News 24 Television
अस्पतालमै डाक्टरको ज्यान जोखिममा, आक्रमणमाथि आक्रमण !

काठमाडौँ । अस्पताल लगिएका विरामी तलमाथि भए अस्पतालमा तोड्फोड र चिकित्सक माथि कुटपिट गर्ने घटना अहिले पनि रोकिएको छैन । गएको मंगबार मात्रै पनि सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालमा यस्तै घटना घट्यो । ६२ वर्षीय एक पुरुषको आकस्मिक कक्षमा उपचारका क्रममा मृत्यु भए पछि आफन्तले तोड्फोड गर्दै चिकित्सक माथि कुटपिट गरे । यो त प्रतिनिधि घटना मात्रै हो । पछिल्लो एक वर्षमा कहाँ कति भए त  तोडफोड र कुटपिटका घटना ? 

अस्पताल लगिएका बिरामी अस्पतालमा मृत्यु भएको अवस्थामा अस्पतालमा माथि तोड्फोड र चिकित्सक माथि कुट्पिट हुने घटना पछिल्लो एक वर्षयता बढ्दो क्रममा छन् । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज तथा शिक्षण अस्पतालमा गएको मंगलवार आकस्मिक कक्षमा उपचारमा अएका विरामीको मृत्यु पछि अस्पताल तोड्फोड र चिकित्सक माथि कुट्पिट भयो ।

इमर्जेन्सीमा कार्यरत चिकित्स डा. विनिता प्रधान र पूजा साह सामान्य घाइते भएका थिए । लामो वार्तापछि दुई पक्षबीच सहमति भयो । सिनामंगल स्थित काठमाडौ मेडिकल तथा शिक्षण अस्पतालकै कुरा गर्ने हो भने यस अस्पतालमा ६ महिनाको अन्तरालमा  नै यस्तै प्रकृतिका दुई घटना भएको देखिन्छ । केएमसीमै ०८० असोज १४ गते नेफ्रोलोजी ओपीडीमा कार्यरत एक इन्टर्न चिकित्सक बिरामीका आफन्तबाट कुटिएका थिए । उक्त घटनाको विरोध जनाउँदै चिकित्सकको लामो आन्दोलनपछि कानुनी प्रक्रियामा गएर टुंगिएको थियो । 

चिकित्सकमाथि कुटपिटका घटना कहाँ कति ?

-    २०८० भदौं २७ गते हेटौंडाको सन्चो अस्तालमा कार्यरत चिकित्सक माथि कुटपिट
-    २०८० असोज ८ गते पोखराको मणिपाल शिक्षण अस्पतालमा कार्यरत चिकित्सक माथि कुटपिट
-    २०८० असोज ८ गते नै लम्जुङ जिल्ला अस्पतालमा कार्यरत चिकित्सक माथि कुट्पिट
-    २०८० कार्तिक २० गते ललितपुर स्थित पाटन अस्पतालमा कार्यरत चिकित्सक चिकित्सक माथि कुटपिट
-    २०८० मंसिर १३ गते बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पतालका चिकित्सक माथि कुटपिट
-    चिकित्सक संघका अनुसार आर्थिक वर्ष ०७९÷८० मा डाक्टरमाथि ६५ भन्दा बढि कुटपिटका घटना भए 
-    चिकित्सक संघको तथ्यांक अनुसार पछिल्लो समय महिना दिनमा ५–६ जना चिकित्सकमाथि कुटपिटका घटना हुने गरेको देखिन्छ । 

गत वर्ष भदौं २७ गते हेटौंडाको सन्चो अस्तालमा कार्यरत चिकित्सक माथि कुट्पिट भएपछि कुट्पिटको विरोधमा चिकित्सकहरुले देशभरका स्वास्थ्य सेवा ठप्प समेत बनाएका थिए । जसको समाधानका लागि सरकार र चिकित्सक बिच ६ बुँदे सहमती सहमती गरिएको थियो । तर सहमती भएको केहि महिनामै चिकित्सक माथि कुट्पिटको घटना पुनः दोहोरिएका थिए । यो क्रम अहिले पनि उस्तै छ । 

सरकारले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामा हुने घटनालाई नियन्त्रणका लागि स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी अध्यादेश, २०७८ जारी गरेको छ । तर, कानुन बने पनि कार्यान्वयन नहुँदा स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीमाथि आक्रमण बढ्न थालेको छ । 

त्यसो त, बिरामीमाथि डाक्टरले गर्ने लापरबाहीका उजुरी पनि बढ्दो नै छ । नेपाल मेडिकल काउन्सिलका अनुसार चिकित्सकका विरुद्ध हरेक वर्ष औषतमा ६० वटा उजुरी परेका छन् । चिकित्सकले पनि आचारसंहिता पालना नगरेको तथा बिरामीसँग रुखो व्यवहार सुधार गर्न आवश्यक भएको तर्क विश्लेषकहरुको  छ ।

तर यसो भन्दैमा अस्पताल लगिएका बिरामीको मृत्यु भयो भन्दैमा कानुनै हातमा लिएर बिरामीका आफन्तले तोड्फोड् र चिकित्सक माथि कुट्पिट गर्नु न्यायोचित पक्कै होइन । कानूनी शासन र प्रणालीगत विकासमा यस्तो प्रवृतिले धक्का पुर्याइरहेको  छ । 
 

प्रकाशित मिति: बिहीबार, वैशाख २०, २०८१  ११:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update