News 24 Television
ओली–देउवालाई हम्मेहम्मे ! चल्तीका दलमा चलखेलको बाढी !

काठमाडौं । मुलुकको राजनीति अवस्था संकटतर्फ हेलिन थालेको छ । प्रजातन्त्रका लागि ठूलो योगदान पु¥याएका दल र नेताहरुमाथि लागेका आरोप, सर्वसत्तावादी सोच र जनताको मनोभावना सम्बोधनमा चुक्दा राजनीतिक प्रणालीमाथिका प्रश्नहरु थप पेचिला बनिरहेका छन् । संविधान र कानूनका छिद्रहरु अत्याधिक रहेको भनि कानून बनाउने क्षेत्रमै बसेकाहरुले टिप्पणी गरिरहेका सुनिन्छन् । 

यसले नेताहरुको गैरजिम्मेवारपन र आचरण शुद्धीकरणको आवश्यकता देखाइरहेको छ । दलहरुले राज्यसत्ता हाँकी रहेका छन् । तर, नागरिकमा पर्याप्त सन्तुष्टि दिन सकेका छैनन् । यस परिस्थितिमा पनि दलहरु आन्तरिक लडाईमा व्यस्त छन् ।

विषम अवस्थामा पनि लफडा मच्चाइरहने अहिलेको राजनीतिक प्रवृतिले सहि बाटो समात्ला त ? नेपालको प्रजातान्त्रिक आन्दोलन पीडा, बलिदानी र संघर्षपूर्ण यात्रा गर्दै यहाँसम्म आइपुगेको हो । राणा, पञ्चायत, राजा हुँदै लोकतान्त्रिक आन्दोलनको क्रममा नेताहरुले ज्यानकै माया मारेर दुःख संघर्ष गरे । 

जेल जीवनदेखि मृत्युवरणसम्म गर्न पुगेका नेताहरुको त्याग सामान्य पक्कै छैन् । अहिलेको पुस्तालाई यो किसिमको स्वतन्त्रता दिलाउनका लागि अघिल्लो पुस्ताले गरेको संघर्ष अतुलनीय भएपनि राजनीतिक प्रणाली ठिक ढंगले अघि बढ्न नसक्दा असन्तुष्टिले भरिएका प्रश्नहरु बढ्दोक्रममा छन् । 

विभिन्न पार्टी, शीर्ष नेता र राजनीतिमा लागेका अनुहार नै कुनै न कुनै आरोपले डामिदा दलीय राजनीतिको अस्थित्व संकटतर्फ हेलिएको छ । पपुलिजमको खतरादेखि विचार शून्यताको खतरा पनि उत्तिकै छ । तर, नेताहरुले अहिले पनि गम्भीर आत्मसमीक्षा गर्ने र मुलुकका लागि काम गर्ने हिम्मत गर्न सकेको देखिन्न । अहिले नेपालका राजनीतिक दलको राजनीति यस्तै समस्याबाट गुज्रिरहँदा कुन दलभित्र समस्याका चाङ कस्ता छन् त ? कुन नेतामाथि कस्ता आरोपहरु छरपष्ट   छन् ? पहिले त्यो हेरौं । 

१. जनमत पार्टी

मधेशमा पृथकतावादको नारा घन्काएर शक्ति आर्जन गरेका जनमत पार्टीका अध्यक्ष डा. सीके राउतमाथि पार्टी कार्यालयको घर हडप्न खोजेको गम्भीर आरोप लाग्यो । राउतको पारिवारिक कलह पनि सार्वजनिक खपतको विषय बन्न पुग्यो भने सांसदलाई कारबाही गर्ने भन्दै गरेको पत्राचारले पनि सीके राउतले सांसद बनाउनका लागि चलखेल गरेको आरोप लागिरह्यो । जुन कुराले जनमतले प्राप्त गरेको मत, राजनीतिक उद्देश्यप्रति प्रश्न र इमान्दारिताको सवाल पेचिलो बन्न पुगेको छ । 

२. नागरिक उन्मुक्ति पार्टी

टिकापुर घटनापछि डिल्लीबजार कारागारमा रहेकै बेला रेशम चौधरीले नागरिक उन्मुक्ति पार्टीको परिकल्पना गरे र स्थापना गरे । आफै अध्यक्ष बन्न कानूनले नदिएपछि उनले पत्नी रञ्जिता श्रेष्ठलाई अध्यक्ष बनाए । तर, उनीहरुको विवाद छताछुल्ल मात्रै भएन्, देखिने गरि नै तनाव सिर्जना भयो । पति–पत्नीको अन्तरकलहका कारण नागरिक उन्मुक्ति विवादमा देखिन्छ । 

जनमतसँग पार्टी एकता गर्ने भनेकै दिन रेशम चौधरीलाई पक्राउ गरियो । यो पक्राउ उनकै पत्नीको चलखेलमा भएको हो भनि पार्टीका सांसदहरुले नै आरोप लगाए । अध्यक्ष रन्जिताले यसको खण्डन त गरिन् तर, धेरै नेताहरुले अहिले पनि त्यो घटनामा रन्जिताको हात छ भनि टिप्पणी गर्न छोडेका छैनन् । 

३. नेकपा एकीकृत समाजवादी

नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वमन्त्री माधव नेपालविरुद्ध पतञ्जली जग्गा प्रकरणमा विशेष अदालतमा मुद्दा चलिरहेको छ । भ्रष्टाचारको आरोपमा मुद्दा नै दर्ता भएपछि माधवले पद त्याग गर्नुपर्नेसम्मका आवाज उनकै पार्टीका नेताहरुले उठाउन खोजिएको देखिन्छ । नेकपा एसकी नेतृ रामकुमारी झाँक्रीले सिनो बोकेर हिड्न नसकिने भन्दै अर्ली महाधिवेशनको माग नै गरेकी छन् । 

माधव नेपालदेखि यस पार्टीका अन्य नेताहरुमाथि समेत समय–समयमा अनेक आरोप लागिरहेका छन् । 

४. राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)

राष्ट्रिय प्रजातन्त्र पार्टीभित्रको विवाद पनि उस्तै छ । नेताहरुमाथि विभिन्न आरोप लाग्नेदेखि सहकारी ठगीसम्म मुछिनेक्रम रोकिएको छैन् । सांसदहरुले अनियन्त्रित रुपमा संविधानका धारा पढ्नेदेखि संसदीय अभ्यासमा समेत पोख्त नहुनुले प्रश्न उठिरहेका छन् ।

५. राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

राष्ट्रिय स्वतन्त्र पार्टीभित्र ठूलो संकट देखिएको छ । पार्टी सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा पूर्पक्षका लागि थुनामा छन् । यतिमात्रै नभई लामिछानेमाथि अनेक आरोप लाग्ने गरेका छन् भने रास्वपाका कार्यबाहक सभापति डीपी अर्यालमाथि समेत भिजिट भिसा ठगीको आरोप लागिरहेको छ । 

कांग्रेसले  यस्तो आरोप लगाउदै गर्दा अर्यालले प्रतिवाद त गरेका छन् । तर, अर्यालमाथि कहिले सहकारीमा जोडेर प्रश्न उठिरहेका छन त कहिले सहकारी ठगीमा । जुन विषय आम जनतालाई रनभुल्लमा पार्ने अस्त्र बन्न पुगेको स्थिति छ । 

६. नेकपा माओवादी केन्द्र

माओवादी केन्द्रभित्र पनि अनेक आरोप–प्रत्यारोपले तनाव सिर्जना गरिदिएको देखिन्छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नै आफ्नो स्पिरिड नबुझेको भन्दै नेताहरुमाथि पदीय लोभ पालेको आरोप लगाउनेमा सरिक देखिन्छन् । 
बाइटः पुष्पकमल दाहाल ‘प्रचण्ड’, अध्यक्ष, नेकपा माओवादी केन्द्र
माओवादीभित्र सुन तस्करीको आरोपदेखि विभिन्न आरोप तीब्र बनिहेको छ । राजनीतिक नैतिकता र इमान्दारिताको सवालमा समेत जवाफ खोज्ने गरिन्छ । 

७. नेकपा एमाले

नेकपा एमालेभित्रको राजनीति पनि सङ्गो बन्न सकेको देखिन्न । एमालेका नेताहरु यौन दुराचारदेखि भ्रष्टाचारका आरोपमा  मुछिरहेका छन् । यस्ता प्रकरणले प्रश्न र शंका उब्जाउने गरेको छ । एमालेका नेता संलग्न ठूला–ठूला नीतिगत भ्रष्टाचारका विषय सार्वजनिक भइरहेका छन् भने विचौलियाले नै रगजग मच्चाएको आरोप लाग्ने गरेको छ । एमाले सरकारमा हुँदा हुने नियुक्तिदेखि अन्य विषयले समेत यसतर्फ संकेत गर्ने गरेको देखिन्छ ।

८. नेपाली कांग्रेस

कांग्रेसमाथि विशेष गरि अदालतमा सेटिङ मिलाउने कार्य गर्छ भन्ने आरोप उच्च छ ।  जिउँदै मान्छेलाई इट्टाभट्टामा हालेर पोलेको आरोप लागेका आफ्ताव आलम हुन वा नक्कली भुटानी शरणार्थी प्रकरणमा धरौटी बुझाएर शान्त राजनीतिमा होमिएका पूर्वगृहमन्त्री बालकृष्ण खाँण नै किन नहुन् यि विषय आलोचनामा छन् । अन्य नेताहरुमाथिका आरोप पनि चर्किदै गएका छन् भने कांग्रेस सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री समेत रहेकी देउवा पत्नी डा. आरजु राणामाथि समेत राजनीतिक तहबाटै विभिन्न आरोप लगाउने गरिन्छ ।

राजनीतिक दलमाथिका यी सवाल र प्रश्नहरु स्वभाविक जस्ता देखिएपनि जनताले विश्वास गर्नै नसक्ने माहोल बन्नुका आधारहरु यीनै बन्न पुगेका छन् । बढ्दो भ्रष्टाचार, नीतिगत भ्रष्टाचार, वेथिति, जवाफदेहीताको कमी जस्ता तमाम विषयले अहिलेको राजनीतिक प्रणालीमाथि नै प्रश्न र शंकाहरु गर्न थालिएका छन् । यसर्थ, यसको निराकरण समयमै खोज्न नसक्दा ठूलो क्षति हुनसक्नेमा समेत ध्यान दिन आवश्यक देखिन्छ । 

प्रकाशित मिति: सोमबार, असार १६, २०८२  ०८:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update