News 24 Television
गोदावरीको वडा नम्बर १२ 'बालमैत्री' वडा घोषणा

 ललितपुर । यहाँको गोदावरी नगरपालिका वडा नम्बर १२ (ठेचो) लाई बालमैत्री वडा, बालविवाह मुक्त तथा निकृष्ट प्रकृतिका बालश्रम मुक्त वडा घोषणा गरिएको छ।

बालमैत्री स्थानीय शासन (CFLG) का सबै ५१ सूचकहरू पूरा गरेपछि आयोजित विशेष समारोहमा वडालाई औपचारिक मान्यता प्रदान गरिएको हो। कार्यक्रममा वडाध्यक्ष जगत बहादुर महर्जनको अध्यक्षता तथा प्रमुख अतिथि ऋषिदेव फुयालद्वारा आधिकारिक प्रमाणपत्र हस्तान्तरण गरियो।

कार्यक्रममा जनप्रतिनिधि, शिक्षक, विद्यार्थी, अभिभावक, सामाजिक संघ–संस्था तथा बाल क्लबहरूको उल्लेखनीय सहभागिता रह्यो। बाल अधिकारका विषयमा सन्देशमूलक नाटक र सांस्कृतिक नृत्य प्रस्तुत गर्दै बालबालिकाको संरक्षण, विकास र सहभागिताको महत्व उजागर गरियो।

गोदावरी–१२ नगरपालिकाको छैठौँ बालमैत्री वडा बनेको छ। नगरपालिकाले २०८२ चैत मसान्तभित्र सम्पूर्ण गोदावरीलाई बालमैत्री नगर घोषणा गर्ने लक्ष्य लिएको छ।

प्रकाशित मिति: सोमबार, पुस १४, २०८२  १४:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update