काठमाडौँ । ललितपुरमा सम्पन्न मैत्रीपूर्ण टेबल टेनिस प्रतियोगितामा रविन्द्र शाक्य र सुरज महर्जन बिजेता बनेका छन् । बाडेगाउँस्थित प्याराडाइज हिल्स रिसोर्टमा सम्पन्न टेबल टेनिस प्रतियोगिताका विजेता शाक्य र महर्जनले ३० हजार नगद पुरस्कार प्राप्त गरेका हुन् ।
त्यस्तै प्रतियोगिताको दोस्रो स्थानमा रहेका सन्जु अवाले र राजिप महर्जनले १५ हजार नगद प्राप्त गर्दा तेस्रो स्थानमा राजिप–सुनिल र एलेन महर्जन–निश्चल थापाले ८ हजार नगद पुरस्कार प्राप्त गरेका हुन् ।

प्याराडाइज हिल्स रिसोर्ट बाडेगाउँ र प्लेटिनम फिटनेस क्लब एकान्तकुना ललितपुरको संयुक्त आयोजनामा सम्पन्न भएको मैत्रीपूर्ण टेबल टेनिसमा २८ टिमबाट ५६ जना खेलाडीले सहभागिता जनाएका थिए । प्रतियोगितामा स्थानीयस्तरका खेलाडीदेखि राष्ट्रियस्तरका महिला तथा पुरुष खेलाडीहरुको समेत सहभागिता रहेको अखिल नेपाल टेबल टेनिस संघका उपाध्यक्ष सुमन खड्कीले जानकारी दिए ।

‘फिटनेस, रमाइलो र मित्रता एकसाथ’ नारा दिइएको मैत्रीपूर्ण टेबल टेनिस प्रतियोगिताले खेलकूद भावना, कल्याण र एकताको भावनालाई एकसाथ ल्याउँने प्रयास स्वरुप प्रतियोगिता गरिएको आयोजकले जनाएको छ । पछिल्लो समय खेलकूद पनि देशलाई चिनाउने एक माध्यम बनेकोले खेलाडीको प्रोत्साहनका लागि समेत प्रतियोगिताले सहयोग पुग्ने विश्वास प्लेटिनम फिटनेस क्लब प्रतिनिधि सचिन प्रधानको भनाइ छ ।

अल नेपाल टेबल टेनिस एसोसिएशनका उपाध्यक्ष पुर्णचन्द्र श्रेष्ठले खेलकूदको माध्यमबाट पनि नेपाललाई विश्वमा चिनाउन सकिने भन्दै राज्यको तर्फबाट पनि खेलाडीहरुलाई साथ सहयोगको आवश्यक रहेको बताए ।
नेपालमा एकातर्फ टेबल टेनिस प्रतियोगिता कमै मात्र हुने गरेका छन् । अर्कोतर्फ टेबल टेनिस खेलको प्रचारप्रसार पनि खासै भएको पाइदैन । यस्तो अवस्थामा विभिन्न संघ संस्थाहरुले आयोजना गर्ने यसप्रकारका प्रतियोगिताले आफूहरुलाई उत्साहित बनाएको प्रतियोगितामा हसभागी खेलाडीहरुले बताएका छन् ।

