काठमाडौँ । बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामा, कार्यकारी निर्देशक मोहनकुमार तामाङ लगायतका पदाधिकारीहरूविरुद्ध बौद्ध तथा मेलम्ची घ्याङ गुठीको जग्गा हिनामिना र अतिक्रमण गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ।
राजगुठीअन्तर्गत रहेको जग्गालाई गैरकानुनी ढंगले समितिको मातहतमा ल्याउन मालपोत र नापी कार्यालय चाबहिलका कर्मचारीलाई दबाब दिएको विषयमा २०८२ माघ १० गते आयोगमा निवेदन दर्ता भएको हो। सोही उजुरीका आधारमा अख्तियारले माघ २५ गते भूमि व्यवस्था मन्त्रालयलाई आवश्यक कारबाहीका लागि पत्र पठाइसकेको छ।
समितिका कार्यकारी निर्देशक तामाङले मालपोत कार्यालयलाई पत्र लेखी साविक बौद्ध–३ को कित्ता नम्बर ४७ र १९० को करिब १८ रोपनीभन्दा बढी जग्गा समितिको नाममा गराउन खोजेपछि विवाद चर्किएको हो। गुठीको स्वामित्वमा रहेको पोखरी र स्तूप क्षेत्रको जग्गालाई सरकारीकरण गरी समितिको कब्जामा ल्याउन खोज्नु अधिकार क्षेत्र बाहिरको कार्य भएको गुठीको ठहर छ। यसका साथै अध्यक्ष लामाको समूहले जग्गा संरक्षणमा सक्रिय रहेका चिनियाँ लामा भूपतिबज्र लामालाई पदबाट हटाउन भूमाफिया र राजनीतिक नेतृत्वसँग मिलेर षड्यन्त्र गरिरहेको आरोपसमेत लगाइएको छ।
अख्तियारमा बुझाइएको निवेदनमा अध्यक्ष लामामाथि धार्मिक र सांस्कृतिक सम्पदाको दोहन गरेको गम्भीर आरोपहरू छन् । उच्च अदालत पाटनको फैसलाविपरीत पर्यटक शुल्क उठाउने, स्तूपको मण्डलामा सर्वसाधारणलाई चढाएर धार्मिक आस्थामा चोट पुर्याउने, बुद्धचित्त माला चोरी गर्ने र गुठीका कर्मचारीमाथि हातपात तथा गालीगलौज गर्ने जस्ता कार्यमा समिति संलग्न रहेको दाबी गरिएको छ। साथै, विश्व सम्पदाको मापदण्डविपरीत स्तूप वरपर कुरूप बोर्डहरू राखेर यसलाई निजी कम्पनीजस्तो बनाउन खोजिएको पनि उल्लेख छ।
पछिल्लो समय अध्यक्ष लामाले काठमाडौँ ६ का वडा अध्यक्ष भुवन लामासँगको मिलेमतोमा मन्त्री र गुठी संस्थानका पदाधिकारीलाई प्रभावमा पारी चिनियाँ लामालाई बर्खास्त गर्न दबाब दिएको समाचार बाहिरिएको छ। राजगुठीको रूपमा रहेको बौद्ध तथा मेलम्ची घ्याङ गुठीको अधिकार क्षेत्रमा पटक-पटक हस्तक्षेप गरी द्वैध शासन चलाउन खोजेको भन्दै स्थानीय र धार्मिक समुदायबाट बौद्ध क्षेत्र विकास समिति नै खारेज गर्न सरकारसँग माग भइरहेको बुझिएको छ।

