News 24 Television
दलीय राजनीतिबाट मुक्त नभएसम्म शिक्षा क्षेत्रको विकास हुँदैन :  मन्त्री श्रेष्ठ

काठमाडौँ । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले विश्वविद्यालयलाई दलीय राजनीतिबाट मुक्त नगरेसम्म शिक्षा क्षेत्रको विकास हुन नसक्ने बताएकी छन् ।

मंगलबार सिंहदरबारस्थित मन्त्रालयमा प्राज्ञिक समूहसँगको भेटमा उनले प्राज्ञिक समूहले र प्राध्यापक तथा कर्मचारीहरूले पनि सरकारी सेवामा रहुन्जेल राजनीतिक दलको सदस्य बन्दैनौँ भन्ने संकल्प गर्न आवश्यक रहेको बताइन् । उनले प्राज्ञहरूको विज्ञता, अनुभवलाई आफूले सम्मान गर्दै सुझावहरू कार्यान्वयन गर्ने प्रतिबद्धता समेत जनाइन् । 

शिक्षकहरू, कर्मचारीहरू राजनीतिक पार्टीको कुनै कार्यकारीमा बस्न नहुने बताउँदै उनले राजनीतिक नेताहरुसँग भेट्दा पनि राजनीतिक दलको सदस्यता दिन पाउनु हुन्न भनेर खबरदारी गर्न आवश्यक रहेको बताइन् ।

‘दलीय राजनीतिमुक्त शिक्षा क्षेत्र नभएसम्म यो अगाडि बढ्दैन,’ उनले भनिन्, ‘हजुरहरूको विज्ञता, अनुभव, नेटवर्क के हो भन्नेमा चाहियो । हाम्रो कानूनले स्पष्ट भन्छ । शिक्षकहरू, कर्मचारीहरू राजनीतिक पार्टीको कुनै कार्यकारीमा बस्नु हुँदैन भन्छ । राजनीतिक दलसम्बन्धी ऐनले सदस्यता नदिनु कर्मचारी र शिक्षकलाई भन्छ । ऐनमा नभएको होइन, गाह्रो हाउ पार्टमा भइरहेको छ । राजनीतिक दलका नेतृत्वहरूसँग भेट्दा उहाँहरूलाई राजनीतिक दलको सदस्यता दिन पाउनु हुन्न भनेर ऐनमै लेखेको कुरा भनिदिनुस् । कर्मचारी शिक्षकले राजनीतिक दलको सदस्य लिन सक्नुहुन्न ।’

मन्त्री श्रेष्ठले शिक्षा क्षेत्र केवल शिक्षा मात्र नभई समाजमा चेतना दिने क्षेत्र भएको बताइन् ।  शिक्षाले राम्रो नागरिक उत्पादन गर्ने उनको भनाइ छ । 

प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०८१  १२:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update