News 24 Television
दिमागमा अल्फा र थिटा तरंग ल्याउने साउण्ड हिलिङ

काठमाडौं । तनाव, निद्रा नपर्ने समस्या र मानसिक असन्तुलन आजको जीवनशैलीसँग जोडिएका सामान्यजस्तो लाग्ने तर गम्भीर समस्या हुन् । यिनै समस्याबाट मुक्त हुन अहिले विश्वभर लोकप्रिय हुँदै गएको छ साउण्ड हिलिङ । ‘साउण्ड बाथ’ वा ध्वनि स्नान पनि भनिने यो उपचार पद्धतिको नेपालमै पनि अभ्यास र प्रयोग बढ्दो क्रममा छ । हालैका अध्ययनहरूले साउण्ड तरंगले दिमागमा अल्फा र थीटा मस्तिष्क तरंग सक्रिय पार्ने भएकाले यसले  तनाव, चिन्ता र आक्रोश घटाउने देखाएका छन् । 

संगीत केवल मनोरञ्जनको साधन मात्र होइन, उपचारकै माध्यम बन्न सक्ने स्पष्ट प्रमाण साउण्ड हिलिङले दिएको छ । साउण्ड हिलिङ भनेको ध्वनिको तरंग र कम्पनमार्फत शरीर र मनलाई सन्तुलनमा ल्याउने विधि हो । 

विशेष धातु वा क्रिस्टलका सिंगिङ बाउल, ट्युनिङ फोर्क, ढोलक वा घण्टी जस्ता उपकरण प्रयोग गरेर ध्वनि उत्पन्न गरिन्छ । त्यसबाट निस्कने तरंगहरूले शरीरका स्नायु प्रणालीमा प्रभाव पार्छन् र दिमागलाई शान्त पार्छन् । यो विधि प्रायः ४५ मिनेट देखि ६० मिनेटसम्म गरिन्छ । यसक्रममा मानिसलाई योगा म्याटमा आराम गर्ने स्थितिमा राखिन्छ र आँखा बन्द गर्न लगाइन्छ अनि ध्वनिको तरंग दिइन्छ । 

सन् १९७९ मा विश्व स्वास्थ्य संगठनले साउण्ड वा म्यूजिक थेरापीलाई विभिन्न रोगमा लाभदायक भनेको थियो । सन् २०१७ मा गरिएको एक अध्ययनले स्पाइनल सर्जरीपछि गरिएको ३० मिनेटको म्यूजिक थेरापीले दुखाइ घटाउने प्रमाणित गरेको थियो । हालैका अध्ययनहरूले पनि साउण्ड तरंगले दिमागमा अल्फा र थीटा तरंग सक्रिय पार्ने गर्छ भने यही कारण तनाव, चिन्ता र आक्रोश घटाउने देखाएका छन् । साउण्ड हिलिङ गरीसकेपछि आफुलाई अत्यन्त फरक र स्वर्गीय आनन्द महसुस भएको सहभागीहरु बताउछन् । 

साउण्ड हिलिङ कुनै पनि समयमा गर्न सकिन्छ । कुनै स्वास्थ्य समस्या नभएकाले पनि गर्न मिल्छ । तनाव कम गर्न, निद्रामा सुधार ल्याउन वा शरीरलाई आराम दिन चाहिएको बेला यसको प्रयोग गर्न सकिन्छ । अनिन्द्राले पीडितहरूलाई औषधिको सहारा लिनुपर्छ । तर २–३ पटक मात्रै साउण्ड हिलिङ गर्दा मीठो निद्रा लाग्ने गरेको यसका भुक्तभोगीहरु बताउँछन् । धेरै चिन्ता गर्ने र धेरै सोच्ने मानिसका लागि यो विधि असाध्यै उपयोगी छ । 

तनाव र चिन्ता कम गर्न, अनिन्द्राबाट मुक्त गर्न, माइग्रेन, डिप्रेशनमा सुधार ल्याउन, ब्लड प्रेशर सन्तुलनमा राख्न , प्रतिरक्षा प्रणाली बलियो बनाउन, मानसिक शान्ति र सकारात्मक सोच बढाउन साउण्ड हिलिङ युरोप र अमेरिकामा लोकप्रिय बनेको छ । आर्या वेलनेसमा यो सेवा लिन धेरै पर्यटकहरु आउने गरेका छन् । नेपालमै विशेषज्ञ साधक र प्रशिक्षकद्वारा अभ्यास भइरहेको यो विधि प्रभावकारी वैकल्पिक चिकित्साको रूपमा स्थापित हुँदै गएको छ । 

प्रकाशित मिति: आइतबार, भदौ २२, २०८२  ०८:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update