ललितपुर । ठेचाे ब्रह्मायणी मन्दिर अगाडि ५० भन्दा बढी कलाकारहरूको परम्परागत प्रस्तुतिसहित आइतबार ठेचाे योमरी म्यूजिकल जात्रा सम्पन्न भएको छ । कार्यक्रम मंकाः सांस्कृतिक समूह (मंकाः ब्याण्ड) ले आयोजना गरेको थियो ।
कार्यक्रममा स्थानीय गायक–गायिका, नर्तक–नर्तकी तथा सेवेन वन्डर्स ब्याण्ड, सप्तक ब्याण्ड, संकट ब्याण्ड र नेवा रिदम ब्याण्ड जस्ता चर्चित स्थानीय समूहहरूको प्रस्तुति समावेश थियो ।
कार्यक्रमको मुख्य आकर्षण अन्त्यतिर देखा परेको थियो, जहाँ ५० भन्दा बढी संगीतकर्मीहरूले धिमे, धा:, नयो खिं, भुस्या, खिं, मादल आदि परम्परागत नेवा वादनहरूमा सामूहिक रूपमा अक्रेष्ट्रा प्रस्तुति दिए, ठेचाेमा पहिलो पटक यस्तो अक्रेष्ट्रा कार्यक्रम आयोजित भएको हो ।
कार्यक्रममा बोल्दै गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले नेपाली लोकसंगीत प्रवर्द्धन र नेवा संस्कृतिको संरक्षणका लागि मंकाः ब्याण्डको प्रशंसा गरे। उनले नगर र वडा १२ मार्फत आगामी दिनमा सांस्कृतिक कार्यक्रमलाई सहयोग गर्ने आश्वासन पनि दिए ।
मंकाः ब्याण्डका अध्यक्ष तथा कार्यक्रम संयोजक सबिर महर्जनले यो कार्यक्रमको उद्देश्य परम्परागत नेवा संगीत प्रवर्द्धन, स्थानीय कलाकारहरूलाई प्रोत्साहन, र ठेचाेको सांस्कृतिक पहिचान उजागर गर्नु रहेको बताए। “यो ठेचाेको पहिलो अक्रेष्ट्रा हुन सक्छ, तर अन्तिम हुने छैन,” उनले भने ।
कार्यक्रममा ठूलो भीड जुटेको थियो, जसले उत्साहपूर्वक प्रस्तुतिहरूको आनन्द लिँदै यस वर्षको ठेचाे जात्रालाई उल्लासपूर्ण वातावरणमा बिदाइ गर्यो ।
