वीरगञ्ज । वीरगञ्जमा अनिश्चितकालिन निषेधाज्ञा जारी भएपनि विभिन्न ठाउँहरुमा प्रदर्शन जारी छ ।
जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्जमा दुई समुदायबिच बढ्दै गएको प्रदर्शनका कारण सम्भावित घटनालाई मध्य नजर गर्दै निषेधाज्ञा जारी गरेको थियो । वीरगञ्ज महानगरपालिकाको पूर्वमा बसपार्क, पश्चिममा सिर्सिया पुल, उत्तरमा पावर हाउस चोक र दक्षिणमा शंकाराचार्य गेट गरी ४ स्थानमा निषेधाज्ञा लागु भएको भएको पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालद्वारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख छ ।
उक्त क्षेत्रहरुमा भेला, जुलुस, सभा, प्रदर्शन गर्न पाउने छैन् । तर, प्रशासनले लगाएको निषेधाज्ञाको अवज्ञा गर्दै प्रदर्शनकारीहरुले विरोध प्रदर्शन जारी राखेका छन् ।
हिन्दु संगठनका युवाहरुले निषेधाज्ञा तोड्दै वीरगञ्जको मुख्य सडकमा प्रदर्शन भएपछि सुरक्षाकर्मीले सयमित हुन आग्रह गर्दै उनीहरुलाई रोक्न खोज्दा आक्रोशित भिडले प्रहरीहरु माथि ढुंगामुडा प्रहार गरेका थिए । जसकारण सो क्षेत्रमा केहीबेर स्थिति तनावपूर्ण समेत बनेको थियो । यस्तै, वीरगञ्जको छपकैयास्थित ईदगाह चोकमा प्रदर्शनकारीहरुले २ वटा मोटरसाईकलमा आगजनी गरेका छन् ।
यस्तै विभिन्न ठाउँहरुमा प्रहरीले स्थिति नियन्त्रणमा लिन लाठी चार्ज समेत गरेका छन् । वीरगञ्जमा बढ्दै गएको तनावका कारण स्थानीयहरुमा त्रासको वातावरण सृजना भएको छ । निषेधाज्ञा लागु भएपश्चात अहिले वीरगञ्ज बजार सुनसान छ भने स्थानीयहरुको जनजिवन पूर्ण रुपमा प्रभावित भएको छ । अहिले पनि विभिन्न ठाउँहरुमा दुई समुदायले बेग्लाबेग्लै प्रदर्शन गर्ने कार्यलाई जारी राखेका छन् ।
धनुषामा भएको घटनाका विषयलाई लिएर आईतबार मुसलिम समुदायले प्रर्दशन गरेका थिए । त्यस प्रदर्शनको विरोधमा सामबार बिहानदेखी हिन्दु समुदायका युवाहरुले समेत प्रदर्शन गरेका थिए । प्रदर्शनको क्रममा केहीबेर प्रहरी र प्रदर्शनकारीबिच झडप भएको थियो ।
