News 24 Television
हजारौंलाई रोजगारी दिन सफल होलान् बालेन ?

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले २ हजार ८१ जनालाई निःशुल्क सीपमुलक तालिम दिने र तालिम लिएकाहरुलाई ‘रोजगार’, ‘स्वरोजगार’ र ‘अन द जब ट्रेनिङ्’ उपलब्ध गराउने लक्ष्यसहित सीप मेला–२०८१ काठमाडौंको टुडिखेलमा सञ्चालन गरिरहेको छ ।

रोजगारीको आवसर भएर पनि सीप सिक्न नसकेर बेरोजगार नै बस्नु परेकाहरूलाई सीप मेला महत्तवपूर्ण अवसर बनेको छ । सीपयुक्त जनशक्तिको माग र आपूर्तिका बिचमा अहिले देखिएको खाडल घटाउने महानगरको उद्देश्यमा सहभागीहरू पनि उत्साहित छन् । 

‘रोजगार र आयवृद्धि काठमाडौंको सम्वृद्धि’ भन्ने गौरवको योजना महानगरले सञ्चालन गरिरहेको छ । यो योजनाअन्र्तगत १५ हजारलाई तालिम र ५ हजारलाई रोजगारी प्रदान गर्ने महानगरको लक्ष्य छ । २०८१ सालमा २०८१ जनालाई तालिम र रोजगारी उपलब्ध गराउने योजना अनुरुप मेला आयोजना भएको हो ।

 

महानगरले नाममात्रैको तालिम होइन, बजार मूल्यांकन गरेर बिक्न सक्ने क्षेत्र अनुसारको सीप प्रदान गर्न लागेको दाबी गरेको छ । बजार मागअनुसारको तालिम प्रदान गरेपछि सहजै रोजगारी पाउन सक्ने र आफ्नै व्यवसाय सञ्चालन गर्न सक्ने विश्वास महानगरको छ । बेरोजगार बसिरहेका युवाहरु पनि महानगरले आयोजना गरेको निःशुल्क मेलामा सहभागी भएपछि उत्साहित छन् । 

तालिममा सहभागी भएकाहरूले सो मेलामा आफ्नो सीपको पहिचानसँगै स्वरोजगार बन्ने अपेक्षा लिएका छन् । 

मेलामा सहभागी हुन अहिलेसम्म १२ हजार आवेदकले फर्म भरिसकेका छन् । महानगरको गौरव योजना अन्र्तगत १५ हजारलाई तालिम दिने र ५ हजारलाई रोजगारी दिने योजनासँगै अहिले आवेदकहरुको समूह विभाजन र कागजमा फाराम भर्नेहरुको विवरण कम्प्युटरमा प्रविष्ट गराउने काम भइरहेको छ । 

मेलामा विभिन्न तालिम प्रदायक संस्था र रोजगारदाता संस्था पनि जोडिएका छन् । तालिम समापनको अन्तिम दिन रोजगारदाताहरु स्टलमा गएर क्षेत्रसँग सम्बन्धित तालिम प्राप्त व्यक्तिहरुलाई सम्पर्क गरी रोजगारीका लागि आवद्धता दिने बताइएको छ । 


 

प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  ०९:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update