News 24 Television
सुदूरपश्चिमका पहाडी जिल्लामा मनाइयो बूढी पोल्ने पर्व

बैतडी । बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा आज बूढी पोल्ने पर्व मनाइएको छ । विजय उत्सवको रुपमा मनाइने यो पर्वमा बूढी अर्थात राक्षसी पुतनालाई पोल्ने गरिएको संस्कृतिका जानकार जयानन्द भट्टले बताए ।

किंवदन्तीअनुसार भगवान श्री कृष्णले राक्षसी प्रवृत्तिकी पुतनालाई मारेपछि उनका साथी ग्वाला (गोठाला)ले पुतनाको शव दहन गरेका थिए । द्वापरयुगमा विषाक्त दूध सेवन गराएर बालबालिकाको ज्यान लिने गरेकी राक्षसी पुतनालाई भगवान श्री कृष्णले दूध चुसी मारेको र भगवान श्री कृष्ण भने बाँचेको खुसियालीमा असोज सङ्क्रान्तीका दिन यो पर्व मनाइने भट्टको भनाइ छ । 

भाद्र सङ्क्रान्ति तथा ओल्के सङ्क्रान्तिका दिन गाडिएको सल्लाको वा अन्य बोट बिरुवाको लिङगोमा आज साँझपख बूढी पोलिने र सोही ठाउँमा काँक्रा खाँदै लुतो बाँड्ने प्रचलन छ । ओल्के सङ्क्रान्तिका दिन गोठालाहरुले बूढीको प्रतिमा राखेपछि दैनिक त्यसमा रुखका हाँगा थप्ने गर्छन् । यो थुप्रोलाई स्थानीय भाषामा ‘बूढी हालेको’ भन्ने गरिन्छ ।

साँझ प्रत्येक घर–घरबाट आगोको राँको एकैपटक निकाली एकैसाथ ‘बूढी पोल्ने’ परम्परा छ । पुतनाको स्वरुपमा तयार गरी सिङ्गारिएको बाबियोलाई आज बिहान गोठबाट निकालेर दिनभरी घाममा सुकाइ साँझ दोबाटोमा लगेर जलाउने गरिन्छ ।

दोबाटोमा जलाएको पुतना राक्षसनीको आकृतिबाट जलेको खरानीको तिलक गाईलाई लगाउने चलन पनि छ । यसो गरेमा पशु चौपायामा कुनै रोग नलाग्ने धार्मिक जनविश्वास रहेको बैतडीको दोगडाकेदार– ३ श्रीकोटका गणेश विष्टले बताए ।

यस पर्वमा रातभरि देउडा खेल्ने चलन भए पनि युवापुस्ताले ध्यान नदिँदा पछिल्लो समयमा यस्ता चलन लोपहुँदै गएको छ ।  

प्रकाशित मिति: बुधबार, असोज १, २०८२  १९:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update