
काठमाडौँ । नेकपा एमालेमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको आगमनले हलचल पैदा भएको छ । विद्या एमालेको सक्रिय राजनीतिमा आएको घोषणासँगै पार्टीको नेतृत्वमा एकछत्र राज गरिरहेका अध्यक्ष केपी शर्मा ओलीलाई नै धक्का पुग्ने आम प्रष्ट देखिन्छ । ओली भावी नेतृत्वका लागि अझै अकांक्षा राखिरहेका पात्र हुन् । उनी पार्टीको विधान नै संशोधन गरेरै भएपनि तेस्रो कार्यकालका लागि अध्यक्ष बन्ने चाहनामा छन् ।
उनले बेलाबखत अझै २० वर्ष पार्टी नेतृत्व आफूले लिनसक्ने भन्दै कार्यकर्तालाई आफ्नो विकल्प नखोज्न चेतावनी दिँदै आएका छन् । तर विद्याको एमाले आगमनले भने ओलीलाई चुनौती थपेको छ । शनिबार मदन भण्डारीको ७४औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई नै उपयुक्त स्थान मानेर विद्याले एमालेमा सक्रिय राजीतिमा आएको सार्वजनिक घोषणा गरिन् ।
मदन भण्डारीकै केही शब्दहरुको सहारा लिँदै राजनीतिमा थकाइ भन्ने शब्द नै नभएको दावी गरेकी विद्याले अब राजनीतिमा निरन्तर लाग्ने र सक्रिय गतिविधि बढाउने उद्घोष गरेकी छन् । यो उद्घोषले पनि विद्या अब राजनीतिक जीवनमा अविछिन्न र अविचलित रुपले सक्रिय रहने निधो गरेको छ ।
विद्याको आगमनलाई एमालेमा अध्यक्ष ओली खेमाले भने निको मानेको छैन । विद्या देखाएर त्रास फैल्याइरहेको पङ्तिलाई ओली खेमाले पूर्वराष्ट्रपति सक्रिय राजनीतिमा फर्कन अस्वभाविक भएको टिप्प्णी गरेको थियो ।
तर स्वचाहना र जब्बरले विद्या एमाले फर्किसकेकी छन् । यसप्रति अध्यक्ष ओली स्वयम आँफै पनि खास खुसी छैनन् । तर उनले सार्वजनिक रुपमा दुखेसो पोखेका पनि छैनन् ।
तर जेहोस् विद्याको एमाले आगमन ओलीका लागि भने सुखद विषय होइन् । एमालेमा नेतृत्वको कार्यशैली र व्यवहारप्रति असन्तुष्ट पक्ष पनि बलियो हुँदै आएको छ । यसको नेतृत्व नै विद्याले गर्ने हुँदा ओलीका लागि विद्याको आगमन सुखद देखिँदैन । यसले एमालेमा नयाँ धार वा नयाँ राजनीतिक कोर्ष नै सृजना गराउनसक्ने संभावनालाई बढावा दिएको छ ।
एमालेमा विद्याको आकर्षण कस्तो ?
जब माधव नेपाल झलनाथ खनालजस्ता पूर्व नेतृत्वले एमाले परित्याग गरे । त्यहाँदेखि नै एमालेको निर्णय र नेतृत्वमा ओली सर्वेसर्वा हुँदै आएका छन् । पार्टीको पछिल्लो महाधिवेशनमा सर्वसम्बत नेतृत्व चयन गर्दा ओलीले गरेको दमन र त्यसपछिका केही कदमले पनि एमालेका नेता तथा कार्यकर्तामा उकुसमुकुसपना छाएको छ ।
जुन उकुसमुकुसतालाई एमाले नेता कार्यकर्ताले अभिव्यक्त गर्न पाएका छैनन् । तर अब भावी नेतृत्वको दावी र आकांक्षासहित सक्रिय राजनीतिमा अएकी विद्याले यसको सहजिकरण गर्ने अपेक्षा गरिएको छ । नेतृत्वबाट उपेक्षा भएको अनुभूति गर्ने पक्षले विद्याको आगमनलाई स्वागत गरेको देखिन्छ ।
हुनतः विद्याको सम्बोधनकै क्रममासमेत नेता र कार्यकर्ताहरुमा समर्थनसहितको चिच्च्याहट नदेखिएका भने होइनन् । केही उच्च तहका नेताहरुलेसमेत विद्यालाई स्वागत गर्दा तल्लो तहको नेताहरुले पनि विद्याले पार्टीमा न्यायोचित नेतृत्व गर्ने अपेक्षा राखेका छन् ।
तर वर्तमान नेतृत्वमाथिका असन्तुष्ट पक्षलाई सम्बोधन गर्दै अघि बढ्दा अध्यक्ष ओली र विद्याबीच नै टसल पर्ने खतरा पनि उच्च छ । यदी दुई नेताबीचको राजनीतिक ट्यनिङ मिलेमा एमालेको भविष्य सुखद नै हुनेछ । तर विवादले विकराल रुप लिए नेतृत्व नविकरण गर्ने दाउ हेरेका ओलीका लागि विद्या ठूलै तगारो बन्ने निश्चित छ ।