
काठमाडौँ । नेकपा एकीकृत समाजावादीका अध्यक्ष माधवकुमार नेपालविरुद्ध भ्रष्टाचारको मुद्धा दायर भएपछि पार्टीमा अनेक बसह उठेका छन् । पतञ्जली जग्गा प्रकरणमा भ्रष्टाचारको मुद्धा खेपिरहेका माधवविरुद्ध पार्टीमा चर्का आवाज उठ्नुका साथै उनको विकल्पसमेत खोजिन थालिएको हो ।
२०६६ सालमा तत्कालीन प्रधानमन्त्री रहेका बेला पतञ्जलीको जग्गा खरिदमा हदबन्दी छुटको निर्णय गरेर अनियमितता गरेको आरोपमा माधवविरुद्ध अदालतमा मुद्धा छ । यो मुद्धा किनारा लागेको छैन । माधवलाई विशेष अदालतले ३५ लाख धरौटीमा छाड्न आदेश दिएको छ । तर माधवमाथिको यस्तो संकटका बेला नेताहरुबाटै उनको विकल्पको खोजीसहित अर्लि महाधिवेशनको माग हुन थालेको हो । पार्टीकै युवा नेतृ रामकुमारी झाँक्रीले नेतृत्व असक्षम र असफल भएको औँल्याउँदै माधवको विकल्प खोज्नुपर्ने चर्को आवाज उठाएकी छन् ।
भ्रष्टाचारको मुद्धासँगै माधवको संसद पद निलम्बनमा छ । उनी पार्टी अध्यक्षसँगै संसदमा संसदीय दलको नेतासमेत हुन् । तर उनीविरुद्ध भ्रष्टाचारको मुद्धा दर्ता भएसँगै पार्टी नेतृत्व अन्यलाई सुम्पनुपर्ने तथा पार्टी संसदीय दलको नेता फेर्नुपर्ने कतिपय नेताहरुको माग छ । तर यस्तोमा माधवले पार्टी नेतृत्व र दलको नेताको जिम्मेवारी कसैलाई सुम्पन सकेका छैनन् । यस्तैमा नेतृ झाँक्रीले माधवमाथि नै कटाक्ष गर्दै काँधमाथि मरेको सिनो हालेर हिँड्न नसकिने टिप्पणी गरेकी छन् ।
नेकपा एस संगठनात्मक रुपमा आँफै कमजोर बन्दै गएको पार्टी हो । एमालेसँग विभाजन हुँदा जुन रफ्तार र जोश नेताहरुमा देखिएको थियो । तर त्यो जोस लामो समय टिक्न सकेको देखिँदैन । परिणामतः नेकपा एसका धेरैजसो नेता कार्यकर्ता एमालेमै फर्किसकेका छन् । यस्तै केही फर्किने चाहनामा पनि छन् । यसैबीच नेताहरुबाट माधवको विकल्प खोजिन थालेको हो । जसले माधवमाथि दोहोरो संकट पैदा भएको छ ।
रामकुमारीको आक्रोश किन ?
नेतृ झाँक्री एमालेमा विद्रोह हुँदा माधव नेपाललाई साथ दिने अग्रपङ्तिकी नेतृ हुन् । एमालेबाट विभाजन गरेर नेकपा एस पार्टी दर्ता गर्दासमेत माधवसँगसँगै झाँक्री निर्वाचन आयोग पुगिन् । तर पार्टी दर्तापछि भने रामकुमारी र माधवको ट्युनिङ मिलेन । रामकुमारीले नयाँ पार्टीमा जति स्पेश लिन खोजेकी थिइन्, त्यति माधवले नदिँदा उनी नेतृत्वसँग असन्तुष्ट हुँदै आएकी छन् । ०८९ को आम निर्वाचनमा गुल्मी २ मा पराजित उनी ०८१ असारमा सम्पन्न नेकपा एसको दशौँ राष्ट्रिय महाधिवेशनमा समेत महिला उपाध्यक्षमा पराजित भइन् । उक्त पराजय अध्यक्ष माधव नेपालकै योजनामा भएको झाँक्रीको बुझाई छ । यसै आधारले पनि झाँक्री नेतृत्वमाथि आक्रोश र पार्टी पुनरगठनको माग गर्न अग्रसर भएकी हुन् ।
जथाभावी नबोल्न पार्टीको चेतावनी
रामकुमारी झाँक्रीको टिप्पणीपछि नेकपा एसले पार्टीको आधिकारिक धारणाविपरित नबोल्न नेताहरुलाई उर्दी नै जारी गरेको छ । पार्टी महासचिव घनश्याम भुसालले पार्टीको आधिकारिक धारणा विपरीत सार्वजनिक अभिव्यक्ति नदिन उर्दी जारी गरेका छन् । अध्यक्षविरुद्ध दर्ता भएको मुद्धाका कारण पार्टी संकटमा परेको यथार्थतालाई स्वीकार गर्दै नेकपा एसले लागेका धारणा रााख्ने विधि र स्थान पार्टीमै भएकाले बाहिरी रुपमा जथाभावी नबोल्न नेताहरुलाई चेतावनी दिएको हो । पार्टी नै संकटमा परिरहेको बेला नेताहरुले देखाएको अन्तरविरोधलाई अब नेकपा एसले कसरी सामना गर्ला ? त्यो भने हेर्न बाँकी छ ।