News 24 Television
सरकारलाई मेटाको जवाफ- ‘नेपालको संविधान मान्दिनँ’

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्बीसुब्बा गुरुङले सरकारका आलोचक तथा व्यवस्थाविरोधीको मुख थुन्ने उद्देश्यले सामाजिक सञ्जालसम्बन्धी विधेयक नल्याइएको स्पष्ट पारेका छन् । 

राष्ट्रिय सभाको मंगलवारको बैठकमा विधेयकमाथिको सैदान्तिक छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री गुरुङले यस्तो बताएका हुन् । उनले मुलुकमा डिजिटल प्लेटफर्महरूको बढ्दो प्रभावलाई नियमन गर्नको लागि विधेयक ल्याइएको बताए ।

सामाजिक सञ्जालको माध्यमबाट मुलुकमा अशान्ति फैल्याउने तथा राष्ट्रहित विरोधी गतिविधिहरुलाई नियन्त्रण गर्नको लागि सरकारले विधेयक अघि सारेको जिकिर गर्दै मन्त्री गुरुङले सामाजिक सञ्जाल फेसबुकको माउ संस्था मेटालाई नेपालमा दर्ता हुन पटक–पटक आग्रह गर्दा समेत बेवास्ता गरेको बताए । उनले मेटाले नेपालको संविधान र कानून नमान्ने जवाफ फर्काएको समेत खुलासा गरे ।

नेपालमा सञ्चालन हुनको लागि सबै प्लेटफर्महरु कानूनी दायमा आउनैपर्ने जिकिर गर्दै मन्त्री गुरूङले सोही प्रावधान लागू गर्न विधेयक महत्वपूर्ण सावित हुने बताए ।

उनले भने, ‘डिजिटल प्लेटफर्महरुको प्रभाव हाम्रो मुलुकमा धेरे छ । तिनीहरुलाई हामीले तीन पटक भन्यौं दर्ता हुन आउ भनेर । उनीहरुको प्लेटफर्ममा आएका कुराहरुको फिल्टर गरेर सरकारले करेक्सन गर्न सकोस् भनेर हामीले हामीले पटक पटक ताकेता गरेका छौं । अशान्तीको पक्षमा, हाम्रो देशको विरुद्धमा वा लोकतन्त्रको विरुद्धमा छ भने कन्टेन्टहरुलाई करेक्सन गर्नको लागि भनेका हौं । तर अहँ अहिलेसम्म आएको छैन । हिजो मात्रै सम्मानित सर्वोच्च अदालतले भन्यो– तिनीहरुलाई तुरुन्त नियमन गर । त्यसरी चल्नेहरुलाई बन्द गर पनि भन्यो । त्यसकारण बन्द गर्नुभन्दा पनि ति सामाजिक सञ्जालहरुलाई नियमन कसरी गर्ने ? सञ्जाल कसरी गर्ने र प्रयोग कसरी गर्ने भनेर ? भनेर व्यवस्था गर्नको विधेयक ल्याइएको हो । प्रतिपक्षीको आँखाले हेरेको छ यो चाँही सरकारले नियन्त्रण गर्नको लागि ल्याएको हो जस्तो कुराहरु मात्र गर्नुहुन्छ । आलोचकलाई नियन्त्रण गर्न सकियो भने तपाईहरुलाई डर छ । डर नमान्नु होला । सरकारका आलोचक, विरोधी तथा व्यवस्था विरोधीहरुको मुख थुन्न ल्याइएको हैन । मेटालाई हामीले दर्ता हुन आउन भन्यौं । उलसले भन्छ, तेरो संविधानलाई पनि मान्दैनौं, कानूनलाई पनि मान्दैनौं भन्यो । किनभने हाम्रे खुट्टी उनीहरुले देखेका छन् ।’

सामाजिक सञ्जालको प्रयोगलाई सुरक्षित र उत्तरदायी बनाउने उद्देश्यले विधेयक ल्याइएको दोहोर्याउँदै उनले प्रतिपक्षीको आँखाबाट नहेर्न समेत आग्रह गरे । 

प्रकाशित मिति: मंगलबार, भदौ ३, २०८२  १८:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update