News 24 Television
इलाममा वर्सेनि ठूला फुटबल खेल, प्यारापिट भने सँधै बाँसकै कामचलाउ !

इलाम । इलाममा बर्षेनी ठूला फुटबल प्रतियोगिता हुन्छन् । प्रतियोगितामा करोडौँकोे कारोबार हुने गरेको छ । तर आयोजकलाई दर्शक राख्न अस्थायी प्यारापिट निर्माणमा भने ठूलो भार हुने गरेको छ । 
 
इलाममा वार्षिक रुपमा ठुला फुटबल प्रतियोगिता हुने गर्दछन् । एउटा संस्करणमा करोड माथिकै कारोबार पनि हुने गरेको छ । तर खेलमैदानमा भने दर्शकलाई राख्ने प्यारापिट सँधै अस्थायी हुँदा दर्शकले जोखिम मोलेर खेल नियाल्नु पर्ने बाध्यता छ । 

माईभ्याली गोल्डकपको सातौँ संस्करणसम्म हुँदा पनि सोही अवस्था थियो । हाल सञ्चालन भइरहेको इलाम गोल्डकपको तेस्रो संस्करण र महिला गोल्डकपको दोस्रो संस्करणमा पनि सँधै अस्थायी प्यारापिटमा नै दर्शक बस्नु पर्ने बाध्यता हटेको छैन । विगतका वर्ष झैँ यस वर्ष पनि अन्तर्राष्ट्रिय आमन्त्रण इलाम गोल्डकप हेर्ने दर्शकहरू अस्थायी रूपमा बाँसबाट बनाइएको प्यारापिटमा बसेर खेलको मजा नियालीरहेका छन् । 

खेलप्रेमीहरुको उल्लेखनीय सहभागिता हुने इलाम गोल्डकप हेर्ने दर्शकहरूले विगतमा झैँ यस वर्ष पनि बाँसको प्यारापिटमा बस्नु पर्ने बाध्यता हटेको छैन ।

बाँसको प्यारापिट नै यति महंगो छ कि एक संस्करणमा आयोजकको १४ लाख माथी खर्च हुन्छ । बाँसको प्यारापिट छ, तर पानी आउँदा ओतिने ठाउँ छैन । मैदानको अवस्था सुधार भएपनि दर्शकका लागि भने विगत झैँ लाखौ खर्चिएर बाँसको प्यारापिट निर्माण गर्दै आएको आयोजकको भनाइ छ । 

प्रतियोगिता सञ्चालन हुने ठूलो टुँडिखेल नेपाली सेनाको स्वामित्वमा छ । सोही कारण पनि स्थायी प्यारापिट निर्माण हुन सकेको छैन । नेपाल सरकारबाट यसअघि एक करोड रुपैयाँ रकम आए पनि पनि ५० लाखको मात्र काम भएर अन्य रकम फर्किएको थियो । 

हाल इलाममा सञ्चालित प्रतियोगितामा मलेसिया सहित नेपालका गरी ८ टिमको सहभागिता रहेको छ । बाँसको प्यारापिट निर्माणमा वर्षेनी खर्च गर्ने रकम बचाउने गरि स्थायी प्यारापिट निर्माणमा सरकारको ध्यान जान जरुरी छ ।

प्रकाशित मिति: शनिबार, वैशाख १२, २०८३  ०८:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update