News 24 Television
जथाभावी सम्बन्धन स्वार्थले लपेटिएको लुम्बिनी बौद्ध विश्वविद्यालय

काठमाडौं । १८ बर्ष अघि बौद्ध दर्शनको अध्ययन गराउने उद्देश्यले स्थापना गरिएको रुपन्देहीस्थित बौद्ध विश्वविद्यालयले बौद्ध दर्शन भन्दा बाहिरका बिषयमा अध्ययन अध्यापन गराउने र सम्बन्धन दिन थालेको छ । 

विश्वविद्यालयले प्राविधिक धार इन्जिनियरिङ् बिषयदेखि कानून विषय समेत पढाउन स्वीकृति दिएको छ । बौद्ध दर्शनको अध्यापन गराउन अन्र्तराष्ट्रिय विद्यार्थी ल्याउने उदेश्य राखिएको विश्वविद्यालयमाथि बौद्ध धर्म–दर्शनका नाममा बेग्लै मूूल्यमान्यता थोपर्ने, अपव्याख्या गर्ने र व्यक्तिगत स्वार्थ हेर्ने मनसाय प्रेरित हुन गरेको आरोप लाग्न थालेको छ । 

बुद्ध धर्मको मर्म विश्वभर स्थापित गर्न लुम्बिनीमा सन् १९९८ मा  १६ राष्ट्रका प्रतिनिधिको सहभागितामा भएको विश्व बौद्ध सम्मेलनबाट विश्वविद्यालय स्थापना गर्ने योजना बनेको थियो । 

यहि योजना अनुसार लुम्बिनीलाई बौद्ध केन्द्रको रूपमा विकास गर्न सरकारले २०६३ मा लुम्बिनी बौद्ध विश्वविद्यालय स्थापना गरेको थियो । विश्वविद्यालय नितान्त बौद्ध धर्म–दर्शनको अध्ययन–अध्यापन तथा अनुसन्धानका लागि स्थापना गरिएको थियो । तर, अब यो विश्वविद्यालय बौद्ध अध्ययनमा मात्रै सीमित रहेन । 

बौद्ध अध्ययन एउटा संकायमा मात्र सिमित बनाइएको छ । विश्वविद्यालयले प्राविधिक बिषय पढाउने इन्जिनियरिङ कलेजलाई सम्बन्धन दिने देखि ट्राभल एन्ड टुरिजम म्यानेजमेन्ट र बिए आरडी, बिए, एलएलबी, होटल म्यानेजमेन्ट लगाएतका बिषयलाई समेत स्वीकृति दिएको पाइएको छ । 

यसरी विश्वविद्यालयले स्थापनाको उद्देश्यविपरित धमाधम विभिन्न संकाय र विषयमा अग्रसर बनेपछि यसको औचित्यमाथि नै प्रश्न उठिरहेको छ ।

विश्वविद्यालयमाथि प्रश्न उठेपनि पदाधिकारीहरु भने यो तथ्यलाई स्वीकार गर्न तयार देखिन्नन् । उनीहरु विश्वविद्यालयले अन्य संकाय र विषयमा सम्बन्धन दिनै नपाउने भन्ने विषय नभएको तर्क गर्दै प्रतिरक्षामा उत्रिने गरेका छन् ।

रजिस्ट्रार नियुक्ति प्रक्रियामा पनि विवादमा

विश्वविद्यालयको मर्म र उद्देश्यबाट बाहिर पुगेको लुम्बिनी विश्वविद्यालय लय समात्न नसकेको बेला रजिस्ट्रार नियुक्ति प्रक्रियामा समेत विवादमा तानिएको छ विश्वविद्यालयको स्तर बृद्धिदेखि बौद्ध दर्शन अध्ययन–अध्यापनमा नमुना विश्वविद्यालय बनाउने जिम्मेवारी दुई कार्यकाल पद सम्हाल्दा पनि असफल बनेका तिलकराम आचार्यको नाम रजिस्ट्रारमा सिफारिस भएपछि प्राध्यापकहरु नै विरोधमा उत्रिएका छन् । 

२०७० मा शिक्षण सहायक रहँदा रजिस्ट्रार बनेका आचार्य त्यसको २ वर्षभित्र पुनः रजिस्ट्रार पदमा नियुक्त भई उपप्राध्यापक बनेका थिए । गत फागुन अन्तिममा रजिस्ट्रारको कार्यकाल सकिएपछि निमित्त सम्हालेका आचार्य त्यसको १० दिनमा नै सहप्रध्यापक बनेका थिए । 

रजिष्ट्रार पदमा ७ जनादेखिएपनि गएको बैसाख १० मा विश्वविद्यालयले उनको नाम एकल रुपमा सिफारिस गरेको छ ।  यस्तो देखिएपछि चलेको विवाद र विरोधमा उपकुलपति भने नियम अनुसार नै काम भएको दाबी गरिरहेका छन् । 

तिलकरामको नाम सिफारिसपछि प्राध्यापकहरुले एक व्यक्तिलाई रजिस्ट्रार बनाउनका लागि आवेदनमै सहजता सिर्जना गरिएको दाबीसहित विरोध गरिरहेका छन् । विश्वविद्यालयले जारी गरेको दरखास्तसम्बन्धी सूचनामा स्वार्थ देखिएको प्राध्यापकहरुको आरोप छ । 

बौद्ध धर्म ,बौद्ध दर्शन, बौद्ध इतिहास, बौद्ध साहित्य र बौद्ध ध्यान प्रणाली बिषयमा अन्तराष्ट्रिय स्तरको एकेडेमीक संस्था खडा गर्ने उदेश्यले स्थापना गरिएको विश्वविद्यालयले आफ्नो लय भन्दा बाहिर गएकाले समस्या सिर्जना भएको छ । विश्वविद्यालयमा करिव २ हजार विद्यार्थी मात्र अध्ययन गर्छन ति मध्ये ३२ जना विदेशी विद्यार्थी छन् विश्वविद्यालयले  हाल ८ वटा कलेजलाई सम्बन्धन दिइएको छ । 

यसरी गलत बाटोमा लम्किएको विश्वविद्यालयले रुपन्देहीको देवदहमा शैक्षिक पूर्वाधार निर्माणका लागि करिब रु एक खर्बको परियोजना सञ्चालन गर्ने तयारी गरिरहेको छ । तर, आफ्नो उदेश्य दिन नसक्दा समस्या त देखिएको छ नै, यसको औचित्यमाथि नै गम्भीर प्रश्न उठेको छ । 

प्रकाशित मिति: शनिबार, वैशाख २२, २०८१  ०८:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update