
काठमाडौँ । काँग्रेसको केन्द्रीय समिति बैठकमा अनेकौँ लफडा देखिएका छन् । सोमबारबाट जारी बैठकमा केन्द्रीय सदस्यहरुले एकअर्काबीच नै घोचपेच जारी राखेका छन् । पूर्वमन्त्री समेत रहेका केन्द्रीय सदस्य मोहन बस्नेत आफ्नो धारणा राख्नेक्रममा महामन्त्री गगन थापाविरुद्ध उग्र रुपमा खनिएका छन् । उनले टेरामक्स् प्रकरणमा आफूविरुद्ध गगन नै खुलेर लागेको गम्भीर आरोप लगाएका छन् । नेता बस्नेतले गगन आफूविरुद्ध लागेकै कारण अख्तियारले आफूलाई नियन्त्रणमा लिएको आरोप लगाएका छन् । ढिलो चाँडो सबैको समय आउने भन्दै उनले गगन पनि सग्लो नरहने चेतावनी दिएका छन् ।
यस्तैमा महामन्त्री गगन थापाले पनि केन्द्रीय समिति बैठकमै मोहन बस्नेतले लगाएका आरोपको खण्डन गरेका छन् । आफूमाथि लगाइएको आरोपलाई उनले गम्भीर, अराजनीतिक, अशिष्ट र अमर्यादित भनेका छन् । यहाँसम्मकी उनले मोहनलाई फोहोरको संज्ञा दिँदै फोहारेलाई चलाए आफू नै फोहोरी भइने टिप्पणी गरेका छन् ।
देउवामाथि पनि आलोचना !
नेता शेखर कोइरालाले सत्ता गठबन्धन र पार्टी नेतृत्वमाथि कडा आलोचना गर्दै सरकारको औचित्यामाथि प्रश्न गरेका छन् । उनले केन्द्रीयस समिति बैठकमै एमालेसँग गठबन्धन गर्नुको कारण र गठबन्धन हुँदा काँग्रेसले किन सत्ताको नेतृत्वमा दावी नगरेको ? भन्ने प्रश्नको जवाफ नेतृत्वले दिनुपर्ने भनेका छन् । शेखर र अर्का नेता विनोद चौधरीको पनि बैठकमा लफडा मच्चिएको चर्चा छ । त्यस्तै केन्द्रीय समिति बैठकमा नेताहरुले सत्ता गठबन्धनको कामकारवाही र काँग्रेसको भूमिकाका विषयमा पनि प्रश्न उठाएका छन् । धेरैजसो नेताहरुले एमालेसँग गठबन्धन हुँदाका बखत भएको ७ बुँदे समझदारी परिपालना नभएकोप्रति असन्तुष्टि जनाएका छन् ।
काँग्रेसको आन्तरिक बैठकमा सरकारमा पार्टीको भूमिका प्रभावकारी नभएको र सम्झौता परिपालना नभएको विषयमा गहन छलफल भएको छ । त्यस्तै नेताहरु विभिन्न सवालका मुद्धामा एकअर्काविरुद्ध खनिएका छन् । यसले पार्टी र सत्तामै बिचलन ल्याउने खतरा देखिन्छ ।
गृहमन्त्रीको अर्कै त्रास !
काँग्रेसबाटै सरकारमा प्रतिनिधित्व गरिरहेका रमेश लेखक अहिले गृहमन्त्री छन् । तर उनी हाल भिजिट भिसा प्रकरणमा संलग्न रहेको आरोप खेपिरहेका छन् । यस्तैमा उनले भने पार्टीको बैठकमा वर्तमान सत्ता गठबन्धनको विकल्प खोजिन नहुने धारणा राखेका छन् । उनले बैठकमा स्पष्ट रुपमै धारणा राखेर यदी एमालेसँगको गठबन्धको विकल्प खोजिए काँग्रेसले ठूलो क्षति व्यहोर्नुपर्ने भनेका छन् ।
गृहमन्त्री रमेश लेखकमाथि भिजिट भिसा प्रकरणमा संलग्न रहेको आरोपमा विपक्षीले संसद अवरोध नै गर्दै आएको छ । अझै पनि विपक्षी दल रास्वपा र राप्रपाले गृहमन्त्रीको राजीनामा र अनुसन्धानको माग गरिरहेका छन् । तर प्रमुख प्रतिपक्षी दल माओवादीले भने दुई बुँदे सहमति गरेर गृहमन्त्रीको राजीनामाबाट व्याक भएको स्थिति छ । यस्तैमा पार्टीको बैठकमा धारणा राखेका गृहमन्त्री लेखकले भने एमालेसँगको गठबन्धन तोडिए पार्टीले ठूलो क्षति व्यहोर्नुपर्ने भन्दै त्रासपूर्ण टिप्पणी गरेका हुन् ।