News 24 Television
सातै प्रदेशमा अटिजम स्कुल आवश्यक

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सात वटै प्रदेशमा अटिजम स्कुल आवश्यक रहेको बताएका छन् ।

मन्त्रालयमा बुधवार आयोजित अटिजमको उपचार, रोकथाम लगायतका सम्बन्धमा प्रा.डा. दीपकप्रकाश महराको संयोजकत्वमा गठित समितिले बुझाएको अध्ययन प्रतिवेदन ग्रहण गर्दै उनले  प्रारम्भिक चरणमा सबै प्रदेशमा एक/एक वटा अटिजम स्कुलको खाँचो औँल्याए । मन्त्रालयले यसलाई दीर्घकालिन परियोजना बनाएर काम गर्ने उनको भनाई छ ।

मन्त्री पौडेलले काठमाडौंको बुढानिलकण्ठमा भने अटिजम स्कुल बन्न लागेको जानकारी दिए । बुढालिनकण्ठ– ४ मा रहेको जग्गामा भवन बन्ने प्रक्रिया शुरु भइसकेको उनले बताए । अटिजम स्कुल सञ्चालनको लागि चालु आर्थिक वर्षमा ३ करोड रुपैयाँ बजेट छुट्याएको उनको भनाई छ । उनले अटिजम स्कुल स१चालनको लागि काठमाडाैँ महानगरपालिकाले पनि चासो देखाएकोले समन्वय गरेर अगाडी बढ्ने बताए ।

उनले भने, ‘खासगरी अहिले चाहिँ हामीले यो पटकको बजेटमा काठमाडौंमा एउटा अटिजम स्कुल बुढालिनकण्ठ वडा नम्बर ४ मा चाहीँ जग्गा छ, त्यहाँ भवन बन्ने प्रक्रिया शुरु भएको छ । यसको डिपिआर पनि हामीलाई उपलब्ध छ । त्यसमा हामीले बजेटमा नै ३ करोड रुपैयाँ, त्यो धेरै त होइन तर हामीले शिर्षक उल्लेख गरेको स्थिति छ । हामीले चाहीँ त्यसलाई रफ्तारमा अगाडी बढाउँदैछौँ र काठमाडौंमा अटिजम स्कुल हामीले बनाएर नै छाड्छोँ । त्यसमा चाहीँ काठमाडौं महानगरपालिकाका मेयरले पनि त्यसमा चाहना राख्नुभएको छ । उहाँहरुसँग पनि समन्वय गरेर हामीले चाहीँ त्यसलाई अगाडी बढाउनेछौँ । र व्यवस्थित अटिजम स्कुल चाहँी हामीले काठमाडौंमा पहिलो चरणमा निर्माण गर्नेछौँ र यो सातै प्रदेशमा कम्तीमा एक÷एक वटा प्रारम्भिक चरणमा आवश्यक छ । यसलाई पनि हामी दीर्घकालिन परियोजनाको रुपमा अगाडी बढाउने कुरा चाहीँ यहाँहरुको बीचमा राख्न चाहन्छु ।’ 

उनले नेपालमा हालसम्म कति अटिजम भएका बालबालिका छन् भन्ने यकिन तथ्याङ्क नै नभएको बताए।

प्रकाशित मिति: बुधबार, भदौ १८, २०८२  १५:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update