News 24 Television
तराईमा आज पनि होली मनाइँदै

काठमाडौं ।  तराईका जिल्लामा आज हर्षोल्लासपूर्वक होली पर्व मनाईंदैछ । तराईका बासिन्दाको बसोबास रहेका काठमाण्डौ उपत्यकासहित पहाडी क्षेत्रका कतिपय ठाउँमा आज पनि होलीको रौनक छ । होलीमा परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ । 

होली पर्वको अवसरमा सरकारले आज तराईका जिल्लाहरुमा विदा दिएको छ । प्रहरीले होली पर्वलाई मर्यादित, सुरक्षित र शान्तिपूर्ण बनाउन अनुरोध गरेको छ । 

केन्द्रीय प्रहरी प्रवक्ता भीमप्रसाद ढकालले आइतबारदेखि मंगलबारसम्मका लागि देशभर झण्डै ३० हजार प्रहरी जनशक्ति होलीकै सुरक्षाको लागि परिचालन गरिएको जानकारी दिए । 

विशेष गरी नेपाल–भारतको सीमा क्षेत्रको सुरक्षामा विशेष कडाइ गरिएको छ । होली पर्व सौहाद्र्धपूर्ण रहोस् भन्ने उद्देश्यसहित विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याइएको प्रहरीले जनाएको छ । 

प्रहरीले ढुक्कसँग मर्यादित भएर होली मनाउन पनि सबैमा आग्रह गरेको छ । यसैबीच ललितपुरको ढोलाहिटीमा होलीमा विवाद हुँदा आइबार राति दुई समूहबीच झडप हुँदा दुईजनाको मृत्यु भएको छ । 

धरान घर भई ढोलाहिटी बस्ने रोवस राई र पाँचथर घर भई खुमलटार बस्ने पूजन राईको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका सूचना अधिकारी एसपी नरेश सुवेदीले जानकारी दिए । 

होली खेलेर सुनकोशी नदीमा नुहाउन जाँदा उदयपुरको त्रियुगा नगरपालिका– १४ साउनेका तीन बालबालिका बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार बेपत्ता हुनेमा  त्रियुगा –१४ साउनेका ११  वर्षीया रेखा मगर, ८ वर्षीय लोकबहादुर मगर र ७ वर्षीय रिदम मगर छन ।

प्रकाशित मिति: सोमबार, चैत १२, २०८०  ०८:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update