काठमाडौँ । नेपाल वाङ्मय परिषद, धनगढी, कैलालीको आयोजनामा संस्थाका कार्यसमिति सदस्य लक्ष्मीप्रसाद पौडेलको लघुकथा कृति 'प्रश्नोत्तर'को विमोचन गरिएकाे छ । आइतबार काठमाडौंको ग्रीनलिफ रेष्टुरेन्टमा आयोजना गरिएको एक समाराेहमाझ प्रमुख अतिथि वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मीकाे उपस्थितिमा उक्त कृति विमाेचन गरिएकाे हाे ।
संस्थाका अध्यक्ष डा. पुष्करराज भट्टको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा विशिष्ट अतिथिका रुपमा नेपाली लघुकथामा विद्यावारिधि गर्नुभएका डा. हरिप्रसाद भण्डारी एवं हाम्रो लघुकथा केन्द्रकी संस्थापक अध्यक्ष लता केसी हुनुहुन्थ्यो । त्यस्तै अतिथिमा साझा प्रकाशनका सञ्चालक सदस्य मनोहर लामिछाने, वरिष्ठ लघुकथाकार हरि थापा, वरिष्ठ साहित्यकार डा. अमर शाह, मधुपर्कका सम्पादक दीपक श्रेष्ठ, वरिष्ठ साहित्यकार डा. नवराज रिजाल हुनुहुन्थ्यो ।
विमोचन समारोहमा डा. शेखरकुमार श्रेष्ठ एवं शेखर अर्यालले कृतिका विविध पक्षमाथि प्रकाश पार्नुभएको थियो । विमोचन समारोहमा मनोहर लामिछाने, हरि थापा, डा. नवराज रिजाल, दीपक लोहनी एवं कृतिका प्रकाशक भूँडीपुराण प्रकाशनका केशव पराजुलीले शुभकामना व्यक्त गर्नुभएको थियो । कृतिकार लक्ष्मीप्रसाद पौडेलले कृतिको लेखनगत सन्दर्भ एवं आफ्ना सिर्जनात्मक अभिव्यक्ति दिनुभएको थियो ।
विमोचन समारोहमा महेन्द्र न्यौपाने, ध्रुवराज थापा, प्रार्थना खनाल, शान्ता तिमिल्सिनाले विमोचित कृतिबाट लघुकथा वाचन गर्नुभएको थियो । वन्दना घिमिरेको सञ्चालनमा सम्पन्न कार्यक्रममा विशिष्ट अतिथिद्वय लता केसी एव डा.हरिप्रसाद भण्डारीका साथै प्रमुख अतिथि ध्रुव मधिकर्मीले आफ्ना विचार राख्नुभएको थियो ।
कार्यक्रममा लेखक लक्ष्मीप्रसाद पौडेलका पारिवारिक सदस्यका साथै ५० जना साहित्यकारको उपस्थिति थियो ।
