News 24 Television
काङ्ग्रेसभित्र आन्तरिक सङ्घर्ष र सत्ता समीकरण : शेखर सक्रिय हुँदा गगनको मौनता

काठमाडौँ । नेपाली काङ्ग्रेस पार्टीको आन्तरिक जीवनमा यतिबेला गहिरो तरङ्ग देखिएको छ । एकातिर सरकारमा रहेका आफ्नै मन्त्रीहरूमाथि भ्रष्टाचार र अनियमितताका प्रमाणसहितका काण्डहरू सार्वजनिक भइरहेका छन् भने अर्कोतिर पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माहरू भने अपेक्षाविपरीत रहस्यमय ढङ्गले मौन देखिएका छन् ।

एक समय संसददेखि सडकसम्म र मिडियादेखि विभिन्न मञ्चसम्म आँटिलो र जोसिलो ढङ्गले भाषण गर्ने र सटिक ढङ्गले आफ्ना कुरा राख्ने महामन्त्रीहरु अहिले देशमै बहसको केन्द्र बनेका विषयमा भने मौन रहनु आम जनताका लागि अनौठो कुरा भएको छ । आफ्नै पार्टीको गरिमालाई धमिल्याउने आफ्नै पार्टीका मन्त्रीहरूका बारेमा सर्वत्र बहस र निन्दा हुँदा समेत महामन्त्रीद्वय भने ‘बोल्यो कि पोल्यो’ हुने भयले गुप्तवास बसेको अनुमान गरिन्छ । आशा गरिएका युवा नेताद्वय थापा र शर्मा यति निर्बल होलान् भनेर कसैले पनि पूर्व अनुमान गरेका थिएनन् ।

महामन्त्रीहरु मौन, जनता निराश

विगतमा सहकारीसँग जोडिएको रवि लामिछानेको मुद्दालाई संसदमा पूर्ण जोशका साथ उठाउने गगन थापा आज सरकारमा सामेल भएका आफ्नै मन्त्रीहरू मुछिएका भ्रष्टाचारका घटनाहरूमा किन बोल्दैनन् भन्ने जिज्ञासा लाग्नु स्वाभाविक हो । गृह मन्त्रालयसँग जोडिएको भिजिट भिसा काण्डमा प्रत्यक्ष मुछिएका गृहमन्त्री रमेश लेखक, प्रधानमन्त्री सामेल भएको स्पेन भ्रमणको टोलीसँग प्रत्यक्ष जोडिएको विवाद, ६८ लाख र ३२ लाखको घुस प्रकरणमा बाहालवाला मन्त्रीहरूका भिडियो÷अडियो सार्वजनिक हुँदा समेत कुनै सार्वजनिक प्रतिक्रिया नआउनुले भनाइ र गराइमा काङ्ग्रेस कतिसम्म गैरजिम्मेवार छ भन्ने देखाउँछ । यस्ता गतिविधिले भोलिका दिनमा पार्टी जीवनमा दूरगामी असर पार्ने निश्चित छ ।

शेखरको सक्रियता र सम्भावित सत्ता ध्रुवीकरण

पछिल्लो समय शेखर कोइरालाको सक्रियता ह्वात्तै बढेको छ । उनी आन्तरिक संघर्षलाई पनि अगाडि बढाउँदै छन् र अन्तर पार्टी भेटघाटलाई पनि प्राथमिकता दिँदैछन् । काङ्ग्रेस–एमाले गठबन्धनलाई पहिलेदेखि नै ‘अप्राकृतिक’ भन्दै आएका उनी अहिले पनि त्यही अडानमा देखिन्छन् । उनले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले नैतिक जिम्मेवारी लिँदै राजीनामा दिनुपर्ने स्पष्ट धारणा सार्वजनिक रूपमै राखेका थिए । उनको यस अभिव्यक्तिलाई लिएर अर्को खेमाका काङ्ग्रेसीहरूले शेखरलाई कारबाही गर्ने प्रस्ताव समेत राखेका थिए । यी दुई विपरीत सोचहरूले पनि काङ्ग्रेसभित्रको आन्तरिक द्वन्द्व चर्किदै गएको आभास दिलाउँछ ।

शेखरको प्रचण्ड र विद्यादेवी भण्डारीसँगको रहस्यमय भेटवार्ता

शेखरले काङ्ग्रेसको संस्थापन पक्षको चाहना विपरीत माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र पूर्वराष्ट्रपतिसमेत रहेकी एमाले नेतृ विद्यादेवी भण्डारीसँग भेटघाट गरेका छन् । भेटघाटका क्रममा के कुरा भयो भन्ने औपचारिक जानकारी सार्वजनिक नगरिएको भए पनि भित्रभित्रै राजनैतिक खिचडी पाक्तै गरेको तथ्यलाई भने नकार्न सकिन्न ।

यसले काङ्ग्रेसभित्र देउवापछि अर्को बलियो वैकल्पिक शक्तिका रूपमा शेखरले आफूलाई स्थापित गर्दै गरेको तथ्यलाई उनको राजनैतिक भेटघाट र दोडधुपबाट अनुमान लगाउन सकिन्छ । नेतृत्वले अरूको अस्तित्वलाई उपेक्षा गर्न थालेपछि हुने पनि यही हो । यसको बलियो दृष्टान्त त देउवा स्वयम् हुन् ।

शेखरको राजनीतिक सक्रियता र भेटघाटलाई कतिले सत्ता समीकरण फेरिने सङ्केतका रूपमा पनि लिएका छन् । गठबन्धन दलका ओली र देउवाबीचको आ–आफ्नै स्वार्थको टकरावले पनि शेखरलाई खेल्ने मौका मिलेको देखिन्छ ।

गगनको मौनता र अवसरको प्रतीक्षा

महामन्त्री गगन थापाले आफूलाई चतुर युवा नेता बनाउँन खोज्दा धेरै ठाउँमा चिप्लिएका छन् । उनमा पनि आत्मसंयम र धैर्यताको कमी महसुस हुन्छ । अहिले धेरै क्षति व्यहोरेर भए पनि देउवासँग राजनैतिक सन्तुलन मिलाउन मौन देखिएका छन् । उनी आगामी महाधिवेशनमा ‘दाजु–भाउजू’को आशीर्वादबाट पार्टीको नेतृत्वमा पुग्ने दाउमा देखिन्छन् । देउवा र शेखरलाई सन्तुलनमा राखेर दुबै हातमा लड्डु राख्ने उनको यो रणनीति कति सफल होला, आगामी दिनहरूले तय गर्नेछन् ।

काङ्ग्रेस फुटको सङ्घारमा !

अढाई वर्षपछि अनुशासन समितिबाट शेखर प्यानलका नेताहरूमाथि लक्षित कारबाही गर्ने संस्थापन पक्षको एकपक्षीय निर्णयले पार्टीभित्र ‘सम्भावित फुट’को आधार बन्दै गएको देखिन्छ । पार्टी फुट्दा लाभ देख्ने स्वार्थ–समूह हावी भयो भने देउवाले आरम्भ गरेको इतिहासले पुनरावृत्ति पाउन पनि सक्छ । तर पार्टीको हितलाई ध्यानमा राखेर शेखर कोइराला र गगन थापा मिलेर सहकार्य गरेमा पार्टी फुट्नुको सट्टा नयाँ नेतृत्वको साथ झनै बलियो बनेर आउन पनि सक्छ । फुट्नुभन्दा जुट्नु राम्रो हो । मिल्न सक्ने आधारहरू खोजिनु आजको आवश्यकता पनि हो ।

प्रकाशित मिति: बुधबार, साउन ७, २०८२  १६:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update