News 24 Television
पोखराको कलेजका विद्यार्थी ‘पढ्दै कमाउदै’, फि तिर्नदेखि पकेट खर्च ढुक्क

कास्की । सरकारले आफ्नो नीति तथा कार्यक्रममा विद्यार्थीहरुका लागि भनेर ‘पढ्दै कमाउदै’ कार्यक्रम अघि सारेको थियो । यस नीतिमा सरकारले कसरी काम गरेको छ, त्यो देखियको त छैन तर, पोखराको लेकसिटी कलेजले भने आफ्ना विद्यार्थीका लागि पढ्दै कमाउदै परियोजना प्रभावकारी बनाउने गति समातेको छ । विद्यार्थी बिहान कलेज आँउछन् र कलेज सकिएपछि कलेजकै ड्रेसमा टोल टोलमा, वडा कार्यालयमा पुग्छन् । त्यसरी पुग्नु प्रयोगात्मक अभ्यासका लागि भने हैन् । यसरी टोलटोलमा गएवापत कलेजले यिनिहरुलाई सरकारले तोकेको न्युनतम पारिश्रमिक दिन्छ । 

यसरी पढ्दै कमाउदै गर्ने कार्यलाई परियोजनाकै रुपमा संचालन गरेको छ, पोखराको लेकसिटी कलेज एण्ड रिसर्च सेण्टरले । परियोजना अन्तर्गत कलेजका विद्यार्थीहरुले पोखराका विभिन्न संघसंस्था र समुदायमा पुगेर व्यवहारिक ज्ञान र सीप सिक्ने तथा सामाजीक कार्य गर्ने गराउने गर्छन् । यस संगसंगै विद्यार्थीहरुले पोखराका विभिन्न अध्ययन र अनुसन्धान समेत गर्नेछन् । 

स्नातक तहको विएसडब्लु र विविएसतर्फका विद्यार्थीहरु पहिलो चरणको यो परियोजनामा जोडिएका छन् । पढ्दै कमाउदै गर्न पाँउदा विद्यार्थीहरु निक्कै हर्षित छन् ।

हरेक दिन कलेजमा उनिहरुलाई कहाँ जाने के गर्ने भनेर प्रध्यापकहरुले  जानकारी गराएर पठाउने गर्छन् । विद्यार्थीले पनि हरेक दिनको रिपोर्ट बनाएर बुझाउनु पर्छ । 

विद्यार्थीले सैद्धान्तिक ज्ञान मात्र होइन व्यवहारिक ज्ञान र सीप पनि सिक्नुपर्छ भन्ने अवधारणा अनुसार नयाँ कार्यक्रम शुरु गरेको र यो कार्यक्रम विद्यार्थीलाई सैद्धान्तिक कुरा कसरी व्यवहारमा उर्तार्ने भन्नका लागि कार्यक्षेत्रमै पठाएर काम गर्ने तरिकाहरु सिकाउन उत्कृष्ट हुने कलेजका अध्यक्ष प्राचार्य डाक्टर विश्वकल्याण पराजुलीको भनाइ छ ।

पहिलो चरण अन्तर्गत ६ जना विद्यार्थीलाई पढ्दै कमाँउदै अभियानमा जोडे पनि विस्तारै यो सख्या बढाउँदै लैजाने तयारी छ । त्यस संगसंगै सरकारी निकाय, स्थानीय तह तथा विभिन्न संघसंस्थासंग सहकार्य गरेर पढ्दै कमाउदै अभियान विस्तार गरिने कलेजको भनाइ छ । 

यो अभियानले कलेज फि तिर्न देखी व्यक्तीगत खर्च धानिएको तथा यसलाई सबै कलेजले संचालन गरेदेखी १२ कक्षा पढ्ने बित्तीकै विदेशीनेको संख्या घट्ने विद्यार्थीको बुझाई छ । 

प्रकाशित मिति: सोमबार, भदौ २, २०८२  ०८:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update