News 24 Television
ग्यास भण्डार र फलाम खानीको उत्खननले बन्नेछ नेपाल समृद्ध, तर कहिले ?

काठमाडौँ । दैलेखको जमिनमुनि प्राकृतिक ग्यासको ठूलै भण्डार हुनसक्ने कुरा दशकौँदेखि अनुमान गरिँदै आएको थियो । दैलेखका दुल्लु लगायत विभिन्न स्थानमा देखिएका अखण्ड ज्वाला दैवी शक्तिको रुपमा पुजिँदै आए पनि विज्ञान तथा प्रविधिको आँखाबाट हेर्दा त्यहाँ ग्यास खानी रेहेको पुष्टि भएको छ । सरकारले एक वर्षअघि नै नीति तथा कार्यक्रममा दैलेखको ग्यास खानीको अन्वेषण कार्य यसै आर्थिक वर्षभित्र गरिसक्ने लक्ष्य प्रस्तुत गरेको थियो । नभन्दै चिनियाँ टोलीले करिब ४ वर्ष लगाएर गररेको अन्वेषणबाट त्यहाँ ठूलो मात्रामा मिथेन ग्यास भण्डार रहेको पुष्टि गरेको छ ।  

२०७८ वैशाखदेखि ड्रिलिङ कार्य सुरु गरेको चीनको जिओलोजिकल सर्भे कम्पनीले हालै मात्र प्रारम्भिक प्रतिवेदन नेपाल सरकारलाई बुझाएको छ । जसमा दैलेखको एक निश्चित जमिनभित्र मात्रै ११२ घरमिटर मिथेन ग्यासको भण्डारण रहेको बताइएको छ । जसको व्यावसायिक उत्पादन हुने हो भने नेपाल ग्यास र पेट्रोलियम पदार्थमा करिब ५० वर्ष आत्मनिर्भर बन्नसक्ने तथ्य औल्याइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखको मिथेन ग्यासको व्यवसायिक उत्पादन आगामी आर्थिक वर्ष २०८२÷०८३ भित्रै भइसक्ने दाबी गरेका छन् । मंगलवारको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले दैलेखमा मिथेन ग्याँसको ११२ अर्ब घनमिटर एउटा कुवाबाट मात्रै प्राप्त हुने र यसको परीक्षण उत्पादन आगामी मंसिरभित्रमा सम्पन्न हुने बताए ।

यति मात्र हैन, नवलपुरको धौवादी फलाम खानीलाई पनि सरकारले ‘ड्रिम प्रोजेक्ट’का रुपमा अगाडि बढाएको छ । उक्त फलाम खानी र दैलेखको ग्यास उत्खनन देशको अर्थतन्त्रमा ठूलो योगदान पुग्ने प्रधानमन्त्री तथा उद्योग वाणिज्य मन्त्री दामोदार भण्डारीले बताइरहेका छन् । शुक्रवार ग्वार्को फ्लाइओभरको उद्घाटन गर्दै प्रधानमनत्री ओलील दैलेखको ग्यासले ५० वर्ष पुग्ने र धौवादी फलाम कारखाना सम्पन्न हुनेबित्तिकै नेपाललाई १०० वर्ष दाबी गरे । 

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री भण्डारीले पनि दैलेखको मिथेन ग्याँस उत्खनन कार्य एक वर्षभित्रै शुरु गर्नेगरी मन्त्रायले योजना बनाएको बताएका छन् । सोमवारको प्रतिनिधि सभाको बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँद उनले एक वर्षभित्र ग्यासको व्यावसायिक उत्पादन परीक्षण गर्नेगरी काम अघि बढाउन लागेको दाबी गरे । नेपालको समृद्धिमा खानी, खनिज लगायतका क्षेत्रको विकास गर्नुपर्ने र त्यसको उत्खनन गर्नुपर्ने विषयलाई मन्त्रालयले प्राथमिकतामा राखेको उनको भनाइ छ ।

प्रधानमन्त्री ओलीले त मन्त्री भण्डारीसहित खानी विभागका अधिकारीहरूलाई बालुवाटार बोलाएरै दैलेखको ग्यास एक वर्षभित्र उपयोगमा ल्याउन निर्देशन दिएका छन्  भने धौवादी फलाम खानीबाट २०८५ सालभित्र उत्पादन सुरु गर्न निर्देशन दिएका छन् । साथै नेपालमा अन्य विभिन्न ठाउँमा यस्ता खानी रहेको र तिनको खोजबिन, उत्खनन सम्बन्धी कार्यहरु सरकारको नीति तथा कार्यक्रम र बजेटमा पनि समावेश हुँदै आएका छन् । नेपालले खानीजन्य उत्खनन्, अन्वेषण तथा त्यसको व्यावसायिक उत्पादनलाई प्राथमिकतामा राखेर अघि बढ्न सकेमा छिटै नै देश समृद्ध हुने कुरा निविर्वाद छ । तर भनाइ र गराइमा तालमेल नमिल्ने र ढिलासुस्ती भइरहने मुलुकमा प्रविधिको उच्चतम प्रयोगबाट खानीजन्य उत्पादन गर्नसक्नु चुनौतीकै विषय बनेको छ । 
 

प्रकाशित मिति: बुधबार, असार ११, २०८२  १७:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update