
सिन्धुपाल्चोक । गतवर्ष भन्दा पनि यस वर्ष वर्षा उच्च भइरहेकाले सिन्धुपाल्चोकवासीको उठिबास लाग्ने अवस्था आइरहेको छ । लगातारको वर्षाले गर्दा सिन्धुपाल्चोकका पहाडी क्षेत्रमा पहिरो र भू–चिरा पर्दा बस्ती जोखिममा रहेपछि नागरिक खुला चौर र टहरामा बस्न थालेका छन् । यहाँ वर्षेनी यहि समस्या दोहोरिन्छ । वस्ती सार्ने प्रयास पनि गरिन्छ ।
सरकारले वस्ती सार्ने योजनामा सफल कदम चाल्नै सकेको छैन । प्राकृतिक विपत्तिबाट उच्च प्रभावित क्षेत्र मानिने सिन्धुपाल्चोकमा अहिले पुनः मनसुनजन्य विपत्तिको त्रासले स्थानीयको उठिवास लाग्ने अवस्था आइलागेको छ ।
लगातारको वर्षाले यहाँको जमिन नै जोखिममा परेपछि भासिने वा बग्ने डरले सिन्धुपाल्चोकवासी सुरक्षित बासस्थान खोजिरहेका छन् । पहिरोले बस्ती जोखिममा परेपछि सिन्धुपाल्चोकको लिंसखुपाखर ६ लामिडाडामा १७ परिवार अहिले विद्यालय तथा बस्ती नजिकैको खुला चौरमा टेन्ट हालेर बसिरहेका छन् ।
मध्यपहाडी लोकमार्गको कारण मेलम्ची–४ स्थित पार्टी भन्ज्याङका चार परिवार आफन्तको शरणमा बसिरहेका छन् । यस्तै चौतारा साँगाचोकगढी नगरपालिका–१० स्थित खत्रीथोक मगरातिटोलका १७ परिवार भने नजिकैको लाठेडाँडा सामुदायिक वनमा अस्थायी टहरा बनाएर वास बसिरहेका छन् ।
मनसुन सक्रिय भएसँगैको वर्षापछि भू–चिरा र पहिरोको जोखिमका कारण उनीहरूलाई तत्काल स्थानीय सरकारको सहयोगमा अस्थायी रूपमा सुरक्षीत स्थानमा सारिएको हो । तर, स्थायी स्थानान्तरण र आवास निर्माणको प्रक्रिया भने अहिलेसम्म अघि बढ्न सकेको छैन ।
सिन्धुपाल्चोकमा वर्षायाम सुरु भएसँगै प्राकृतिक विपद्को जोखिम अत्यधिक बढ्ने गरेको छ । जिल्ला विपद् व्यवस्थापन समितिको अनुमान अनुसार यस वर्ष २ सय २२ बस्तीका १७ हजार ८२ जना नागरिक प्रत्यक्ष प्रभावित हुनेछन् ।
अहिले जोखिम क्षेत्रका नागरिकहरू बाढी, पहिरो जस्ता प्राकृतिक विपद्को चपेटामा दैनिकी बिताउन बाध्य छन् ।
सिन्धुपाल्चोकका १२ वटै स्थानीय तहहरूले लामो समय देखि जोखिममा पर्ने बस्तीहरूको पहिचान गरेपनि ती बस्तीलाई सुरक्षित स्थानमा स्थायी रूपमा सार्ने प्रक्रिया भने सुरु भएको देखिँदैन ।
कमजोर भौगोलिक अवस्थाका कारण यहाँ हरेक वर्ष पहिरो र जलजन्य विपद्का घटनाले जनधनमा ठूलो क्षति पु¥याउने गरेको छ ।
जिल्ला विपद् व्यवस्थापन समितिले सुरक्षा निकाय र प्राविधिक टोलीसहित जोखिमयुक्त क्षेत्रको निरन्तर अनुगमन गरिरहेको जनाएको छ। खोज तथा उद्धारका लागि अभ्यास, नेपाल आर्मीमार्फत हेलिकप्टर तयारी, राहतका लागि त्रिपाल, टेन्ट, खाद्यान्न लगायतका सामग्रीको भण्डारण, राजमार्गका भासिएका ठाउँमा तत्काल मर्मत, साथै वर्खा अवधिभर डोजरसहितको पूर्वाधार तयारीलाई प्राथमिकता दिइएको छ । तर, स्थायी स्थानान्तरणका विषयमा अझै स्पष्ट समन्वयको अभाव देखिन्छ।
जोखिममा रहेका बस्तीलाई स्थायी रूपमा स्थानान्तरण गर्ने प्रयास भइरहेकै हो । तर, प्रभावितले जान नमान्ने, र स्थानान्तरण भएका परिवारले पनि दैनिक जीवन असहज भएपछि पुनः पुरानै थलोमा फर्किने समस्या छ । त्यसैले यो विषयमा सूक्ष्म अध्ययन गरी राज्य हुनुको अनुभूति दिलाउने खालको दीर्घकालीन समाधान आवश्यक छ ।