सर्लाही । सर्लाहीको ईश्बरपुर नगरपालिकामा “लायन्स क्लब अफ मधेश ईश्वरपुर हेल्पिङ ह्याण्ड”को भव्य रुपमा स्थापना गरिएको छ । “लायन्स क्लब अफ मधेश ईश्वरपुर हेल्पिङ ह्याण्ड”का प्रतिनिधिहरुले सोमवार बाजागाजा सहित बयलबास बजार भरी रयाली समेत गरेको “लायन्स क्लब अफ मधेश ईश्वरपुर हेल्पिङ ह्याण्ड”का सदस्य मुकेश सार्फीले जानकारी दिए ।
ईश्वरपुर नगरपालिका– ६ बयलवासमा सामाजिक सेवाको भावना अभिवृद्धि गर्ने उद्देश्यले लायन्स क्लबको औपचारिक स्थापना गरिएको सार्फीले बताए ।
क्लबले स्थानीय स्तरमा सेवा, सहयोग र जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्ने लक्ष्यका साथ आफ्नो औपचारिक यात्रा प्रारम्भ गरेको हो । उक्त औपचारिक घोषणा कार्यक्रम बयलवासस्थित गल्ला व्यापार संघको भवनमा एक विशेष समारोहका बीच सम्पन्न गरिएको छ ।
कार्यक्रममा लाइन्स कल्ब इन्टरनेस्नल अन्तर्गतको डिष्ट्रिक ३२५ एच का एरिया को–अर्डिनेटर राजकुमार न्यौपानेले क्लब स्थापनाको औपचारिक जानकारी गराउँदै लायन्स अभियानको मूल उद्देश्यबारे प्रकाश पारे । उनले लायन्स क्लबले विश्वभर मानव सेवा, विपद् राहत, स्वास्थ्य, शिक्षा तथा वातावरण संरक्षणका क्षेत्रमा निरन्तर योगदान पुर्याउँदै आएको उल्लेख गर्दै ईश्वरपुरमा स्थापना भएको यस क्लबले पनि ती क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

नवगठित क्लबको अध्यक्षमा डा. आलोक कुशवाहा चयन भएका छन् । उनको नेतृत्वमा क्लबले आगामी दिनहरूमा विभिन्न सामाजिक तथा मानवीय कार्यक्रमहरू सञ्चालन गर्ने योजना अघि सारेको छ । क्लबमा अन्य पदाधिकारी तथा सदस्यहरू पनि समावेश गरिएका छन्, जसले सामूहिक रूपमा समाजसेवामा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे । अध्यक्ष कुशवाहाले आफ्नो मन्तव्यका क्रममा क्लबलाई पारदर्शी, उत्तरदायी तथा परिणाममुखी ढंगले सञ्चालन गरिने बताउँदै स्थानीय समुदायको आवश्यकता पहिचान गरी लक्षित कार्यक्रमहरू सञ्चालन गरिने जानकारी दिए।
लायन्स क्लब अफ लालबन्दी सिटीलाई 'मातृ संस्था' मानेर आयोजित उक्त कार्यक्रममा डिष्ट्रिक्ट गभर्नर रवीन्द्रबहादुर प्रधान र ईश्वरपुर नगरपालिकाका प्रमुख मनोजकुमार आचार्यको विशेष उपस्थिति थियो। प्रमुख अतिथि प्रधानले नयाँ क्लबको स्थापनाले स्थानीय स्तरमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्नुभयो भने नगर प्रमुख आचार्यले शिक्षा, स्वास्थ्य र विपद् व्यवस्थापनमा सामाजिक संस्था र स्थानीय सरकारबीचको सहकार्य अपरिहार्य रहेको बताए ।

नवगठित क्लबले आगामी दिनमा स्वास्थ्य शिविर, निःशुल्क आँखा परीक्षण, रक्तदान, र विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्ने जस्ता सेवामुखी योजनाहरू अघि सारेको छ। यसका साथै वातावरण संरक्षणका लागि वृक्षारोपण, सरसफाइ अभियान र महिला सशक्तीकरणका क्षेत्रमा समेत सक्रिय भूमिका खेल्ने लक्ष्य राखिएको छ।
यो क्लबले विपद्को समयमा राहत तथा उद्धार कार्यमा जुट्नुका साथै स्थानीय युवाहरूलाई स्वयंसेवकको रूपमा परिचालन गरी उनीहरूमा नेतृत्व विकास र सामाजिक उत्तरदायित्वको भावना जगाउने अपेक्षा गरिएको छ। समग्रमा, ईश्वरपुर क्षेत्रको सामाजिक विकास र मानव सेवामा यो संस्थाको स्थापनालाई एक महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।
