News 24 Television
जयवल्लभ भट्टको 'पुर्खाका पाइला' विमोचित

काठमाडौँ । पाँच दशकभन्दा बढी समय शिक्षण पेसामा समर्पित बैतडीका ९० वर्षीय समाजसेवी तथा सर्जक जयवल्लभ भट्टद्वारा रचित संस्मरणात्मक काव्यकृति ‘पुर्खाका पाइला’ काठमाडौँमा आयोजित एक विशेष समारोहका बीच लोकार्पण गरिएको छ।

अम्बिका भट्टको अध्यक्षतामा सम्पन्न उक्त विमोचन समारोहका प्रमुख अतिथि पूर्वप्रधानमन्त्री झलनाथ खनालले कृति लोकार्पण गर्दै कला र साहित्य साधनाका लागि उमेर कहिल्यै बाधक नबन्ने बताए। ९० वर्षको परिपक्व उमेरमा पनि भट्टले देखाएको अगाध साहित्यिक सक्रियता, सिर्जनशीलता र तन्नेरी जाँगर नयाँ पुस्ताका लागिसमेत अत्यन्त प्रेरणादायी रहेको उनको भनाइ थियो। 

समारोहमा कृतिमाथि मन्तव्य राख्दै प्रा. डा. देवी नेपालले यस काव्यभित्र कविको लामो जीवनयात्राका विविध उकाली–ओराली, भोगाइ र आत्मीय अनुभूतिहरूको जीवन्त आत्मोद्घाटन भएको उल्लेख गरे।

81233917-d649-4496-a512-b562dee4ed6a-1790499936.jpg
त्यसैगरी समीक्षक भुवन निस्तेजले कृतिमा १५औँ–१६औँ शताब्दीका तत्कालीन बैतडी स्वराड गर्खाका भट्ट, चन्द, लुहार लगायतका घरानाहरूको इतिहास समेटिएको र तत्कालीन मुगल शासकहरूको आक्रमणविरुद्ध मध्यकालीन डोटीका राजा हरि शाही र कल्याण चन्दले गरेको प्रतिकारका प्रसंगहरू समेत रहेकाले यो तत्कालीन इतिहास अन्वेषण गर्ने कुञ्जी भएको बताए। पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले पनि शुभकामना सन्देशमार्फत मौखिक परम्परा र स्मृतिलाई पुस्तकमा समेट्ने प्रयासको प्रशंसा गरेका थिए। 

कृतिका संरक्षक, सम्पादक एवं सर्जकका सुपुत्र (प्याब्सन काठमाडौँका अध्यक्ष) नवराज भट्टले यो कृति बुबाको साहित्यिक सिर्जना मात्र नभएर सिङ्गो परिवारका लागि जीवनको संस्कार, आदर्श र अनुशासनको अमूल्य मार्गदर्शक दस्तावेज भएको भावुक विचार व्यक्त गरे। सोही अवसरमा उनले मातापिताको सम्मानमा "नन्दादेवी जयवल्लभ प्रतिष्ठान" स्थापनाको घोषणासमेत गरे।

आफ्नो भनाइ राख्दै वयोवृद्ध सर्जक जयवल्लभ भट्टले यो कृति कुनै व्यावसायिक वा शास्त्रीय दृष्टिकोणभन्दा पनि आफ्नै जीवनका भोगाइ, मधुर संस्मरण र अतीतका पाइलाहरूलाई भावी पुस्ताका लागि छाडिएको सादा स्मृति–प्रयास भएको स्पष्ट पारे।

कोट्देवी विद्यालयका छात्र-छात्राको सांगीतिक तथा सांस्कृतिक प्रस्तुति, सम्मान, अभिनन्दन र रचनावाचनसहित सम्पन्न उक्त कार्यक्रमको सञ्चालन युवाकवि तीर्थराज भट्टले गरेका थिए। 

कुमारी अम्बिका भट्ट तथा शुभकामना प्रकाशन प्रालि, भक्तपुरद्वारा प्रकाशित यस कृतिमा बैतडीको किम्तोली क्षेत्रलाई केन्द्र बनाएर सुदूरपश्चिमको ग्रामीण जीवन, स्थानीय भाषा, संस्कृति, जनश्रुति र केही महत्त्वपूर्ण ऐतिहासिक तस्बिरहरूसमेत समेटिएका छन्।

प्रकाशित मिति: आइतबार, असोज ११, २०८३  १४:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update