News 24 Television
ज्यानमारा डढेलो, करोडौं स्वाह ! (भिडियो)

काठमाडौं । करिब दुई साता यता देशभरका वन क्षेत्रमा जताततै डढेलो लाग्दा र आगलागी समयमै नियन्त्रण हुन नसक्दा मानवीय क्षति भइरहेको छ ।

साथै करोडौं मूल्य बराबरका वनपैदावार नास हुनुका साथै वन्यजन्तु मरेका छन् । तर, स्रोतसाधन र बजेटको अभाव भएको भन्दै डढेलो नियन्त्रणमा सबै जिम्मेवार निकाय उदासीन देखिएका छन् । 

डोल्पाको वनमा लागेको डढेलो निभाउने क्रममा डढेर घाइते भएका नेपाली सेनाका तीनजना र च्याउ टिप्न गएका तीन बालक गरी ६ जनाको ज्यान गयो । यो एकसातको मानवीय क्षतिको उदहारण हो । 

केही दिनयता देशभरका वन क्षेत्रमा जताततै डढेलो लागेको छ । डढेलोले ससाना बिरुवा नष्ट हुन थालेका छन् भने केही राजमार्गमा समेत यात्रा गर्न जोखिम बढेको छ । 

गर्मीयाम सुरु भएसँगै डढेलो फैलिँदै गएको जानकारहरू बताउँछन् । अहिले वन क्षेत्रमा धूवाँको मुस्लो देख्न सकिन्छ । 

भू–संरक्षण विभागको तथ्यांक अनुसार नेपालमा डढेलोका घटनाको अवस्था
dedhelo-1713142408.JPG
डढेलो नियन्त्रणका लागि वन तथा वातावरण मन्त्रालय अन्तर्गत र प्रदेशका वन मन्त्रालय अन्तर्गतका वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र÷तालीम केन्द्रहरूसँग समन्वय गरेर नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको भएपनि स्रोतसाधन अभावमा प्रभावकारी हुन सकेको छैन । 

प्रत्येक वर्ष एकै समयमा हुने विपद्मा पनि सरकारले पूर्वतयारी र समुदाय स्तरमा जनशक्ति परिचालन गर्न नसक्दा मानवीयसँगै ठूलो वातावरणीय क्षति भैरहेको छ ।

२०६७ सालमा वन तथा भूसंरक्षण मन्त्रालयले ‘डढेलो व्यवस्थापन रणनीति, २०६७’ ल्याएको थियो । तर, कार्यान्वयन पक्ष फितलो भएपछि त्यसले राम्रो काम गर्न सकेन । 

सरकारले डढेलो नियन्त्रणका लागि छुट्याएको बजेटसमेत न्यून छ । डढेलोका कारण लोपोन्मुख बोटबिरुवा‚ पशुपन्छीको अस्तित्व पनि सङ्कटमा पर्दै गएको छ । डढेलोका कारण पानीको मुहानमा समेत असर परिरहेको छ । 

यतिमात्रै होइन, पछिल्ला वर्षहरूमा हिमाली क्षेत्रमा समेत डढेलोको प्रकोप बढेको छ । डढेलो प्रकोप बढ्दा जलन पनि बढेको छ । 

यता, जलनको विशिष्टिकृत अस्पताल नहुँदा उपचारको अभावमा जलेका बिरामी मर्न विवश   छन् । 

वर्षेनी वनमा डढेलो लाग्दा वन,वातावरण र जैविक विविधतामा अनेकौं समस्याहरु थुप्रिरहेका छन् । डढेलो तथा आगलागी संवेदनशील विषय भएकाले सरकारले गम्भीरतापूर्वक समयमा नै उचित कदम चाल्न आवश्यक छ । 

प्रकाशित मिति: सोमबार, वैशाख ३, २०८१  ०६:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update