
काठमाडौं । नेपाली कांग्रेसभित्र आलोचना, विवाद र लोकतान्त्रिक अभ्यासको नाममा नेताहरुले आफूखुशी गर्ने प्रचलन पहिलेदेखि नै चल्दै आएको छ । कांग्रेस नै त्यस्तो पार्टी हो, जसले पार्टीले गरेको निर्णय उल्लङ्घन गर्दा समेत कारबाही खासै गर्दैन् ।
संवेदनशील अवस्थामा पनि कांग्रेसभित्र फरक मतको नाममा अनेक आरोप–प्रत्यारोप र चर्चा चल्ने गर्छ । तर, अहिले चलिरहेको केन्द्रीय समितिको बैठकमा भने दृष्य फरक तर गुटको प्रभाव बलियो देखिन पुगेको छ । यसले कांग्रेसलाई एकीकृत बनाइराख्ला ? प्रश्न यता सोझिएको छ ।
कांग्रेस केन्द्रीय समिति बैठक चलिरहेको छ । बैठकमा नेताहरुले एकले अर्कोलाई विभिन्न लान्छना लगाउने र महाधिवेशनमा हेरौंलाको शैलीमा विषय उठान गरिरहेका छन् ।
हुनत संसदको रोस्टममै उभिएर १५ औं महाधिवेशनमा हेरौला भन्ने कांग्रेस नेताहरुले पार्टी बैठकमा यस्तो बोल्नु सामान्य होला, तर राजनीतिक दलभित्रको अनुशासनको दायरा सीमित हुन थाल्यो र अराजकताले प्रसय पाउन थाल्यो भने त्यसले लोकतन्त्रलाई कमजोर बनाउदै लैजाने खतरा बढ्न जान्छ । पार्टीभित्र कै अवस्थाले पनि लोकतान्त्रिक अभ्यास माथिको खतरा पैदा गर्न सक्छ है भन्ने विषय पनि कांग्रेस केन्द्रीय समिति बैठकमा जोडतोडले उठिरहेका छन् ।
आक्रोशले भरिएका अभिव्यक्ति
१. शेखर कोइरालामाथि विनोद चौधरीको आक्रोश
कांग्रेसबाट प्रतिनिधिसभा सदस्य समेत रहेका नेता विनोद चौधरीले केन्द्रीय समिति बैठकमा रोष पोखे । कांग्रेस नेता डा. शेखर कोइरालाले आफूलाई निर्वाचनमा हराउन खोजेको विषय राख्दै चौधरीले आगामी महाधिवेशनमा नेतृत्व गर्छु भन्नेले गर्ने यहि र यस्तै हो भन्दै कडा प्रश्न गरे । कोइरालामाथिको आक्रोश पोख्नेमात्रै होइन चौधरीले शेखर कोइरालाले देखाउन खोजेको प्रवृतिले दलभित्रको लोकतान्त्रलाई कमजोर पार्न खोजेको आरोप समेत लगाए ।
२. मोहन बस्नेतको आक्रोश
पूर्वस्वास्थ्यमन्त्री तथा हाल निलम्बनमा रहेका प्रतिनिधिसभा सदस्य मोहन बस्नेतले आफुलाई अख्तियारले बयान लिएको विषयमा रोष पोखे । अख्तियारले बयान लिने कुरामा उनले महामन्त्री गगन थापाको हात रहेको भन्दै क्रोध पोखे । गगनकै कारण आफूलाई दुख दिइएको दाबी गरेका बस्नेतले पाकिस्तान मोडेलमा गगन हिडेको आरोप लगाउदै यस्तो गर्न थाले कोही सग्लो नरहने चेतावनी नै दिए ।
३. शेखर कोइरालाको आक्रोश
पार्टी महाधिवेशन समयमै नहुने आशंका गरिरहेका शेखर कोइराला १५ औं महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने दौडमा छन् । त्यसैले पनि कोइरालाले महाधिवेशन किन समयमै हुन नसक्ने भन्दै प्रश्न मात्रै गरेनन् कि सभापति शेरबहादुर देउवाले एमालेसंग मिलेर सरकार गठन गरेको विषयमा समेत प्रश्न गरे ।
कोइरालाले माओवादीसंग मिलेर चुनावमा जाने अनि सरकार एमालेसंग मिलेर बनाउने भन्दै प्रश्न गरे । तर, उनै शेखरले तत्कालीन समयमा आफ्नो पार्टीबाट कोशी प्रदेशमा मुख्यमन्त्री बनाउनका लागि एमालेसंग रातारात सहकार्य गरेका थिए । आफुले गरेको यो कार्यलाई भने उनले कांग्रेसलाई लाभ भएको भन्दै वचाउ गर्ने गरेका छन् ।
भित्र बैठक, बाहिर आन्दोलन
कांग्रेस केन्द्रीय समिति बैठक चल्दै गर्दा पार्टी कार्यालय बाहिर भने आन्दोलन, धर्ना चलिरहेको छ । भातृ संगठनको समयमै अधिवेशन हुन नसकेको भन्दै नेताहरुले आन्दोलन गरिरहेका छन् भने, कांग्रेसले यसबारेमा निर्णय गर्ने भनेको छ । तर, तदर्थ समिति, म्याद थप, मनोनयन लगायतका कुरा सभापति शेरबहादुर देउवाले धमाधम गर्ने गरेका कारण पनि भातृ संगठनको नेतृत्व जाम खुल्न नसकेको भन्दै आक्रोश देखिन्छ ।
पार्टीभित्रको विवाद, राजनीतिक दायराबाहिरका नेताहरुका अभिव्यक्ति र व्यवहार जस्ता तमाम विषयले कांग्रेस आन्तरिक विवाद र संकटमा रुमल्लिनै रहेको छ ।
कांग्रेसको संस्थागत दिक्दारी
कांग्रेसले पार्टीमा अनुशासनको अभाव रहेको भन्न थालेको छ । नेताहरुले जथाभावी बोल्न थालेको, व्यक्तिगत लाभका लागि पार्टी अनुशासन तोड्न थालेको भन्दै कांग्रेस प्रवक्ताले चिन्ता व्यक्त गरेका छन् ।
कांग्रेसमा चलिरहेको संस्थागत अराजकता, अनुशासनबाहिरका क्रियाकलाप र नेतृत्वलाई सम्मान भाव कम देखिनुले पनि कांग्रेसको आन्तरिक विवाद बबण्डरमा रुपान्तरण हुन पुगेको देखिन्छ । कांग्रेसले यस्ता विषयलाई सम्हाल्न नसक्दा देखिएका समस्याको समाधान अब खोज्ला त ? चासोको विषय बनिरहेको छ ।
नेतृत्व होडमा रहेका नेताहरुले नै पार्टी अनुशासनको दायरा नाघ्ने र कारबाही प्रक्रिया पारदर्शी हुन नसक्दा पनि कांग्रेस संस्थागत अराजकतामा फसेको स्थिति छ । जुन कुराले समग्र रुपमा नै लोकतन्त्रलाई कमजोर पार्ने र मुलुक समस्याको दलदलमा फस्ने खतरा बढ्दो देखिन्छ ।