News 24 Television
नयाँ राजनीतिक कोर्षमा झलनाथदेखि घनश्यामसम्म

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीभित्रको आन्तरिक विवादको केन्द्रमा छन, अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनाल । दुवै नेताहरुले पार्टीभित्रको आन्तरिक विवाद चर्काए पनि तयारी भने अर्कै मोडमा पुग्ने खतरा बढिरहेको बताइन्छ । किन नेकपा एसभित्रको आन्तरिक विवाद थप लम्बेतान बन्दैछ त ? 

नेकपा एकीकृत समाजवादी पार्टीभित्र प्राय विवादका श्रङ्खला चलिनै रहने गरेका छन् । अहिले पनि आन्तरिक विवादको केन्द्रमा छन्, अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनाल । माधव नेपालमाथि पतञ्जलीको जग्गा विवादमा विशेष अदालतमा मुद्दा चलेपछि अहिले नेकपा एकीकृत समाजवादी पार्टीभित्रको आन्तरिक विवाद थप उत्कर्षमा पुगेको हो । यस्तोमा माधव नेपालले आफुले अनैतिक काम नगरेको दाबी गर्दै भनिरहेका छन्, भ्रष्टाचार गरेको प्रमाणित भए जस्तोसुकै सजाय भोग्न तयार छु ।

माधव नेपालले यस्तो दाबी गर्दै गर्दा अदालतमा चलिरहेको मुद्दाबारे बोल्न मिल्ने वा नमिल्ने ? बहस भने चल्ने स्थिति बनिरहेको छ । यहि विवाद चलिरहेको बेला माधव र झलनाथ खनालबीचको घोचपेच र पार्टी छाडेर जाने विषयको चेतावनी आउनेक्रम रोकिएको छैन् । 

झट्ट हेर्दा पार्टीभित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेको देखिएपनि दुई नेताहरुको घोचपेच र धकेलाधकेल भने लम्बेतान देखिन्छ । यसमा दोश्रो तहका नेताहरुले संयोजन गरेको बैठकमा समेत माधव–झलनाथ बीचको छलफल खास प्रगतिको बाटोमा नपुगेको बताइन्छ । झलनाथले त माधवले एकहोरो बोलेर बाहिरिएको प्रतिक्रिया दिएका छन्  भने माधव तराई पसेका छन् । 

यस्तो स्थितिमा नेकपा एसभित्रको आन्तरिक विवाद झन्झन् बल्झिएका बेला वामदेव गौतमले पनि सक्रियता देखाएका छन् । बामदेव गौतमले पनि आफूलाई माधवले झुक्याएको भन्दै झलनाथ खनाललाई साथ दिने गरि अघि बढेको बताइन्छ । यद्यपी, वामदेवले के गर्छन् भन्ने कुरा अन्तिम समयसम्म पनि भरपर्न लायक हुन नसक्ने भएकाले यो विषयको चर्चा भने खास जोडतोडले भएको देखिन्न ।

किन बढ्यो विवाद ?

झलनाथ खनालले पछिल्लो समय माधव नेपालविरुद्ध अनेक आरोप लगाउने काम गरिरहेका छन् । जनताको बहुदलीय जनवादले काम नगर्ने भन्दै आएका झलनाथले माधवलाई एमालेमा जान समेत सुझाए । तर, माधवले विद्रोहको औचित्य साबित भइसकेको भन्दै झलनाथमाथि आक्रोश पोख्ने गरेका छन् । माधवले प्रचण्डसंग पार्टी एकताको तयारीलाई करिब सहमतिमा लगेको बताइन्छ । 

तारन्तार प्रचण्डसंग छलफलमा बसेका माधवले पार्टी एकताका निम्ति केहि अबरोध रहेको बताउने क्रममा झलनाथदेखि घनश्याम भुसालसम्म बाधक बन्ने विश्लेषाण गर्ने गरेको बताइन्छ । यस्तो स्थितिमा केहि आन्तरिक छलफलका अन्तरंग भने रोचक देखिन्छन् । जुन यस्ता छन् ।

– झलनाथ खनाल पार्टी संरक्षक बनेर नयाँ पार्टी गठन गर्ने जसमा अध्यक्षमा नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ अध्यक्ष, घनश्याम भुसाल उपाध्यक्ष र माओवादी केन्द्रबाट शीर्ष तहको नेताले विद्रोह गर्दै महासचिव बन्ने गरि तयारी चलिरहेको बताइन्छ । तर, यसले मूर्तरुप नलिएपनि आन्तरिक छलफल, बैठक र तयारीहरु भने जारी गरेका छन् । यहि परिदृश्यलाई लिएर समेत झलनाथले माधवविरुद्ध खुलेर आक्रामक ढंगले विद्रोहमा उत्रिएको राजनीतिक चर्चा चलिरहेको छ ।

समाजवादी मोर्चा र तनाव

समाजवादी मोर्चालाई नै पार्टीमा रुपान्तरण गर्ने गरि भित्रभित्र तयारी चलिरहेको छ । जसमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, माधव नेपालसहितका नेताहरुले सक्रियता देखाएका छन् । 

यो सक्रियतामा विप्लवले नेतृत्व पाउनुपर्ने आशय राख्दै आएका छन् ।  यो सम्भव हुने नहुने विषय निक्र्याैल भएको छैन । यद्दपी, समाजवादी मोर्चाबाटै मोटामोटी संरचना तयार पार्नेमा समेत जोड दिन थालिएको बताइन्छ । जसमा विप्लव, झलनाथदेखि अन्य केहि नेताहरु समेत सक्रियतापूर्व नयाँ राजनीतिक कोर्षको तयारीमा जुटिरहेको बताइन्छ । 


 

प्रकाशित मिति: सोमबार, साउन २६, २०८२  ०८:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update