News 24 Television
गगनविरुद्ध हाबी हुँदै देउवा, संघर्ष अझै उत्कर्षमा

काठमाडौँ । पछिल्लो समय काँग्रेसको विवाद चुलिँदै जाँदा पूर्वसभापति शेरबहादुर देउवा पक्ष थप शक्तिशाली बन्दै गएको छ । दुई पक्षिय संघर्ष जारी रहँदा देउवा पक्षले यही मंसिर २१ गतेदेखि काठमाडौंमा १५औँ महाधिवेनशन सम्पन्न गर्दैछ । यस्तोमा देउवा पक्षले सबै प्रदेशको अधिवेशन जारी राखेको छ ।

हालसम्म काँग्रेस देउवा पक्षले गण्डकी र लुम्बिनीको  अधिवेशन भव्य रुपमा सम्पन्न गरेको छ । यस्तै देउवा पक्षले मङ्सिर १३ र १४ गते कर्णाली प्रदेशको अधिवेशन गर्दैछ । यसका लागि वीरेन्द्रनगरमा भव्य तयारी भइरहँदा देउवा मंसिर १२ गते नै सुर्खेत पुग्ने भएका छन् । उक्त हाधिवेशनमा देउवा पक्षले २५ सय कार्यकर्ता उतार्ने योजना बनाएको छ भने यो अधिवेशनमा  कर्णालीका १ हजार २०० प्रतिनिधि सहभागी हुनेछन् ।

कारवाही चेतावनी र गगनमाथि प्रतिप्रश्न 

गगन थापाले केन्द्रीय कमिटिको बैठकमा सम्बोधन गर्दै गत मंगलबार देउवा पक्षमा लागेका राष्ट्रियसभा सदस्य, प्रदेशसभा सदस्य तथा स्थानीय तहका जानप्रतिनिधिमाथि कारवाही हुने चेतावनी दिएका थिए । उनले निर्वाचन आयोग र अदालतबाटै काँग्रेसको आधिकारिकता  आफ्नो पक्षमा आइसकेको दावी गर्दै रुख चिन्हबाट निर्वाचन जितेका उम्मेदवारहरुमाथि उक्त चेतावनी दिएको देखिन्छ । तर यो चेतावनीमाथि भने देउवा पक्षका जनप्रतिनिधिले प्रतिप्रश्न उठाएका छन् । यो पक्षले उक्त मुद्धा विचाराधीन रहकोे तथा गगनलाई दिइएको आधिकारिकतामै प्रश्न रहँदा आफूहरुमाथि कारवाही चाल्न कठिन हुने निश्कर्ष निकालेको छ । 

देउवा पक्षले आफूहरुमाथि कारवाही गर्ने ल्याकत गगनसँग कानूनी रुपमै नरहेको भन्दै कारवाही गरेर देखाउन चुनौती दिइरहेका छन् । उता गगन पक्ष भने निर्वाचन आयोगकै अनुसार पार्टी आधिकारिकता अन्यमा जान नहुने जिकिर गर्छ । 

यस्तोमा पछिल्लो समय देउवा पक्ष सांगठानिक र कार्यकर्ता तहमा पनि थप बलियो बनेको तथा गगन पक्ष रक्षात्मक अवस्थामा पुगेको विश्लेषण हुन थालेका छन् । 

किन बलियो बन्दैछ देउवा पक्ष ?

दुई पक्षिय राजनीतिक र कानूनी संघर्षमा देउवा पक्षले गगनविरुद्ध हावी हुँदै जानुमा पछिल्ला केही विकसित तथा परिवर्तित घटनाक्रमहरु प्रमुख कारकको रुपमा रहेको देखिन्छ । जुन विषयलाई यसरी हेरौँ–

**गगन थापामाथिको १८ करोड बुझाएको आरोप 

प्रहरी नियन्त्रणमा रहेका इनम सापकोटाले दिएको वयानमा गगन थापामाथि आरोपित गर्दै पार्टी आधिकारिकता दिलाउन १८ करोड रकम निर्वाचन आयोगमा बुझाएको विषयले देउवा पक्ष थप बलियो बनेको देखिन्छ । यो आरोपको तथ्य र आधार अनुसन्धानको विषय नै बनिरहेको बेला उक्त रकम गगनले बुझाएकै हुन त ? भन्ने प्रश्नले गगनमाथि नैतिक दबाव बढाउँदा देउवा पक्षलाई केही फाइदा भएको प्रष्ट छ । 

**अदालतको निस्सा आदेश

देउवा पक्षले गगन थापालाई आधिकारिकाता दिन गरेको फैसला पुनरावलोकन गर्न सर्वोच्चले निस्सा आदेश गरेपछि पनि देउवा पक्ष थप हौसिँएको छ भने, यो समूहलाई थप मनोबल बढाएको छ । अदालतले उक्त मुद्धामाथि पुनरविचार गर्ने निर्णय गर्दा अबको फैसला देउवा पक्षमा आउनसक्ने अनुमानबीच गगन कमजोर बनेका छन् । 

**गगन पक्षमै लागेका नेताहरु बिचलित हुनु 

फागुन २१ को निर्वाचनमा गगन थापाकै हस्ताक्षरमा टिकट लिएर चुनाव लडेका विमलेन्द्र निधि, शेखर कोइराला, प्रकाशशरण महतलगायत नेताहरू देउवा पक्षमा लागेर राजनीतिक सक्रियता देखाइरँदा गगन कमजोर बन्दैछन् भने, देउवा पक्ष थप बलियो भएको प्रष्ट छ । 

**देउवा पक्षप्रति सत्ताको झुकाव 

सत्तारुढ दल रास्वपाले पनि अहिलेका लागि गगन थापालाई राजनीतिक रुपमा चुनौतीकोरुपमा हेर्ने गरेको छ । विगतमा गगन थापासँगै टकराव मच्चाएका रवि लामिछानेले फेरि उनैलाई राजनीतिक प्रतिस्पर्धी बनाउँलान् भन्ने विश्लेषण गर्न सकिने अवस्था छैन । यस्तोमा देउवा पक्षले नै पार्टी आधिकारिकता पाएको अवस्थामा राजनीतिक अनुकुलन हुने रास्वपाको विश्लेषण छ । जुन कारण पनि अहिले काँग्रेसको आधिकारिकता गगन पक्षमा जाओस् भन्ने पक्षमा सत्ताकदापी देखिँदैन । यो आधारले पनि सत्ता पक्ष काँग्रेसको आधिकारिकता देउवा पक्षमा जाओस् भन्ने मनस्थितिमा छ । यसले देउवा पक्ष थप बलियो हुने अवस्था बनेको छ भने, गगन कमजोर बनेका छन् ।
 
यसरी पछिल्लो समय देउवा पक्ष थप उत्साहित र शक्तिशाली भएपनि पार्टीको वैधानिकता कस्को पक्षमा पर्ने भन्ने अन्तिम फैसला अदालतको निर्णयमै भर पर्नेछ । तर वर्तमान अवस्थामा शेरबहादुर देउवा र गगन थापाबीचको पार्टी आधिकारिकता खोस्ने र कायम राख्ने राजनीतिक प्रतिस्पर्धा थप उत्कर्षमा पुगेको देखिन्छ । 
 

प्रकाशित मिति: बिहीबार, मंसिर १०, २०८३  १९:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update