 

गुट–उपगुटको रोगले रास्वपा थला नै पर्ने अवस्था देखिन्छ । केन्द्रमा मात्रै होइन रास्वपाको जिल्ला तहमै गुटगत गतिविधिले पार्टी छोड्नेहरु बढ्न थालेका छन् । कोशी प्रदेशमा अहिले रास्वपा गुटउपगुटकै रोगले थला परिसकेको छ । प्रदेशका महामन्त्री लालविक्रम थापाको गुटगत राजनीति हावी भएको आरोप लगाउदै यसबेला सुनसरी जिल्लामा पार्टीको साधारण सदस्य समेत नरहने गरि पार्टी परित्याग गर्नेहरु बढ्न थालेका हुन । 

निलम्बनको डण्डाले धरातल नै हल्लिदै 

रास्वपाका कोशी प्रदेश इन्र्चाज सन्तोष परियार र कोशी प्रदेशका महामन्त्री  लालविक्रम थापाले पार्टीको विधिविद्यान अनुसार अगाडी बढ्न खोज्ने नेता तथा कार्याकर्ताहरुलाई छानीछानी निलम्बन गरेकाले पार्टी  परित्याग गर्नु परेको  आरोप बाहिरिनेहरुको छ । थापाको गृह जिल्ला सुनसरी भएकै कारण उनले पार्टीको जिल्ला कमिटीमा खुलेरै गुटबन्दी अनि हस्तक्षेप गर्ने गरेको नेता तथा कार्याकर्ताहरुको आरोप छ । 

प्रदेश इन्चार्जको सुनसरी कनेक्सन र कार्यकर्ताहरुका आरोप कस्तासम्म ?

-   महामन्त्री थापाले जिल्ला कमिटीमा खुलेरै गुटबन्दी र हस्तक्षेप गर्ने गरेको

-   जिल्ला र नगरले कारबाही सिफारिस गरेका सदस्यहरुलाई थापाले हाल सम्पन्न इटहरी नगर अधिवेशनमा पद दिएको

-    सुनसरीका अन्य नगर तथा गाँउ कमिटी र वडाहरुमा समेत आफु अनुकुलका व्यक्तिलाई मात्र समेट्ने गरेको 

-   गलत हुँदैछ भनि विरोध गर्दा, बोल्दा अनि फेसबुकमा स्टाटस लेख्नेहरुलाई कारबाही गरिएको 

-    महामन्त्री थापाले केन्द्रीय समितिलाई जानकारी नदिई पार्टीको नीति विपरित रसिद छपाएर कोशी प्रदेशका जिल्लाहरुबाट चन्दा उठाएको गम्भीर आरोप छ । 

रास्वपाका नेताहरु नै सार्वजनिक जग्गा हडप्ने कार्यमा ! 

-  इटहरीकै जनता माध्यामिक विद्यालयको जग्गा भाडामा लिएर ७२ लाख रुपैयाँ भाडा वापतको रकम नतिरेर मिलेमतोमा भ्रष्टाचार गरेको अभियोगमा महामन्त्री थापा विरुद्ध अख्तियारमा उजुरी नै दर्ता छ । 

-    अख्तियार इटहरीमा परेको उजुरीका बिषयमा हाल छानविन थालिएको छ । 

-    पार्टी भित्र देखिएको वेथिति र विधान विपरितका कामलाई रोक्न पटक–पटक प्रदेश हुँदै केन्द्रीय कमिटी र अनुशान आयोगलाई लिखित रुपमै गुनासो र उजुरी पठाउँदा समेत सुनुवाई नगरि थापालाई नै नेताहरुले काखी च्याप्ने काम भएको साधारण सदस्य समेत त्याग्नेहरुको दाबी छ । 

आफु इटहरी नगर सभापति रहँदा महामन्त्री लालबिक्रम थापाले इटहरीको जनता स्कुलको सार्वजनिक सम्पत्ति हडपेकोको विषयमा पार्टीको केन्द्रीय कमिटीलाई छानविनको माग गराउदा आफुलाई उल्टै नगर सभापतिबाट निलम्बन गराइएको रास्वपाका निर्वतमान इटहरी नगर सभापति बिष्णु बस्नेतको दाबी छ । 

निलम्बनको बिषयमा पार्टीको कार्यबहाक सभापति डिपी अर्यालसमेत गरि डेढ दर्जन केन्द्रिय नेताहरुलाई लिखित गुनासो राख्दा केही सुनुवाई नभएपछि उच्च अदालत विराटनगरले नगरको अधिबेशन रोकेपनि पार्टी भित्र कारबाही गरिनु पर्ने व्यक्तिहरुलाई नै अधिबेशनबाट निर्वाचित गराइएको बस्नेतको आरोप छ । 

पार्टीको जिल्ला सभापति रहदा पार्टी भित्र देखिएका गुटगत राजनितिलाई समाधान गर्न तर्फ प्रदेश र केन्द्रिय कमिटि गम्भीर नहुनु, सबैलाई समेट्ने नीति नहुनु र महामन्त्री थापाबिरुद्ध कैयौ उजुरी पर्दा समेत पार्टी चुइक्क नबोल्नु जस्ता कारणले नौतिकता विहिन पार्टीबाट पार्टी परित्याग गरेको निर्वतमान सुनसरी जिल्ला सभापति जीवन श्रेष्ठको तर्क छ । 

पार्टी सदस्यता रकममै झेल !

-   रास्वपाले अनलाईनमार्फत नयाँ सदस्यताको लागि एक हजार रकम लिने प्रवधान हुँदाहुदै प्रदेश महामन्त्रीले आफ्नै हस्ताक्षर गरेर घण्टी भित्रको सदस्यका नाममा रसिद छपाएर लामो समयदेखि प्रदेशभर पैसा उठाइएको रास्वपा सुनसरीका कोषाध्यक्ष देवराज अधिकारीको आरोप छ । 

-   आफु पार्टीको कोशी प्रदेश गुनासो विभागको प्रमुख हँुदा पैसा उठाएको र विद्यालयकै प्रकरणमा थापा विरुद्धको अख्तियारमा मुद्दा परेको विषयमा समेत पार्टी मौन बस्नुले पार्टी गलत बाटोमा हिडेको महशुस गरेर पार्टी परित्याग गरेको अधिकारी   बताउँछन् । रास्वपा इटहरी नगरका संस्थापक नेता खेमराज पोखरेलको आरोप समेत यस्तै छ । 

यता, रास्वपा कोशी प्रदेश महामन्त्री लालबिक्रम थापा भने इटहरी नगरको अधिवेशनलाई अवरोध गर्ने र पार्टीलाई बदनाम गर्ने केही नेता तथा कार्यकर्तालाई कारबाही गरिएको दाबी गरिरहेका छन् भने जनता स्कुलको संरचना भाडामा लगाइएको विवादमा आफुलाई अनावश्यक मुछिएको उनको दाबी छ । 

राजनीतिक दलहरुमा आन्तरिक शक्ति संघर्ष सामान्य कुरा हो । यद्दपी, एकै पार्टीभित्र गुट–उपगुटको चरम अवस्था सृजनाले मुलुक विकासका लागि वैकल्पिक राजनीतिक शक्ति हौं भन्ने रास्वपालाई आफ्नै शैलीले सिध्याउने अवस्थामा पु¥याएको देखिन्छ । 

प्रकाशित मिति: सोमबार, साउन २६, २०८२  ०८:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update