News 24 Television
जैन धर्मका संस्थापक महावीरको २६२३ औँ जयन्ती मनाइँदै

काठमाडौँ । जैन धर्मका संस्थापक वर्द्धमान महावीरको २ हजार ६२३ औँ जयन्ती आज मनाइँदै छ । हरेक वर्ष चैत्र शुक्ल त्रयोदशीका दिन महावीरको जन्मजयन्तीका अवसरमा उनको स्मरण गरी नेपालसहित विश्वभर छरिएर रहेका जैन धर्मावलम्बीहरुले श्रद्धापूर्वक मनाउँछन् । 

जैन धर्मका मूल दुई सम्प्रदाय दिगम्बर तथा श्वेताम्बरले यस दिनलाई महावीर जन्मकल्याणक भनेर समेत मनाउँछन् । 

प्राचीन भारतका महान् दार्शनिकमध्ये एक मानिने महावीर आफ्नो युगका धार्मिक सुधारकहरूमध्ये सबभन्दा वरिष्ठ थिए । उनी जैन  धर्मका संस्थापक नभएर एक सुधारक थिए भन्ने कुरा केही भारतीय र पश्चिमी विद्वानहरूले उल्लेख गरेका छन् । 

महावीरको जन्म भारतको बिहार राज्यको बैशाली भन्ने ठाउँ नजिकको कुन्द ग्राममा ईसापूर्व ५९९ मा भएको थियो । उनकी आमा त्रिशला, वैशालीका शक्तिशाली एवं प्रसिद्ध लिच्छवी राजा चेतककी छोरी थिइन्। बाबु सिद्धार्थ तथा आमा त्रिशलाका तेस्रो सन्तानका रूपमा उनको जन्म भएको थियो । उनै बद्र्धमान पछि गएर महावीर स्वामीका नामले प्रख्यात बनेका हुन् ।

प्रकाशित मिति: आइतबार, वैशाख ९, २०८१  ०९:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update