News 24 Television
युनेस्कोद्वारा ललितपुर महानगरलाई 'संगीतको सिर्जनात्मक शहर' घोषणा

काठमाडौँ । ललितपुर महानगरपालिकालाई युनेस्कोले संगीतको सिर्जनात्मक शहर घोषणा गरेको छ । महानगरले बिहीवार पत्रकार सम्मेलन गरी उक्त जानकारी दिएको हो ।

महानगरले संगीतको माध्यमबाट नगरवासीलाई रोजगारीको नयाँ अवसर सिर्जना गर्नसक्ने महसुस गरी संगीत विधामा परम्परागत संगीतको संरक्षण गर्दै समकालिन संगीतलाई युनेस्को सिर्जनात्मक शहरहरुको सञ्जालको सदस्यताका लागि पहल गरेको थियो ।

गत अक्टोबर ३१ मा विश्व शहर दिवसको अवसर पारेर ललितपुर महानगरलाई युनेस्कोले संगीतको सिर्जनात्मक शहर घोषणा गरेको जनाइएको छ । युनेस्कोबाट संगीत विधामा सदस्यता प्राप्त गरेसँगै महानगरले चार वर्षका लागि संगीत क्षेत्रमा काम गर्ने योजना समेत तयार पारेको छ ।

महानगरले संगीत क्षेत्रमा अनुसन्धान तथा शैक्षिक कार्यक्रम गर्ने, आवश्यक नीति निर्माणमा पहलकदमी गर्ने तथा स्राेत-साधनको विकासका लागी ललितपुर सिर्जनात्मक कला केन्द्रको स्थापना गर्ने लगायतका योजना तयार पारेको छ ।

महानगरका प्रमुख चिरिबाबु महर्जनले युनेस्कोबाट महानगरपालिकालाई संगीतको शहर घोषणा गरेपश्चात परम्परागत, समकालिन तथा आधुनिक संगीतको जगेर्ना गर्दै यस क्षेत्रमा युवाहरुलाई प्राथमिकताका साथ सहभागी गराउने बताए । संगीतलाई रोजगारी सिर्जनाको माध्यम बनाउन महानगरपालिकालाई महत्वपूर्ण जिम्मेवारी र अवसर प्राप्त भएको उनको भनाई छ । संगीतको माध्यमबाट महानगरको छवि र परिचयलाई अन्तर्राष्ट्रियस्तरमा थप उँचो बनाउन सबैको साथ सहयोग हुने उनले बताए ।

संस्कृति तथा सिर्जनशीलतालाई दिगो विकासको बाहकको रुपमा अंगिकार गरेका शहरहरुलाई एकै थलोमा ल्याई राष्ट्रिय तथा अन्तराष्ट्रिय लक्ष्य प्राप्तीमा सहयोग गर्ने उद्देश्यले युनेस्कोले २००४ देखि युनेस्को सिर्जनात्मक शहरहरुको सञ्जालको शुरुवात गरेको हो । हस्तकला तथा लोक कला, डिजाईन, फिल्म, खानपान, साहित्य, मिडिया कला, संगित र वास्तुकला विधामा सञ्जालको सदस्यता लिन सकिन्छ ।

प्रकाशित मिति: बिहीबार, कात्तिक २०, २०८२  १८:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update