News 24 Television
एनआरएनए पोर्चुगलद्वारा सामाजिक तथा सहयोगमूलक कार्यक्रम घोषणा

पोर्चुगल । गैरआवासीय नेपाली संघ (एनआरएनए) पोर्चुगलले नेपाली समुदायमा एकता, सहकार्य र पारदर्शिता प्रवर्द्धन गर्दै दीर्घकालीन रूपमा सामाजिक तथा सहयोगमूलक कार्यक्रमहरू विस्तार गर्ने निर्णय गरेको छ। संस्थाले समुदायभित्र जिम्मेवार सहभागिता बढाउँदै नेपालीहरूको साझा हितमा केन्द्रित गतिविधिहरू अघि बढाउने जनाएको छ।

संस्थाले पछिल्ला दिनहरूमा सामाजिक सञ्जालको दुरुपयोग, भ्रामक सामग्रीको प्रकाशन तथा समुदायमा नकारात्मक र निरुत्साहजनक सन्देशहरूको प्रसार बढ्दै गएकोप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ। यस्ता गतिविधिले आपसी असमझदारी बढाउने भएकाले सम्बन्धित पक्षहरूसँग समन्वय गर्दै आवश्यक कदम चालिने प्रतिबद्धता व्यक्त गरिएको छ।

एनआरएनए पोर्चुगलले प्रारम्भिक चरणमा समुदाय लक्षित केही सेवा तथा सहयोग कार्यक्रमहरू सुरु गर्ने जनाएको छ। संस्थाका अनुसार सदस्यताको आधारमा आकस्मिक निधनको अवस्थामा आर्थिक सहयोग उपलब्ध गराइनेछ, जसले अनावश्यक चन्दा संकलनको दबाब कम गर्दै समान रूपमा सहायता वितरणमा मद्दत गर्ने अपेक्षा गरिएको छ।

त्यस्तै, नेपालका दुर्गम क्षेत्रका दुई जना विद्यार्थीलाई कक्षा ५ सम्म आवश्यक शैक्षिक सामग्री निःशुल्क उपलब्ध गराउने योजना अघि सारिएको छ। पोर्चुगलमा कठिन परिस्थितिमा रहेका तथा एकल रूपमा बालबच्चा हुर्काइरहेका महिलाहरूलाई अवस्था मूल्याङ्कनका आधारमा खाद्यान्न र आवश्यक सहयोग प्रदान गरिने पनि संस्थाले जनाएको छ।

यसैगरी, आप्रवासनसम्बन्धी विषयमा परामर्शका लागि दक्ष कानुनी सल्लाहकारको व्यवस्था गरिने र अनधिकृत माध्यमबाट हुने ठगी तथा जालसाजीबाट समुदायलाई सचेत गराइने बताइएको छ। साथै, एआईएमए सम्बन्धी समस्यामा परेका नेपालीहरूलाई लक्षित गरी अन्तरक्रियात्मक छलफल तथा परामर्श कार्यक्रम सञ्चालन गर्ने तयारी पनि गरिएको छ।

संस्थाले समुदायका सदस्यहरूलाई रचनात्मक सुझावहरू इमेलमार्फत पठाउन र इच्छुक व्यक्तिहरूलाई सदस्यता लिन आह्वान गरेको छ। अध्यक्ष तथा सचिवालय सुजन लामा मोक्तानद्वारा जारी उक्त सूचनामा सम्पूर्ण नेपाली समुदायलाई एकताबद्ध भई संस्थागत प्रयासलाई सफल बनाउन आग्रह गरिएको छ ।

प्रकाशित मिति: बिहीबार, चैत १९, २०८२  १६:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update