News 24 Television
रोपाइँ : माटोको मिठो स्पर्श

"छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला 
बनाई कुलो लगाई पानी आएर गोडौँला।।" 

साहित्यकार दैवज्ञराज न्यौपानेको यो सरल र हृदयस्पर्शी कवितांशले नेपाल एक कृषि प्रधान देश हो भन्ने यथार्थलाई झल्काउँछ। यसले हामी नेपालीको पहिचानको चित्रण गरेको छ। त्यसैले यही पहिचानको जगेर्ना गर्दै र नेपाली किसानको श्रमको सम्मान गर्दै हामी हरेक वर्ष असार १५ को दिन उत्सवको रुपमा धान रोपाइँ मनाउने गर्दछौँ। 

नेपालमा धान रोपाइँको इतिहास निकै प्राचीन रहेको छ। हाम्रो देश परापूर्वकालदेखि नै कृषिप्रधान देशको रूपमा परिचित हुँदै आएको राष्ट्र हो। नेपाल र धान रोपाइँ बीचको सम्बन्ध केवल आर्थिक मात्र नभएर हाम्रो संस्कृति र सभ्यतासँग पनि गहिरो सम्बन्ध रहेको छ। त्यसैले यस परम्परालाई जोगाउन गर्न र कृषिको महत्वलाई उजागर गर्न वि.सं २०६२ सालबाट नेपाल सरकारले औपचारिक रुपमा असार १५ लाई राष्ट्रिय धान दिवसको रुपमा मनाउन थालेको हो। नेपालमा हिमाल, पहाड र तराईमा आ-आफ्नो ठाउँ र परिवेश अनुसार धान रोपाइँ हर्षोल्लासका साथ मनाइने गरिन्छ। 

Ropai-2-1784380599.jpg

गाउँघरमा अर्मपर्म गरी रोपाइँ गरिन्छ। रोपाइँमा बाजाको धुनसँगै बाउसे, रोपार र हली सबैजना काममा जुट्दै रमाइलो गर्छन्। रोपाइँ सकिएपछि दही चिउरा, सेल रोटी, मौसमी फलफुलहरू खाएर आफ्ना थकानहरू बिर्सन्छन्। असार महिनालाई मानो रोपेर मुरी फलाउने महिनाको रूपमा पनि लिइन्छ। हिलाम्मे खेतमा बाउसे, रोपार र हलीहरू एकआपसमा हिलो छ्यापाछ्याप गरी खेल्दै असारे भाका सुनाएर धान रोप्न व्यस्त हुन्छन्। नेपाली समाजमा आफ्नो गाउँठाउँ अनुसार विभिन्न भाका र लयमा सुख र दुःखका असारे गीतहरू गाइन्छन्। कवि शिरोमणि लेखनाथ पौड्यालको कविता "वर्षाविचार" महाकवि लक्ष्मीप्रसाद देवकोटाको "किसान" कविता र जनकवि केशरी धर्मराज थापाको "हरियो डाँडामाथि हलो जोत्ने साथी" जस्ता रचनाहरूले पुस्तौँपुस्तासम्म हाम्रो संस्कृतिलाई बचाइराख्न राख्न सहयोग पुर्या एको छ। 

आधुनिक जीवनशैलीलाई पछ्याउँदा पछ्याउँदै आजको हाम्रो पुस्ता आफ्नो मौलिक पहिचान, संस्कृति र जीवनशैलीबाट टाढा हुँदै गएको पाइन्छ। हामीमध्ये कतिपयलाई त कृषि र रोपाइँसँग जोडिएका आधारभूत कुराहरु थाहा हुन छाडिसकेको छ। त्यसैले हाम्रो विद्यालय बृहस्पति विद्यासदनले कक्षा ११ र १२ का विद्यार्थीहरूलाई आफ्नो माटो र संस्कृतिसँग परिचित गराउनका लागि ललितपुरको ठेचोस्थित एग्री स्टुडियोमा एक दिने धान रोपाइँ कार्यक्रमको लागि २०८३ असार २६ गतेका दिन लगेको थियो। 

Ropai-4-1784380595.jpg
हाम्रो विद्यालय बृहस्पति विद्यासदनको समूहसँगै उक्त ठाउँमा जब हामी पुग्यौँ त्यहाँको हरियाली र ठाउँठाउँमा खेतका चक्ला र आली देखेर मेरो मन प्रफुल्लित भयो। मेरा साथीभाइहरू रोपाइँ गर्न भनेर हिलाम्मे खेतमा पसेको देख्दा मेरो मनमा पनि कौतुहलता जाग्यो र मैले मेरो मन थाम्न सकिन र हतपत त्यो हिलोमा धान रोप्नका लागि म पनि पसिहालेँ। जुत्ता फुकालेर जब मैले पहिलो पटक त्यो चिसो पानीले भरिएको खेतमा टेके तब मेरो मनमा एउटा भावना जाग्यो। यो त्यही माटो हो जसमा हाम्रा पुर्खाहरूले पुस्तौँदेखि आफ्नो पसिना बगाउँदै आएका हुन्। यही माटो नै हाम्रो अस्तित्वको आधार हो। यस्ता संस्कृति र परम्परालाई हामीले बिर्सिसकेका थियौँ र यसलाई नजिकैबाट नियाल्न पाउँदा एउटा ठूलो सन्तुष्टि प्राप्त भयो। 

रोपाइँ गर्नुअघि त्यो हिलोमा हामीले भकुण्डो खेल्यौँ र एकआपसमा हिलो छ्यापाछ्याप पनि गर्यौँ । यही क्रममा हामीहरु हिलोमा लड्यौँ पनि। त्यसपछि हामी रोपाइँ गर्ने कर्मतिर लाग्यौँ। जुन खेतमा केहीबेर अघिसम्म मात्र हामी साथीभाइहरू मिलेर हिलो छ्यापाछ्याप गर्दै रमाइलो गरिरहेका थियौँ, त्यही खेतमा अब भने हामी अलि होसियार भएर रोपार र बाउसेका जिम्मेवारी लिएर धान रोप्न व्यस्त भयौँ। यही क्रममा केही साथीहरू खेतमा उम्रेका अनावश्यक झारपातहरूलाई दाँते र कोदालोको सहायताले उखेल्न थाले, केही साथीहरू ब्याडबाट ल्याएर रोप्न तयार पारेका हरिया र कलिला धानका बीउहरू बाँड्न थाले। कोही चाहिँ रोपार बनेर हातमा धानको बिउ समाउँदै लहरै छुपुछुपु हिलोमा धान रोप्न थाले। त्यस ठाउँका अनुभवी व्यक्ति तथा हामीसँग जानुभएका शिक्षकशिक्षिकाले पनि हामीलाई रोप्ने तरिका सिकाउनुभयो। 

Ropai-5-1784380595.jpg
हामीलाई धान रोप्नका लागि समय ताकिएको थियो र रोप्ने क्रममा समय गएको अत्तोपत्तो नै भएन। चारैतिर हरियालीले घेरिएको त्यो हिलाम्मे खेतबाट हामीलाई निस्कन मनै थिएन। त्यसैले केहीबेर अझै रोपेर मात्र हामीहरू बाहिर आयौँ। त्यसपछि हातगोडा पखालेर सफा भएर खाना खानको लागि भान्सा घरतर्फ लाग्यौँ। त्यही खेतबारीमा उब्जनी भएका स्थानीय र रैथाने परिकारहरू पकाइएका थिए। हामी थाकेर लखतरान भएका थियौँ र त्यहाँ पाकेका स्वादिष्ट पोसिलो नेपाली पकवानहरू खाँदा त हाम्रा थकान मेटिएको थाहा नै भएन। त्यसपछि यस्तो विशेष दिनको सम्झना सङ्गालेर राख्नका लागि हामीले फोटा र भिडियोहरू पनि खिच्यौँ, जसले हाम्रो यो रमाइलो र विशेष क्षणलाई सधैँका लागि क्यामेरामा कैद गरिदियो। 

रोपाइँको यो विशेष क्षणमा एग्री स्टुडियोमा बिताएको समय मेरा लागि अविस्मरणीय रह्यो। त्यहाँ गएर रोपाइँ गर्दा हामीलाई त हाम्रो मौलिक जीवनशैली र संस्कृति कति सुन्दर रहेछ भन्ने कुराको महसुस भयो।  किसानको जीवन कर्मलाई एकै क्षणका लागि भए पनि अनुभव गर्ने मौका प्राप्त भयो। हिलोमा टेकिएका हाम्रा ती पाइलाहरु केवल धानका बेर्ना रोप्ने पाइला मात्रै थिएनन्, ती त आफ्नै माटो, संस्कृति र पुर्खाको जीवनपद्धतिसँग जोडिन खोज्ने पाइला पनि थिए। आज हामी आधुनिकतातर्फको यात्रामा अगाडि बढ्दै गएका छौँ, जुन आवश्यक पनि हो। तर यस यात्रामा आफ्नै मौलिक मूल्य, संस्कति र परम्परा बिर्सिनु उचित हुँदैन भन्ने कुरा यस अनुभवले मलाई सिकायो। 

विद्यार्थीलाई पाठ्यपुस्तकका पानामा मात्र सीमित नराखी जीवन, समाज, संस्कृति र प्रकृतिसँग प्रत्यक्ष साक्षात्कार गराउने यस्ता सिर्जनात्मक कार्यक्रम आयोजना गरेकोमा बृहस्पति विद्यासदनप्रति म आभारी छु। यस्ता व्यवहारिक सिकाइले विद्यार्थीको ज्ञानलाई मात्र होइन, आफ्नो माटो, संस्कृति र राष्ट्रप्रतिको अपनत्वलाई पनि अझ गहिरो बनाउँछ भन्ने मेरो विश्वास छ। आगामी दिनमा पनि यस्ता अर्थपूर्ण र प्रेरणादायी कार्यक्रमहरूले निरन्तरता पाउनेछन् भन्ने अपेक्षा राखेको छु। जीवन जिउने कला र वास्तविक सन्तुष्टि त प्रकृतिसँग जोडिएको हाम्रो परम्परा पो रहेछ भन्ने आज ज्ञान भयो। यस्तो अवसर पाउनु मेरा लागि सौभाग्यको विषय थियो र यस रोपाइँका ती अविस्मरणीय क्षणहरु मेरो मानसपटलमा मखमली फूलझैँ सधैँ ताजा रहनेछन्। 

(अनुभूति लेखिका बृहस्पति विद्यासदन, नक्सालमा कक्षा १२ मा अध्ययनरत विद्यार्थी हुन्।)

Ropai-1784380594.jpg
 

प्रकाशित मिति: शनिबार, साउन २, २०८३  १९:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update