News 24 Television
आज हरितालिका तिज मनाइँदै, विगतको जस्तो छैन चहलपहल

काठमाडौँ । आज हरितालिका तिज । देशभर महादेवको पूजा आराधना गरी मनाइँदैछ । आज दशेभरका शिवालयहरुमा व्रत बस्ने महिलाहरुको भीड लाग्ने गर्दछ । हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन मनाइने यस पर्वमा व्रत बसी शिव–पार्वतीको पूजा, उपासना गरे सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ ।

आज बिहानैदेखि काठमाडौंको पशुपतिनाथसहित देशभरका शिव मन्दिरमा तिर्थालु एवं व्रतालु महिलाहरुको भीड छ । अविवाहित महिलाले राम्रो श्रीमान पाउने कामनासहित र विवाहित महिलाले परिवार र श्रीमानको राम्रो होस् भन्ने मनशायसहित व्रत बस्ने चलन छ । निराहार व्रत बसे मनोकामना पूरा हुने शास्त्रोक्त कथन छ ।

teej1-1756197588.jpg
सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर महादेव पति पाउने वरदान पाएको विश्वासमा यो व्रत शुरु भएको पौराणिक मान्यता छ । वरदान विपरित पार्वतीका पिता हिमालयले पार्वतीको इच्छाविपरित भगवान विष्णुसँग विवाह गरिदिन खोजेपछि साथीहरूलाई आफ्नो समस्या सुनाउनु भयो ।

पार्वती समस्यामा परेको थाहा पाएपछि उहाँका साथीहरूले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए । साथीहरूले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई पतिका रूपमा प्राप्त गर्नुभयो । यसरी पार्वती साथीहरूद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयको दिन भएकाले त्यही समयदेखि हरितालिका (तिज) को व्रत लिने प्रचलन शुरु भएको शास्त्रीय कथन छ ।

1756185914-HaWaB-1756197587.jpg
यस वर्ष गत वर्षको तुलनामा भने पशुपतिमा महिला व्रतालुहरुको उपस्थिति कम छ । तिजको दिन बिहान ३ बजेबाट नै चार वटै ढोका खुला गरिएको छ । बिहान ३ बजेबाट नै सहज दर्शन भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । भीडलाई व्यवस्थापन गरेर दर्शनलाई सहज बनाइएको कोषको दाबी छ । 

प्रकाशित मिति: मंगलबार, भदौ १०, २०८२  १४:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update