News 24 Television
ओखलढुङ्गामा शृङ्खलाबद्ध हत्या र लुटपाट गर्ने गिरोह पक्राउ

ओखलढुङ्गा । ओखलढुङ्गा जिल्लाका विभिन्न स्थानमा एकल महिला र वृद्ध दम्पतीको वीभत्स हत्या गरी लुटपाट मच्चाउने एक खतरनाक गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (CIB), कोशी प्रदेश प्रहरी र जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाको संयुक्त टोलीले चार जना आरोपितलाई विभिन्न स्थानबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगा डिएसपी मदन केसीले जानकारी दिए । 

डिएसपी केसीका अनुसार यस गिरोहले गत असोज २६ गते सिद्धिचरण नगरपालिका–४ चार्खुकी ५२ वर्षीया एकल महिला रत्न कुमारी कटवालको बन्चरो प्रहार गरी हत्या गरेर सुनका गरगहना लुटेको थियो। त्यसको केही महिनापछि, गत पुस १५ गते चिशंखुगढी गाउँपालिका–६ भदौरेमा किराना पसल सञ्चालन गर्ने ६० वर्षीय सोवितमान थापा मगर र उनकी श्रीमती रत्नमाया थापा मगरको कोदालो र अन्य हतियार प्रहार गरी बीभत्स हत्या गरिएको थियो। हत्यापछि शवलाई गोठमा स्याउलाले छोपेर उनीहरूले पसलबाट १ लाख नगद र ६ तोला सुन लुटेका थिए।

प्रहरीले पुस १८ र १९ गते छापा मारी देहायका गिराेहका सदस्यहरूलाई पक्राउ गरेको हाे । पक्राउ पर्नेमा  चिशंखुगढी–३ का मुख्य योजनाकार मानिने संगम राई (२८ वर्ष), चिशंखुगढी–४ का विनोद राई (३० वर्ष), चिशंखुगढी–४ का प्रकाश भुजेल (३० वर्ष) र चिशंखुगढी–८ का अशोक भुजेल (३० वर्ष) रहेका छन् ।

पक्राउ परेकाहरूको साथबाट प्रहरीले हत्यामा प्रयोग भएको बन्चरो, दापसहितको खुकुरी, दुई नाल भरुवा बन्दुक, ४ थान मोबाइल र लुटिएको सुन गालेर बनाइएको रिङ बरामद गरेको छ। साथै, आरोपित विनोद राईको खल्तीबाट लुटिएको रिचार्ज कार्ड समेत फेला परेको छ।

उनीहरूविरुद्ध कर्तव्य ज्यान, डाँका र हातहतियार खरखजाना सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको छ। मुलुकी अपराध संहिताअनुसार क्रूरतापूर्वक ज्यान मारेको कसुरमा उनीहरूलाई जन्म कैद सम्मको सजाय हुन सक्छ। साथै डाँका र हातहतियार मुद्दामा थप कैद र जरिवानाको मागदाबी गरिने प्रहरीले जनाएको छ।

प्रकाशित मिति: आइतबार, पुस २०, २०८२  १८:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update