News 24 Television
आयुर्वेद शल्यक्रिया, रोग फर्कने सम्भावना किन निकै कम ? 

काठमाडौं । अत्यधिक मासुजन्य खानपान र अव्यवस्थित जीवनशैलीका कारण पछिल्लो समय पाइल्स, फिस्टुला र फिसरजस्ता रोग बढ्दै गएका छन् । यस्ता रोगको उपचारमा आयुर्वेदिक शल्यक्रिया प्रभावकारी उपचारका रूपमा स्थापित हुँदै पनि गएको छ ।

यी रोग केवल पीडादायी मात्र होइन, दीर्घकालीन असर पु¥याउने खालका हुन्छन् । त्यसैले मासुका परिकार कम गर्ने र  सलाद एवम् तरकारीको सेवन बढाउन आयुर्वेदिक चिकित्सकको सुझाब छ । 

मासुजन्य खानेकुरा धेरै खानेहरूमा पाइल्स र फिस्टुला, फिसरको रोग बढी देखिन्छ । पछिल्लो समय युवा अवस्थामै यस्ता रोग लाग्नेको संख्या अत्याधिक बढ्दो छ । 

पाइल्स र फिस्टुला, फिसरको उपचारमा आयुर्वेदिक उपचार शल्यक्रिया नै बढी प्रभावकारी छ ।  तथ्याङ्कअनुसार आयुर्वेदिक शल्यक्रियामध्ये ९७.३ प्रतिशत सफल हुँदै आएको छ ।  तर रोग लाग्नु अगाडी नै सचेत भएर शारीरिक ब्यायाम र खानपानमा सचेत हुन सके यी रोगबाट सजिलै बच्न सकिन्छ । 

पाइल्स वा अर्श भनेको मलद्वारका रक्तनली तन्किएर मांस अंकुरजस्तो बाहिर आउने समस्या हो । फिस्टुला भनेको मलद्वारभित्रदेखि बाहिरसम्म कृत्रिम नली बन्ने समस्या हो, जसले बिरामीलाई चिलाउने, दुख्ने जस्ता समस्या हुन्छ । 

फिसरमा भने कब्जियतका कारण मलद्वारको छाला च्यातिन्छ र असह्य पीडा तथा रक्तस्राव हुन्छ । यी रोगहरूमा सामान्य अवस्थामा आयुर्वेदिक औषधिले राहत दिलाउँछ भने, गम्भीर अवस्थामा क्षारसूत्र शल्यक्रिया प्रभावकारी देखिएको छ । 

अनुसन्धानअनुसार क्षारसूत्र विधिबाट उपचार गर्दा रोग पुनः फर्किने सम्भावना केवल ३.५५ प्रतिशत मात्र हुन्छ, जबकि सामान्य शल्यक्रियामा यो दर निकै उच्च देखिन्छ । 

यी रोगको उपचार मात्र नभई खानपानमा सुधार गर्नु पनि जरुरी हुन्छ । कब्जियत बढाउने मैदा, मासु, तारेको खाना, मरिच खुर्सानी, चिया–कफी, रक्सी र चुरोट सेवन छाड्नुपर्छ । 

आयुर्वेदको मूल उद्देश्य भनेकै स्वस्थ व्यक्तिको स्वास्थ्य जोगाउने र बिरामीको रोग निवारण गर्ने हो । पाइल्स, फिस्टुला र फिसर जस्ता रोगमा आयुर्वेदिक शल्यक्रियाले उच्च सफलता दर देखाएको छ । तर रोग लाग्नु अगाबै सचेत हुन भने जरुरी छ । जीवनशैलीमा सन्तुलन र खानपानमा ध्यान दिन सकियो भने यी रोगबाट सजिलै जोगिन सकिन्छ । 

प्रकाशित मिति: बुधबार, भदौ १८, २०८२  ०९:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update