News 24 Television
पशुपतिमा अराजकता, अनधिकृत संरचना धमाधम बन्दै

काठमाडौँ । विश्व सम्पदा क्षेत्रमा सूचीकृत पशुपतिनाथ क्षेत्र कंक्रिटले भरिँदै गएको छ । पशुपतिनाथ मन्दिर वरपर मात्र नभइ पशुपति क्षेत्रभित्र पर्ने वनजंगल पनि कंक्रिटले भरिन थालेका छन् । यसरी हरेक क्षेत्रमा कंक्रिटको प्रयोग बढ्दै जान थालेपछि पशुपतिको अस्तित्व नै खतरामा पर्न थालेको छ । तर पनि, यसमा सम्बन्धित कसैको पनि गम्भिरता देखिएको छैन । 

पशुपतिनाथको इतिहास जति लामो छ, अहिले त्यस क्षेत्रमा उत्पन्न विवादको फेहरिस्त पनि लामो बन्दै गएको छ । भत्किएका सम्पदाको पुनःनिर्माणमा कंक्रिटको प्रयोग गर्दा पशुपतिनाथ क्षेत्र पटकपटक विवादमा तानिने गरेको छ । स्थानीय, सम्पदा संरक्षण अभियन्ताहरुले संपदाक्षेत्रमा गरिने मनपरिको विरोध पनि गर्ने गरेका छन् । तर न त पशुपति क्षेत्र विकाश कोषलाई, न सम्बन्धित अन्य निकायलाई यो विषयमा मतलब छ । 

पशुपतिमा नेपालकै प्राचीन स्मारक संरक्षण ऐन र विश्व सम्पदाको मापदण्ड विपरित काम भइराख्दा पनि कोषले रोक्नका लागि केही कदम चालेको छैन । पशुपतिमा कुनै काम गर्दा पुरातत्व विभाग, विश्व सम्पदा, स्थानीय लगायत सबैको सर्वसम्मतिमा निर्णय गर्नुपर्ने हो । तर त्यसो भएको पाइदैन । सम्बन्धित निकायहरू पनि एकअर्कालाई दोषारोपण गर्नमा व्यस्त छन् । 

पछिल्लो समय कोषले वनकालीलाई अनावश्यक सौन्दर्यीकरण र अतिक्रमण गरी पशुपति विश्व सम्पदा क्षेत्रलाई क्षयीकरण गरेको छ । गुरुयोजना बन्दाबन्दै स्वेच्छाचारी ढंगले धमाधम निर्माणकार्य भैरहेको छ । यस क्षेत्रमा भएका टहराहरू हटाएर निर्माण कार्य भन्दै कंक्रिटको संरचना बनाइरहेको छ । प्राचीन स्मारक ऐन, २०१३ मा पुरातात्विक वस्तु नष्ट गर्न, भत्काउन, बिरूप पार्न, चोरी गर्न, हटाउन वा परिवर्तन गर्न नपाइने व्यवस्था छ । तर, कोष ऐन विपरित काम गरेको प्रष्ट देखिन्छ । हालसंरचना बनाइदै गरिएको वनकाली क्षेत्र कन्सोन्यान्ट क्षेत्र अन्तर्गत पर्दछ जहाँ कुनै पनि प्रकारको संरचना बनाउन सर्वोच्च अदालतद्वारा नै रोक लगाइएको छ ।

यस विषयमा पुरातत्व विभागले खासै चासो दिएको छैन । यता, अनधिकृत संरचना भत्काउन डोजर लिएर सडकमा निस्किएको काठमाडौ महानगर विश्व सम्पदाको नियम विपरित धमाधम संरचना बन्दा पनि मूकदर्शक बनेको छ ।  

अहिले पशुपति क्षेत्रमा कतै ऐतिहासिक सम्पदाको तला घटाएर पुनर्निर्माण गरिएको छ भने कतै सत्तल भत्काएर मन्दिर बनाइएको छ  र, पुशपतिमा अधिकांश सम्पदा  हेर्ने हो भने कंक्रिटकै पुनर्निर्माण गरिएको देखिन्छ । कंक्रिटको प्रयोगले विश्व सम्पदाको अस्तित्व समाप्त हुनेसँगै विश्व सम्पदा सूचीबाट हट्नसक्ने खतरा बढाएको छ । 

प्रकाशित मिति: बिहीबार, चैत २९, २०८०  १०:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update