News 24 Television
समीक्षा : कागजको संरक्षित कुमारीत्व

”फैलियो माया दुबो सरी कहिल्यै घटेन
कहाँ राखूँ ! तिम्रो याद दिलमा अटेन”
कुन उमेर र अभीप्सा भएको मनमा नगुन्जिएको होला र उल्लिखित गीत ! शब्दहरु बान्कीले विभूषित हुँदै समर्पणको रङ्ग भरेर अनमोल वाक्य गठन गरिएको यो गीत जसरी सर्वप्रिय छ उसैगरी परिचित छन्- गीतकार त्रिविक्रम पाण्डे ।

नेपाली साहित्यको हर याम र आयाममा उत्तिकै कलम चलाउन प्रखर दोलखाको सित्का, कालिञ्चोकका सन्तान सर्जक पाण्डेको नाम गुमनाम हुँदै  होइन । पाण्डेको कलममा जादू छ भन्नु अतिशयोक्ति होइन । जब स्रष्टा पाण्डेको मनमा भावनाको प्रसव पीडा हुन्छ, कलमको टुप्पोबाट हठात् अभिधा, व्यञ्जना र लक्षणाको प्रादूर्भाव हुन्छ । हरेक लेखाइमा कालजयी सृजना पस्कन सफल हुन्छन् सर्जक पाण्डे । कल्पना र यथार्थको सङ्गम कुँदेर  हरेक मान्छेकोे दिलमा अनावरण गर्ने कलामा अब्बल  छन् लेखक ।

कर्मचारी सञ्चय कोषलाई आफ्नो कर्मथलो बनाएका पाण्डे आफैमा सभ्य र सौम्य व्यक्तित्व हुन् । न पदीय दम्भ, न परिचित व्यक्तित्व हुनुको घमण्ड । बस् ! कर्मचारी र सर्जकको  दोहोरो भूमिका उृत्तिकै खास वहन गरेका पाण्डेका सिरेटो गीति एल्बम, फैलियो माया दूबोसरि गीति पुस्तक, तृप्त लघु कथा सङ्ग्रह, मन मदानी मुक्तक सङ्ग्रह, अंशियार गीत सङ्ग्रह तथा कागजको कुमारीत्व कविता सङ्ग्रह प्रकाशित छन् भने प्रश्नहरुको अवसान लघुकथा सङ्ग्रह, जागिर एक परिवेश अनेक संस्मरणलगायत कृतिहरु प्रकाशनको हाराहारी छन् ।

कागजको कुमारीत्व तब लुटिन्छ जब अर्थहीन शब्दहरुको छेप्यास्रले सादा कागजमा बारम्बार प्रहार गरिन्छ र कान्तिहीन पारिन्छ कागजको सौन्दर्य । ललित शब्द पुञ्जको बान्किलो प्रस्तुतिले जब कागजका पाना पूरै भरिन्छ तब कागजको सौन्दर्य खुल्छ  र उसको कुमारीत्व संरक्षित हुन्छ । यस अर्थमा कागजको कुमारीत्व जोगाउने नायक बनेका छन् कवि पाण्डे । 

त्रिविक्रम पाण्डेका जुनसुकै सृजना पढ्दा दिक्क लाग्दैन बरु सिकाइ र उत्सुकताले अझै पढिरहने लगाव बढाउँछ । तिनै मध्येको एक हो कागजको कुमारीत्व । 
“सादा खाली कागजको कुमारीत्व आकर्षित गर्छ
....प्रेयसीको चाहना केही आशा–इच्छाहरु
समुद्रको अथाह भाव लेखिलिऊँ
सादा कागजलाई रङ्गीचङ्गी बनाइदिऊँ ।”

सङ्ग्रहकै नाम राखिएको कागजको कुमारीत्व शीर्षकको कवितामा कवि सादा कागजलाई आफ्नो अनन्य मित्र बनाएर आफ्ना सबै भाव  पोतिदिने रहर गर्छन् ।

थुप्रै कविताहरु छन् यो सङ्ग्रहमा । तर एकै बसाइमा सिद्ध्याउँदा पनि झिँजो मान्दैन मन । बरु अर्को कविताले कुन् प्रसङ्ग कोट्याउँछ होला भन्न्ने कौतुहलताले उत्ताउलो बन्दै जान्छ । उनले शब्द शब्दमा सास भरेका छन् । सरल तर अर्थपूर्ण  भाव पस्केर मान्छेको हृदयको राजधानीमा रजगज गर्न सक्षम भएका छन् कवि यस कविता सङ्ग्रहका कविताहरुमार्फत् ।
“तिमी आफूमा सबै सबलताहरु खोज
कमी कमजोरीहरु खोज्नका लागि त मान्छेहरु छँदै छन्” 

निर्विकल्प सङ्घर्ष शीर्षक कवितामा मान्छेले मान्छेको प्रशंसा गर्नभन्दा उतार्नी गर्न उदात्त हुन्छ भन्ने इङ्गित गरेका छन् कवि पाण्डेले । 
“म सदैव निर्भीक भई सङ्घर्ष गर्ने छु त्यो ठाउँमा 
जहाँ म निर्दोष हुँदाहुँदै पनि 
मलाई स्वार्थवश दोषी करार गरिने छ ...”

त्यस्तै कागजको कुमारीत्वभित्रको मान्छेहरु शीर्षकको कवितामा अस्तित्वको लागि सङ्घर्ष गर्न सबै मान्छेमा मनोबल थपी दिएका छन् उनले ।

सङ्ख्यात्मकरुपले धेरै देखिए पनि अत्यासलाग्दा लामा कविताहरु विल्कुल छैनन् । बरु सरल, सटिक, लघु अनि लयात्मक वाक्यांशहरुले झन् पढूँ पढूँ लाग्ने कौतूहल बढाउँछन् ।

कागजको कुमारीत्व तब लुटिन्छ जब अर्थहीन शब्दहरुको छेप्यास्रले सादा कागजमा बारम्बार प्रहार गरिन्छ र कान्तिहीन पारिन्छ कागजको सौन्दर्य । ललित शब्द पुञ्जको बान्किलो प्रस्तुतिले जब कागजका पाना पूरै भरिन्छ तब कागजको सौन्दर्य खुल्छ  र उसको कुमारीत्व संरक्षित हुन्छ । यस अर्थमा कागजको कुमारीत्व जोगाउने नायक बनेका छन् कवि पाण्डे । 

भन्छन् कमजोरी भगवानमा पनि हुन्छ । नघट्नु पर्ने घटना नत्र किन घट्थे ? यद्यपि पाण्डेका सबै रचनाहरु उत्कृष्ट छन्, अब्बल छन् । चन्द्रमामा पनि दाग हुन्छ भन्ने उक्ति चरितार्थ गर्दै स्वाभाविकरुपमा सामान्य परिष्कारको पर्खाइमा रहेका उनका रचनाहरुमा सिङ्गो जगत छ, जीवन छ.....।

नेपाली साहित्य नभमा सादगीको खेती गर्दे उत्कृष्ट सृजनाको फुलबारी सजाउन खप्पिस सर्जक त्रिविक्रम पाण्डेका सबै रचना शब्दमा बखान गरेर न्याय मिल्दैन । हरेक पाठकले हृदयङ्गम गर्ने कुरा हो यो । उनको आगत पनि उत्तिकै सहित्यिक अनि सफल बनोस् । शुभकामना ।

[email protected]

प्रकाशित मिति: सोमबार, असार ८, २०८३  २०:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update