
काठमाडौं । मदन भण्डारीको ७४ औं जन्जयन्ती विशेष बनेको छ । यसै दिनको मौका छोपी एमालेको सक्रिय राजनीतिमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी हाम फालेकी छन् । मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद र यसैको पेरिफेरिमा भण्डारी नेतृत्व लिन तम्सिएकी हुन् । के भण्डारीको सक्रिय राजनीतिको पुनरागमन निर्णयले एमालेमा कोर्स नै करेक्सन गर्ला ? चासो र प्रश्नहरु पेचिला बन्न पुगेका छन् ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सक्रिय राजनीतिको घोषणा औपचारिक रुपगरेसँगै एमालेभित्र मात्रै नभई सिंगो राजनीतिक क्षेत्रमा यसले तरङ्ग पैदा गरिरहेको छ । यस पहिले पनि विभिन्न मञ्चमा सम्बोधन गर्दा उनले आफु सक्रिय राजनीतिमा आउने संकेत गरिरहेकी थिन्, सोहि समयदेखि चर्चाको विषय बनेको थियो, विद्यादेवीको राजनीतिक सक्रियता ।
हुनत विद्यार्थी राजनीतिदेखि नै सक्रिय रहेकी विद्या भण्डारीले पछि मदन भण्डारीको पत्नीको रुपमा समेत एमालेमा स्थापित हुँदै दुई कार्यकाल गरेर ७ वर्ष राष्ट्रपतिको भूमिका निर्वाह गरिसकेकी छन् । के उनी एमालेको नेतृत्व गर्ने मौका खोज्लिन् ? यस्ता तमाम प्रश्नहरुको चर्चा चलिरहेकै थियो । यी प्रश्नहरुको सहज निवारण उनले राष्ट्रियसभागृहमा आयोजित मदन भण्डारीको ७४ औं जन्मजयन्तीमा खास बनाएकी छन् । एमालेको सदस्यता नविकरण गरेको जिकिर गर्दै भण्डारीले भनेकी छन्, आजदेखि म फेरि एमाले परिवारको सदस्य बनेकी छु ।
भण्डारीले यो घोषणा १३ पृष्ठ लामो लिखित भाषणको अन्तिममा समेटेकी छन् । उनले मुलुकका लागि आफ्नो जीवन समर्पण गर्ने संकल्प लिएकाले राजनीतिभन्दा टाढा र बाहिर रहन नसकेको समेत जिकिर गरिन् ।
भण्डारीलाई सक्रिय राजनीतिमा ल्याउने नल्याउने विषयको बहस एमालेभित्र लामो समयदेखि चल्दै आएको छ । एमाले नेताहरुले भण्डारीलाई बन्देज लगाउने प्रस्तावदेखि विभिन्न विषयमा चर्चा नचलेको होइन् । तर, यसका निम्ति विभिन्न चरणको अवरोध पार हुँदै भण्डारीले एमालेको सदस्यता नविकरण गरेको जिकिर गरेकी हुन् । भण्डारीले राजीतिमा थकान नहुने भन्दै चर्को ढंगले गरिरहेको भाषणले कार्यकर्ताहरु भने हौसिएका देखिन्थे । उसोतः एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले समेत एमालेभित्र उमेरको विषयलाई पेचिलो बनाउदै लगेका छन् । ७० वर्षीय उमेरहद लागू गर्नुपर्ने जिकिरमा कडा र प्रतिबद्ध देखिएका पोखरेलले विधान महाधिवेशनको निर्णयमा तोडमोड गर्न नसकिनेतर्फ समेत सचेत गराएको देखिन्छ ।
पोखरेलले भण्डारी सक्रिय राजनीतिमा फर्किने विषयलाई समेत उनी राजनीतिक व्यक्ति भएको भन्दै सहजीकरण गरिदिएका छन् ।
एमालेभित्रको उकुसमुकुस केहिहदसम्म हटेपनि यसले अब शक्ति संघर्ष भने चर्किने संकेत प्रष्ट गरिदिएको छ । यता, प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी ओलीले आफू अर्को कार्यकाल पनि अध्यक्षमा दोहोरिने बताइरहेको बेला भण्डारीको सक्रियता अर्थपूर्ण स्वभाविक देखिन्छ । उसोतः यहि समारोहमा ओलीले भण्डारीको चाहनामा रोष र सटाएर भने हानेका छन् । ओलीले भनेका छन, विद्या भण्डारी र मबीच बम पड्काउने षडयन्त्र हुँदैछ । त्यो सफल हुन दिइन्न ।
भण्डारीको सक्रिय राजनीति ओलीमाथिको ठाडो चुनौतिको रुपमा देखा पर्न थालेको छ । दुई–दुई कार्यकाल राष्ट्रपति बनाएपछि घरमै आराम गरेर बस्नपर्ने सुझाव दिने गरेका ओलीलाई भण्डारीका क्रियाकलापले पक्कै तनाव दिएका छन् । तर, ओलीले यसको सामना कसरी गर्छन् ? एमालेभित्र चासो बढिरहेको छ । फेरिपनि ओलीले भनिरहेका छन, एमाले फुटाउने षडयन्त्र चल्न थालेको छ । लाभ लिएकाहरुले नै अनेक हल्ला चलाएर लाभ लिन खोज्दैछन् ।
एमालेभित्र सर्वशक्तिमान ओली पछिल्लो समय आलोचना, प्रश्न र घेराबन्दीमा पर्न थालेका छन् । एमाले नै ओली र ओली नै एमाले हो भन्ने धारणा विस्तारै तोडिन पुगेको देखिन्छ । माधव नेपाल, झलनाथ खनालहरु हुँदा जस्तो एमाले थियो, विस्तारै त्यहि लयमा जाने सम्भावना समेत बढ्न थालेको छ । तर, ओलीले यो विषयलाई विधान महाधिवेशनसम्म कसरी समाधानमा लैजाने काम गर्छन् त्यो भने हेर्न बाँकी नै छ ।
जबज र एमाले
एमालेले वकालत गर्ने गरेको जनताको बहुदलीय जनवाद मदन भण्डारीले प्रतिपादन गरेको सिद्धान्त हो भन्ने एमालेभित्रको बहस चर्को छ । जबजले नेपाललाई उन्नत र समृद्ध पार्न सक्दैन भन्ने धारणाहरु समेत सार्वजनिक गर्ने नेताहरु अहिले एमालेमासक्रिय छैनन् । यसको लाभ केपी ओलीले गज्जबले उठाइरहेका थिए । तर, अब विद्यादेवी भण्डारीकै सक्रियता बढेपछि भने ओलीलाई ठूलो धक्का लाग्ने खतरा बढ्न थालेको छ । एमालेले भन्ने गरेको जबजको पहिलो हकदार मदनपछि भण्डारी नै हुने भन्ने तर्कदेखि जनताले नै स्वीकार गरिसकेको जबजलाई भण्डारीले नेतृत्व दिन सक्ने विषयका सवालहरु उठिरहेका छन् । यस्तो स्थितिमा जबज र एमालेमा अब फेरि अर्को अध्याय शुरु हुने विश्लेषण हुन थालेको छ ।
शंकर र ईश्वरको कित्ताकाट
एमाले नेताहरु ईश्वर पोखरेल र शंकर पोखरेलले प्रष्ट कित्ताकाट गरेका छन् । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले उमेरहदको विषयलाई लागू गर्नुपर्ने खुला बहसमा उत्रिएर भण्डारीलाई स्वागत र ओलीको विदाईको पक्षमा बोलेका छन् भने शंकर पोखरेलले पार्टी सचिवालय बैठकमै पूर्वराष्ट्रपतिलाई सक्रिय राजनीतिमा फर्किन नमिल्ने गरि विधानमै व्यवस्था गर्नुपर्ने भनेका थिए । यसरी पोखरेलद्वयले चलाएको कित्ताकाट कुन तहसम्म पुग्ला ? एमालेभित्र यसको लेखाजोखा शुरु भइसकेको छ ।