
काठमाडौं । आयुर्वेदिक उपचार पद्दति पछिल्लो समय नसर्ने रोगदेखि मानसिक स्वास्थ्यसम्मको उपचारका लागि बलियो विकल्पका रूपमा अघि बढिरहेको छ । प्राचीन परम्परामा आधारित यो चिकित्सा पद्दति अहिले आधुनिक अध्ययन र विश्व स्वास्थ्य संगठनको मान्यतासँगै अझ प्रभावकारी बन्न थालेको छ ।
आयुर्वेदिक उपचार पद्धति पछिल्ला वर्षहरुमा आधुनिक उपचार पद्दतिको राम्रो विकल्पका रुपमा स्थापित भइरहेको छ । नसर्ने रोगदेखि मानसिक स्वास्थ्यसम्मको उपचारका लागि बलियो विकल्पका रूपमा अघि बढेको आयुर्वेदिक उपचार पद्दतिले रोगको जरैदेखि निदानमा उल्लेख्य भूमिका खेल्ने र अन्य असर पनि नपर्ने भएकाले मानव रोजाई बद्दो गतिमा देखिन्छ ।
आयुर्वेद औषधि बोटबिरुवा, खनिज र प्राकृतिक पदार्थबाट प्रशोधन गरेर बनाइन्छ । रासायनिक तत्व प्रयोग नगर्ने भएकाले यसलाई सुरक्षित मानिन्छ । नेपालमा प्रचलित भुइँअमला, त्रिफला, अश्वगन्धा, चिराइतो, निम र बेल जस्ता जडीबुटी विभिन्न रोगको उपचारमा प्रयोग हुन्छन्। आयुर्वेद उपचार पद्धतिहरू मध्ये योग, पञ्चकर्म र क्षारसूत्र विशेष महत्व राख्छन्। योगले शारीरिक र मानसिक सन्तुलन ल्याउँछ भने पञ्चकर्मले शरीर शुद्ध गरेर औषधिको प्रभाव बढाउँछ। क्षारसूत्रले पायल्स, फिस्टुला र ट्युमरमा प्रभावकारी परिणाम दिएको देखिएको छ।
आम धारणा छ आयुर्वेदले रोग निको पार्न ढिलो गर्छ। तर विशेषज्ञहरू भन्छन्– मात्रा र संयोजन सही भएमा छोटो समयमा पनि परिणाम देखिन्छ। विश्व स्वास्थ्य संगठनका अनुसार अहिले विश्वका करिब ४० देखि ७० प्रतिशत मानिसले पूरक वा परम्परागत चिकित्सा प्रयोग गर्छन्। योग र ध्यानले तनाव, चिन्ता अनिन्द्रा घटाउने मात्र होइन, दीर्घरोगको जोखिम कम गर्ने वैज्ञानिक प्रमाणहरू पनि आएका छन्।
आयुर्वेद औषधि मात्र होइन, जीवनशैलीसँग पनि जोडिएको उपचार पद्धति हो। रोगको अवस्था बुझेर चिकित्सकको सल्लाहमा औषधि सेवन र योग पञ्चकर्म अभ्यास गर्दा छोटो समयमा नै परिणाम देख्न सकिन्छ। नेपालमा जडीबुटी र वैकल्पिक उपचारको ठूलो सम्भावना छ। आधुनिक चिकित्सा र आयुर्वेदलाई संयोजन गरेर अघि बढाउन सकियो भने, मानसिक स्वास्थ्यदेखि नसर्ने रोगसम्मका चुनौतीमा दिगो समाधान खोज्न सकिन्छ भन्ने विज्ञहरूको विश्वास छ।