News 24 Television
एसईईमा वञ्चित भएकाहरुलाई तत्काल परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित भएका कुनै पनि विद्यार्थीलाई तत्काल परीक्षा दिन पाउने व्यवस्था गर्ने बताएकी छन् । 

फि तिर्न नसकेर पनि कतिपय विद्यार्थीहरुले सो परीक्षा दिन छुटेको चर्चा भइरहेका बेला उनले परीक्षा दिन नपाएका कुनै पनि विद्यार्थीलाई परीक्षामा तत्काल सहभागी गराउने भन्दै सूचना दिन समेत आह्वान गरिन् । 

बुधबार प्रतिनिधि सभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा मन्त्री श्रेष्ठले कुनैपनि विद्यार्थीले कक्षा कोठामा ७५ प्रतिशत सहभागी नभए परीक्षा दिन नपाउने कानूनी व्यवस्था भए पनि सरकारले उनीहरुलाई पनि सो परीक्षामा तत्काल सहभागी गराउन सक्ने स्पष्ट पारिन् । 

‘एसर्ईई परीक्षामा कतिपय विद्यार्थी फि तिर्न नसकेर परीक्षा दिनबाट बञ्चित हुने समाचारको कुरा आएको थियो । यो गम्भीर छ,’ उनले भनिन् ‘यसमा एक्च्युअल कानून कस्तो छ भन्दा कुनै पनि विद्यार्थीले ७५ प्रतिशत पनि कक्षामा उपस्थित भएन भने चाहीँ उहाँहरुले जाँच दिन पाउनुहुन्न । त्यो कानून छ । तर  को विद्यार्थीले यो नपाएको हो ? त्यसको हामीलाई सूचना आयो भने यसमा तुरुन्तै हामी काम गरिहाल्छौँ ।’

मन्त्री श्रेष्ठले त्रिभुवन विश्वविद्यालयको सबै कामलाई सरकारले अनलाईन प्रणालीमा लैजानका लागि टेण्डर आह्वान गरिएको पनि जानकारी दिइन् । उनले भनिन्, ‘म यो निवेदन गर्न चाहन्छु, त्रिविको जतिपनि सिष्टमहरु छ, त्यसलाई डिजिटाईज गर्नका लागि टेन्डर प्रक्रिया अघि बढिसकेको छ । त्यसमा काम भईसकेको छ ।’
 

प्रकाशित मिति: बुधबार, चैत २१, २०८०  १६:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update