काठमाडौँ । जनकपुरमा सप्ताहव्यापी विवाहपञ्चमी महोत्सव सम्पन्न भएको छ । मंसिर शुक्ल पञ्चमी तिथिका दिन अर्थात मंगलवार राति भगवान रामजानकीको विवाह सम्पन्न भएसँगै सप्तहव्यापी विवाहपञ्चमी महोत्सव सम्पन्न भएको हो । राम-जानकीकको वैवाहिक कार्यक्रम मिथिला संस्कृतिअनुसार सम्पन्न भएकाे हाे ।
वैवाहिक कार्यक्रममा राममन्दिरका महन्थ रामगिरीले रामका बुबा अर्थात राजा दशरथको भुमिका तथा जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णव सीताको बुवा अर्थात् राजा जनकको भुमिका निर्वाह गरेका थिए । महन्थ रामतपेश्वर दास वैष्णवले कन्यादान गरेका थिए ।
वैवाहिक कार्यक्रममा हजारौँ श्रद्धालु भक्तजन, साधु सन्त, जनकपुरधामका प्रभावशाली व्यक्तित्वहरुको सहभागिता रहेको थियो । यसअघि विवाहपञ्चमी महोत्सव अन्तर्गत रंगभूमि मैदान बाह्रबिघामा स्वयम्वर सम्पन्न भएको थियो । राम जानकीको स्वयम्वर हेर्नका लागि श्रद्धालुहरुको जनसागर नै उर्लिएको देखियो ।
स्वयम्वरका लागि मिथिला दरबारको प्रतिनिधित्व गर्ने जानकी मन्दिर र अयोध्या दरबारको प्रतिनिधित्वगर्ने राम मन्दिरबाट छुट्टाछुट्टै डोला रंगभूमि मैदानमा पुगेको थियो । जानकीमन्दिर डोलाको नेतृत्व जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णव र राममन्दिर डोलाको नेतृत्व राम मन्दिरका महन्थ राम गिरीले गरेका थिए ।
दुवै मन्दिरका डोलासँग साधु सन्तहरुसँगै हजारौँ श्रद्धालुहरुको पनि पनि सहभागिता थियो । स्वयम्वरको क्रममा जानकी मन्दिरका डोलासहित मन्दिरका महन्थ र पुजारीहरुले राम मन्दिरका डोलालाईविशेष पूजा गरे । पूजापछि रामको डोलालाई जानकीको डोलाले सातपटक परिक्रमा गरेको थियो
