काठमाडौँ । जेनजी शहीद परिवार कल्याणकारी समाजले २०८२ भदौ २३ र २४ गते भएको ७६ जनाको ज्यान लिने दमनकारी घटनाका दोषीहरूलाई कारबाही गर्न माग गरेको छ। समाजले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै गौरीबहादुर कार्कीको नेतृत्वमा गठित उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदनका आधारमा दोषी ठहर भएकाहरूलाई यथाशीघ्र कानुनी दायरामा ल्याउन सरकार समक्ष जोडदार माग गरेको हो।
विज्ञप्तिमा तत्कालीन प्रधानमन्त्री के.पी. शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक लगायतका व्यक्तिहरूको समर्थनमा सडकमा अराजकता फैलाउन खोज्ने तत्वहरूको घोर भर्त्सना गरिएको छ। भ्रष्टाचार र हत्यामा संलग्न दोषीहरूलाई संरक्षण गर्ने प्रयास नगर्न र उनीहरूलाई आजीवन कारावासको सजाय दिन समेत समाजले आग्रह गरेको छ।
शहीद परिवारहरूले सरकारले चालेको पछिल्लो कदम र दोषीहरूको पक्राउलाई पूर्ण समर्थन गर्दै सुशासनका पक्षमा सधैँ खबरदारी गरिरहने प्रतिबद्धता जनाएका छन्। समाजका अध्यक्ष नारायण श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तिमा देशप्रेमी नेपालीहरूलाई अपराधीका पक्षमा अराजकता फैलाउनेहरूको सशक्त प्रतिकार गर्न समेत आह्वान गरिएको छ।
हेर्नुस् विज्ञप्ती-

