काठमाडौं । राजनीतिक दलहरु जेनजी आन्दोलनपछि तितरवितर अवस्थामा पुगेका छन् । दलहरुले लिने निर्णय, पार्टी एकता, विग्रह र विभिन्न विषयमा चलिरहेको सार्वजनिक मतभेद र तर्कहरुले उथलपुथलकै संकेत गरिरहेको छ ।
यस्तो परिस्थितिमा राजनीतिले सहि बाटो समात्ला ? राजनीतिक दलहरुको संख्या मात्रै बढ्ला ? वा सामाजिक सद्भावसहितको राजनीतिक स्थिति बन्ला ? यो विषय चासोमा छ ।
जेनजी आन्दोलनपछि राजनीतिक दलहरुभित्रको आन्तरिक समिकरणमा परिवर्तन खोज्न थालिएको छ । शीर्ष नेताहरुको सिन्डिकेटलाई चुनौती दिँदै नेता कार्यकर्ताहरुले दबाब बढाइरहेका छन् भने, अन्तरिम सरकार गठनपश्चात समेत देशले कसरी लय समात्छ भन्ने प्रष्ट हुन सकेको छैन् ।
यस्तो स्थितिमा तीन ठूला दलभित्रको आन्तरिक राजनीति भने गिजोलिन मात्रै पुगेको छैन्, उनीहरु बाध्यता, उत्साह र विभाजनको संघारमा पुगेका छन् ।
१. नेपाली कांग्रेस
नेपाली कांग्रेसमा महाधिवेशन कहिले गर्ने भन्ने विषयमा चलिरहेको विवादका कारण केन्द्रीय समिति बैठक अन्तिममा आएर स्थगित गरिएको छ ।
कांग्रेसमा पदाधिकारीस्तरमा नै सहमति जुट्न नसक्दा बैठक स्थगित हुनेक्रम चलिरहेको छ, भने कांग्रेस पार्टी कार्यालयमा तालाबन्दी समेत भएको छ । नियमित महाधिवेशनको समय सार्वजनिक गर्न माग गर्दै नेपाली कांग्रेसको केन्द्रीय कार्यालयको मूल गेटमा युवा कार्यकर्ताहरुले तालाबन्दी गरेका छन् ।
कांग्रेसमा अनौठो विवाद र महाधिवेशनको पक्ष विपक्षका बहसले राजनीतिक गतिविधि नै अवरुद्ध बन्न पुगेको छ ।
२. नेकपा (एमाले)
एमाले अध्यक्ष केपी ओली रक्षात्मक बनेपनि उनी अझै जब्बर बन्ने प्रयास नै गरिरहेका छन् । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता खारेज गरेका ओलीले दबाबपछि अब भने सदस्यताका लागि निवेदन दिएमा त्यसबारे सोच्ने भन्न थालेका छन ।
यस्तै, नेकपा एकीकृत समाजवादीको विभाजनमा घर फर्किन अपिल गरेका ओलीले समूहगत एकता हुनै नसक्ने भनेका छन् । व्यक्ति–व्यक्ति पार्टीमा फर्किए स्वागत गर्ने भन्दै एकताको नाम नै लिन नसकिने भनेपछि माधव नेपाललाई छाडेका केहि नेताहरु के गर्ने भन्ने दोधारमा पुगेका छन् ।
यता, ओली भने पोखरामा तोकिएको महाधिवेशन स्थानहदका कारण काठमाडौंमा सार्न बाध्य बनेका छन् । अन्तरिम सरकारको विकल्प खोज्नुपर्ने दाबी गर्दै आएका ओलीले भक्तपुरस्थित गुन्डुमै युथ भोलेन्टियर फोर्स विशेष भेला डाकेका छन् ।
यसरी ओलीले एमालेलाई चलायमान बनाउन चाहेपनि नेतृत्वको विषयमा भने उनीमाथि ठूलो दबाब सिर्जना भएको छ । ओलीको एकल नेतृत्वको चाहनामा चुनौती थपिन थालेको छ।
३. नेकपा (माओवादी केन्द्र)
पार्टी एकता र ध्रुविकरणबाट कम्युनिस्ट केन्द्र बनाउने दाबी गर्दै आएको माओवादी केन्द्र पनि आन्तरिक विभाजनमा जाने देखिन्छ ।
उपमहासचिव जनार्दन शर्मासहित नेताहरु सुदन किरातिसहितको टोलीले नेकपा एससंगको पार्टी एकतालाई अस्वीकार गर्ने दाबी गरिरहेका छन् । तर, माओवादी केन्द्रले भने एकताको निर्णय गरिसकेको छ ।
यता, यसरी पार्टी एकतामा जाने दाबी गरेको माओवादी केन्द्रको मंसिरमा हुने भनिएको पार्टी महाधिवेशन समेत नहुने निश्चित बनेको छ भने प्रचण्डले नै संक्रमणकालको संयोजकत्व गर्ने भन्न थालिएको छ । पार्टीभित्रका विद्रोही आवाज र विपक्षका प्रश्नहरु के हुन्छन् भन्न सकिने स्थिति छैन् ।
एकतापछि माओवादीको नाम, चुनाव चिन्ह र विचारधारा समेत फेरिनेछ । यहि आधारलाई टेकेर अर्को पार्टी गठनको प्रयास जनार्दन शर्मा लगायतले गर्ने स्थिति बन्न थालेको छ ।
४. राष्ट्रिय स्वतन्त्र पार्टी
राष्ट्रिय स्वतन्त्र पार्टीले पनि वैकल्पिक राजनीति विकास गर्ने भन्दै बहस शुरु गरेको छ । जेनजी पुस्ताका अगुवाहरुलाई समेत समेट्ने प्रयासमा रहेको रास्वपा आफ्ना सभापति रवि लामिछानेको पक्षमा उभिनाले केही खस्किएको त छ तर, वैकल्पिक राजनीतिको जग बसाल्ने प्रयास भने जारी राखेको छ । यद्दपि, रास्वपाका केहि नेताहरुले समेत नयाँ बन्ने पार्टीका निम्ति आन्तरिक छलफल र तयारी गरिरहेको दाबी गर्ने गरिएको छ ।
नयाँ दल पनि खुल्नेक्रम जारी
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले दल दर्ताको प्रमाणपत्र प्राप्त गरेका छन् । श्रम संस्कृतिको जगमा बनेको पार्टीले मुलुकलाई श्रमदानबाटै निर्माण गर्ने दाबी गर्ने गरेको छ भने दल दर्ताको प्रमाणपत्र पाएपछि हर्क साम्पाङले गफले रोजगारी सिर्जना हुन नसक्ने भएकाले काममा ध्यान दिने भनेका छन् ।
हर्कलेजस्तै नागरिक उन्मुक्ति पार्टीबाट अलग भएका रेशमलाल चौधरीले सीके राउतको नेतृत्वबाट अलग्गिएका अब्दुल खानसहितका नेताहरुलाई लिएर जेनजी कविर सोबलाई अध्यक्ष बनाएर निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएका छन् ।
यता, मन्त्री बन्ने दौडमा अन्तिममा नाम काटिएका खगेन्द्र सुनारले समेत दल दर्ता गर्ने भन्दै सामाजिक सञ्जालबाट सुझाव मागेका छन् । यसरी चलिरहेको राजनीतिक माहोलमा अब मुलुक कसरी अघि बढ्ला ? यो भने चासोको विषय बनेको छ ।
