
महोत्तरी । महोत्तरी सदरमुकाम स्थित प्रादेशिक अस्पताल जलेश्वरमा प्राथमिक उपचार समेत पाउन नसकिने अवस्था रहेको छ । सामान्य चोटपटक वा घाउको उपचार गराउनका लागि चाहिने औषधि समेत बाहिरबाट किनेर ल्याउनु पर्ने बाध्यता यहाँका स्थानीयलाई छ । यता, अस्पतालका अन्य वार्डमा भर्ना रहेका विरामी तथा कुरुवा कक्षमा पंखासमेत नचल्दा उखरमाउलो गर्मिमा करुवा नै विरामी परिरहेका छन् ।
बाहिरबाट झट हेर्दा रंगरोगन गरिएको ३ तल्ले भवन, यो भवन प्रादेशिक अस्पताल जलेश्वर, महोत्तरीको हो । सामान्य नागरिकले यति ठुलो भवनबाट पर्याप्त सेवा सुविधा पाउने आशा गरेर अस्पताल पुग्छन् । तर वास्तविकता भने फरक छ ।
प्रादेशिक अस्पताल जलेश्वरको (आकस्मीक कक्ष) मा नै उपचारको लागि आउने विरामीहरुको लागि अति आधारभुत सिरिन्ज, टाँका लगाउने समानहरु समेत उपलब्ध छैनन् । इमरजेन्सीमा उपचारको लागि आउने विरामीहरुको लागि सिरिन्ज, टाँका लगाउने प्रोलिन, क्यानुला, स्लाइन लगायतका उपचार सामग्री पा्रथमिक उपचारकै रुपमा प्रयोगमा ल्याइन्छ । तर, प्रादेशिक अस्पतालमा उपचारार्थ आउने विरामीहरुका लागि यही आधारभुत उपचार सामग्री बाहिरबाट किनेर ल्याउनु परिरहेको गुनासो बढेको छ ।
जलेश्वर उद्योग वाणिज्य संघका अध्यक्ष शिवचन्द्र चौधरीले बिहिबार घरमा काम गर्ने एक जना मिस्त्रीको काम गर्ने क्रममा हात काटिएपछि उपचारार्थ इमरजेन्सी शाखामा ल्याउँदा सामान्य उपचार सामग्री नपाएको बताउदै उपचारको सामान्य नहुनु दुःखद रहेको गुनासो गरिरहेका छन् । अस्पताल १०० शैयाको तर, उपचार सामान्य क्लिनिक भन्दा पनि गए गुज्रे भन्छन्, उनी ।
यतिमात्रै होइन विरामी र कुरुवालाई तराइमा अति आवश्यक पंखा समेत चलाउन सकिरहेको छैन अस्पतालले । तराईको उच्च गर्मीमा अस्पतालका पंखा समेत नचल्दा कुरुवा नै विरामी पर्नेसम्मको अवस्था छ ।
प्रादेशिक अस्पताल जलेश्वरमा अल्ट्रासाउण्ड गराउनका लागि घण्टौ कुर्नु परेको सेवाग्राही अमिरुल अंसारी बताउँछन् । अस्पतालमा चिकित्सक नियमित नहुँदा र एउटा चिकित्सक चार ठाउँमा गएर उपचार गर्ने गरेकोले चिकित्सकलाई भेट्नै मुस्किल परिरहेको उनको गुनासो छ ।
यता अस्पतालको आकस्मिक कक्षको इन्चार्ज रामउदित यादव भने टाँका लगाउने प्रोलिन बाहेक सबै औषधि र सामग्री रहेको दाबी गर्छन् ।
प्रादेशिक अस्पताल जलेश्वरमा विगत चारवर्ष भन्दा अगाडीदेखि नै पाँच शैयाको भेन्टिलेटरसहितको आइसियु सेवा रहेपनि अहिलेसम्म सञ्चालन आउन सकेको छैन, भने ६ शैयाको हेमोडायलायसिस मेसिन पनि खरिद गरेको दुईवर्ष भइसक्यो तर, सञ्चालनमा ल्याइएको छैन ।