काठमाडौँ । नेपालको राजनीतिमा लामो समय सत्ता र शक्तिको केन्द्रमा रहेका नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ पछिल्लो समय निरन्तर किनारतर्फ धकेलिँदै गएका छन् । गत फागुनको प्रतिनिधि सभा निर्वाचनअघि झण्डै दुई दर्जन दल र विभिन्न शक्ति समूहलाई एक ठाउँमा मिलाएर नेकपा गठन गर्दा प्रचण्डको हुँकार निकै ठूलो थियो, र उनी पुनः सत्ताको नेतृत्वमा फर्कनेमा विश्वस्त थिए । तर, नयाँ र लोकप्रियतावादी शक्ति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति देखिएको अभूतपूर्व जनलहरले गर्दा पुराना दलहरू अचानक किनारामा धकेलिए । विभिन्न दल तथा समूह गरी २५ घटक जोड्दा पनि नेकपा मात्र ८ लाख ११ हजार मतसहित १७ सिटमा खुम्चिँदै चौथो शक्तिमा सीमित भयो । करिब दुई तिहाई सिट जितेर रास्वपा पहिलो दल बनी सत्ता सञ्चालनको तहमा पुगेपछि पुराना खेलाडीहरूमध्ये भाग्यले संसदमा जोगिएका प्रचण्ड अहिले फेरि गुमेको साख फिर्ता ल्याउने अन्तिम रणनीतिक प्रयत्नमा जुटेका छन् ।
शक्ति र सत्ताको मूल राजनीतिबाट किनारा लागेपछि प्रचण्डले सामाजिक सञ्जाल, डिजिटल अल्गोरिदम र नयाँ शक्तिहरूप्रति कडा आक्रोश पोख्न थालेका छन् । नयाँ राजनीतिक शक्तिहरूलाई ‘साम्राज्यवादी अमेरिकी दलाल’ को संज्ञा दिँदै उनले विगत ३५ वर्षमा पुराना दल र नेताहरूले केही पनि गरेनन् भन्ने भ्रामक भाष्य निर्माण गरिएको आरोप लगाएका छन् । मध्यपहाडी लोकमार्ग, उत्तर–दक्षिण करिडोर, हुलाकी मार्ग, लोडसेडिङ अन्त्य र १० हजार मेगावाट विद्युत् व्यापारको जग आफ्नै पालामा बसेको दाबी गर्दै उनले पुराना दलहरूको योगदानलाई अवमूल्यन नगर्न चेतावनी दिएका छन् ।
‘नयाँ राजनीतिक परिस्थिति’को दाबी
पेरिसडाँडामा आयोजित दुई महिने ‘राष्ट्रिय जागरण अभियान’ (कात्तिक ७ देखि मंसिर २५ सम्म) को उद्घाटन शनिबार गर्दै प्रचण्डले जनयुद्धको सुरुआती ६० जनाको संख्या बढेर ६० लाख पुगेको इतिहास स्मरण गराए । इतिहास र विचारको भूमिकालाई अवमूल्यन गरेर अघि बढ्न नसकिने भन्दै उनले निकट भविष्यमै मुलुकमा फेरि नयाँ राजनीतिक परिस्थिति निर्माण हुने दाबी गरेका छन् । उनको यो भनाइको आशयले फेरि पनि आफू सत्ता र शक्तिमा फर्कने दिन आउने छ भन्ने विश्वास देखाउँछ । आगामी स्थानीय तथा प्रदेश सभा निर्वाचनलाई लक्षित गरी चलाइएको यस अभियानमार्फत १५ लाख सदस्य पुर्याउने र जनताका आलोचना सोझै सुन्ने उनको दाबी छ ।
कति पत्याउलान् जनताले ?
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले गगन थापाको नेतृत्वमा १५ औँ महाधिवेशनमार्फत रूपान्तरण र नयाँ पुस्तालाई अवसर दिने सन्देश दिँदा वामपन्थी कित्तामा भने पुरानै नेतृत्व र परम्परागत ढर्रा कायमै छ । २०७९ को चुनावपछि ३२ सिटको ‘जादुई नम्बर’ को आडमा पटक–पटक सत्ता समीकरण फेरेर राजनीतिक चतुरता देखाएका प्रचण्डप्रति जनता र स्वयं आफ्नै विगतका कार्यकर्ताको विश्वास खस्किएको छ । नेकपाका पूर्वनेता महेश्वर दाहालले नेतृत्व र सोच नबदलिएसम्म चलाइने यस्ता अभियानहरू विगतझैँ केवल ‘कर्मकाण्ड’ र ‘राजनीतिक पाखण्ड’ मा मात्र सीमित हुने टिप्पणी गरेका छन् ।
रास्वपाको दुई तिहाइ बहुमतको सरकारविरुद्ध सडक र गाउँबस्तीबाट जनमत सिर्जना गर्ने प्रचण्डको दाउ कत्तिको सफल हुन्छ, त्यो आगामी स्थानीय तह र प्रदेश सभा निर्वाचनको परिणामले देखाउनेछ । तर, कार्यशैली, सोच र स्वयं नेतृत्वमा रूपान्तरण नल्याएसम्म केवल नयाँ दलहरूलाई गाली गरेर र आफ्नै इतिहास भजाएर गुमेको साख फिर्ता ल्याउन प्रचण्डका लागि सोचेजति सहज देखिँदैन ।


