
दोलखा । दोलखा जिल्लाको कालिन्चोक गाउँपालिका– ४, हिलेपानीको आयोजनामा तथा टुकी सिविनको समन्वयमा पहिलो राष्ट्रिय कोदो दिवस भव्य रूपमा सम्पन्न भएको छ। "कोदोजन्य परिकारको आहार, खाद्य सुरक्षा र स्वस्थ्य जीवनको आधार" भन्ने नाराका साथ आयोजित उक्त कार्यक्रम सोमबार वडा नं. ४ स्थित लाकुरीडाँडा, गुमुमा सम्पन्न भयो ।
कार्यक्रमका प्रमुख अतिथि दोलखा जिल्लाका प्रमुख जिल्ला अधिकारी सिबराम गेलाल रहेका थिए । विशिष्ट अतिथि ओलख बहादुर आले, स्थानीय जिल्ला प्रहरी कार्यालय प्रमुख ज्ञान कुमार महतो, जनप्रतिनिधि, कृषि विज्ञ, समुदायका अगुवा तथा किसानहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा कोदोबाट तयार पारिएका विविध परिकारहरूको बर्णन गरिनुका साथै स्थानीय उत्पादनको प्रवर्द्धन सम्बन्धी छलफल पनि गरिएको थियो। सहभागीहरूले कोदो जस्ता परम्परागत अन्नबालीहरूलाई संरक्षण गर्दै खाद्य सुरक्षामा योगदान पुर्याउने विषयमा आफ्ना धारणा राखेका थिए।उक्त कार्यक्रममा खाजाको रुपमा पनि कोदो को परिकार नै राखिएको थियो ।
स्थानीय सांस्कृतिक प्रस्तुतिहरूले कार्यक्रमलाई अझै आकर्षक बनाएको थियो । आयोजकका अनुसार, कोदो दिवसले स्थानीय खाद्य संस्कृतिको प्रवर्द्धन र समुदायमा पोषणको महत्त्वबारे जनचेतना फैलाउन ठूलो भूमिका खेलेको छ।
कार्यक्रमले स्थानीय कृषकहरूलाई आफ्नो उत्पादनमा थप उत्साहित बनाएको र कोदोको व्यवसायिक सम्भावनाबारे नयाँ दृष्टिकोण दिएको सहभागीहरूको भनाइ थियो ।
उक्त कार्यक्रम कालिन्चोक गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष दिपक खुलालको सभातित्वमा सम्पन्न भएको थियो ।